नागार्जुनका मेयर बस्नेतले ९ करोड घूस लिएको आरोप

जगदगुरु कृपालु प्रतिष्ठानको नाममा भ्रष्टाचार

नागार्जुनका मेयर बस्नेतले ९ करोड घूस लिएको आरोप
सुन्नुहोस्

काठमाडौं : नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र जग्गा व्यवसायी राजुप्रसाद कँडेलको मिलोमतोमा जगदगुरु कृपालु प्रतिष्ठान नेपालको नाममा भ्रष्टाचारको ठूलै खेल भएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र जग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी यो दोस्रो मुद्दा हो । यसअघि अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले घूसबापतको रकमबाट आफ्नो आमाको नाममा जग्गा किनेको विषयमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । जगदगुरु कृपालु प्रतिष्ठानका अध्यक्ष कँडेल पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका अध्यक्ष हुन् । यो कम्पनीले जग्गाको कारोबार गर्ने गरेको छ । अख्तियारले अध्यक्ष कँडेल र मेयर बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ को बिगोसहित सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा चलाएको छ । बस्नेत पत्नी उर्मिलालाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले गरेको अनुसन्धानमा मेयर बस्नेतले कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ घूस लिएको दाबी गरिएको छ । कँडेल, नगर प्रमुख बस्नेत र उनकी पत्नी उर्मिला बस्नेत समेतसँगको मिलोमतो तथा योजनामा सस्तो मूल्यमा स्थानीयबाट जग्गा किनेर दुरुपयोग गरेको अख्तियारको आरोप छ ।

प्रतिवादी कँडेल तथा उनको कम्पनीहरूलाई उपलब्ध गराउने गरी मेयर बस्नेतले ३ करोड ७२ हजार रकम जग्गाधनीहरूलाई भुक्तानी दिई जगदगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरका लागि जग्गा लिने भनी बैनाबट्टा गराएको देखिएको अनुसन्धानमा उल्लेख छ । बजार मूल्य ४७ करोड ७५ लाख भएको जग्गा कँडेलको कम्पनी पद्मा कोलोनी प्रालिले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार ४४८ मात्र उपलब्ध गराएकोे अनुसन्धानमा पाइएको छ ।

राजस्व र बैनाबट्टा रकमसमेत गरी २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी स्थानीय जनताबाट बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कँडेल तथा निजको कम्पनीले प्राप्त गरेको अख्तियारको भनाइ छ । कँडेलले बस्नेत दम्पतीको नाममा घूसबापत २ करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँमा विभिन्न बैंकमा राख्न लगाएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

जसमा मेयर बस्नेतको बैंक खातामा जम्मा भएको घुस रकम १ करोेड ५९ लाख ७३ हजार ३९५ पाइएको छ भने श्रीमती उर्मिलाको बैंक खातामा ५६ लाख जम्मा भएको पाइएको छ । त्यस्तै ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा बस्नेत परिवारले घूसबापत कँडेलबाट लिएको देखिएको छ । पद्या मर्चेन्ट कम्पनी प्रालिको नाममा रहेको सीतापाइला ६ स्थित कित्ता नम्बर २९६ को ७४९.९ र कित्ता नम्बर २९९ को ४३१.९ वर्ग मिटर भएको जग्गा बस्नेतले घूसबापत लिइएको पाइएको अख्तियारले जनाएको छ ।

कँडेललाई शंकर होटलमा भुक्तानी गर्न लगाएको वैवाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार ६ सय ३७ घूस भएको पुष्टि भएको अख्तियारले जनाएको छ । होटलमा बस्नेतका छोरा अनोज बस्नेतको बिहे खर्च कँडेलले घूसबापत भुक्तानी गरेको देखिएको छ । घूस लिएर भ्रष्टाचारजन्य कसूर गरी आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले आपसी मिलेमतो र योजनामा भएको देखिएको छ ।

ऋण भुक्तानी, श्रीमती उर्मिलाको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरी/गराई सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी १३ करोड १२ लाख ७३ हजार ०३२ को सम्पत्ति शुद्धीकरण गरेको कसुरमा सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता सहसचिव नरहरी घिमिरेले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण :  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनबमोजिम बस्नेतलाई बिगो १३ लाख १२ हजार ७३ हजार ३२ सहित सम्पत्ति/जग्गासमेत जफत/असुलउपर गरी पाउन थप सजायको मागदाबी गरिएको छ ।

प्रतिवादी श्रीमती उर्मिलाविरुद्ध १३ लाख १२ हजार ७३ हजार ३२ बिगोसहित मुख्य कसुरदार बस्नतेलाई हुने सजायको आधा सजायका साथै सम्पत्ति/जग्गा समेत जफत/असुलउपर गर्न मुद्दा दायर गरिएको छ । पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा कम्पनीका संचालक/अध्यक्ष कँडेललाई १३ लाख १२ हजार ७३ हजार ३२ विगोसहित सम्पत्ति/जग्गासमेत जफत/असुलउपर गर्न मागदाबी लिइएको छ ।

भ्रष्टाचार :  नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुरमा ९ करोड २२ लाख ४६ हजार ३२ बिगोसहित कैद सजायको मागदाबी गरिएको छ । उनीविरुद्ध घूस/रिसवत वापत प्राप्त गरेको सम्पत्ति/जग्गालाई बिक्री वितरण गरी कर्जा भुक्तानीसमेत गरेको, विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरेको, घर निर्माणमा खर्च गर्ने/मसौट गर्नेसमेत गरेको अनुसन्धानबाट संकलित सबुद प्रमाणबाट पुष्टि भएको देखिएको उल्लेख छ । मेयर बस्नेतविरुद्ध जग्गा/सम्पत्तिबाट रिसवतको बिगो जफत/असुल उपरको मागदाबी गरिएको छ । प्रतिवादी उर्मिला बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ बिगोसहित मतियारका रूपमा हुने सजायका साथै जग्गा/सम्पत्तिबाट जफत/असुलउपर मागदाबी गरिएको छ ।

जग्गा व्यवसायी कँडेलविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ बिगोसहित जग्गा/सम्पत्तिबाट जफत/असुल उपरको मागदाबी लिइएको छ । नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक/अध्यक्ष कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने ब्यहोराको उजुरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.