महिला कारागारभित्रको संसार
केन्द्रीय कारागारको महिला गृह काठमाडौं सुन्धारामा रहेको एकमात्र महिला कारागार हो। काठमाडौंबाहेक ५२ जिल्लामा पनि महिला कारागार छन्। कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा ७२ जिल्लामा ७५ कारागार सञ्चालनमा छन्। लेखको विषय केन्द्रीय कारागारको हो, जसको स्थापना १९७१ सालमा भएको हो। जुन नेपालको सबैभन्दा पुरानो कारागार पनि हो। जहाँ तीनवटा ब्लक सञ्चालनमा छन्। जसमध्ये एउटा ब्लक महिला गृह हो।
कारागारभित्र कैदीबन्दी र थुनुवा आउनेजाने क्रम दिनहुँ भइरहनाले कैदीबन्दीको संख्या थपघट भइरहन्छ। हामी कारागार पुगेको दिन ४ सय ८० कैदीबन्दी र थुनुवा थिए। यसमध्ये ६० जना विदेशी नागरिक थिए। २६ कैदी मानसिक बिरामी थिए। यस अतिरिक्त १० जना आश्रित (नाबालक) पनि कारागारभित्र थिए। लामो समयसम्म पुरानो भवनबाटै सेवा दिइरहेको कारागारले २०७२ सालको भूकम्पछि नयाँ भवन बनाएको छ। प्रशासनका अनुसार काठमाडौं महिला कारागारमा १५ सयसम्म कैदीबन्दीलाई राख्न सक्ने क्षमता छ। पुरानो र नयाँ दुवै भवन सञ्चालनमा छन्।
पहिलो नजरमा : कारागारभित्र प्रवेश गर्नासाथ देख्यौं– पुरानो भवन, पुरानो भइसकेको सिमेन्टी गरिएको सामान्य क्षेत्रफलको आँगन, त्यसको छेउमा उभिएको ठूलो नयाँ भवन, भुइँ पुछिएको आभास दिने डिटर्जेन्टको गन्ध, आँगनमा ठाउँठाउँमा सुकाउन राखिएका कपडाहरू, बरन्डामा बोरा र झोलाहरूमा राखिएका तरकारीलगायतका दैनिक प्रयोगका सामानहरू। त्यही आँगनमा कपडा धुँदै बसेका केही महिला (कैदीबन्दी), भर्खर नुहाएका कपाल घाममा सुकाउँदै बसिरहेका कोही, सुरुआती जाडोको मध्याह्नको घाममा साथीसँग गफ गर्दै बसिरहेका कोही त कोही कसैसँग नबोलिकन एक्लै बसिरहेका। सोही आँगनमा बेफिक्री दौडिरहेका बालकहरू पनि। आँगनको पल्लो छेउमा पार्लर, खाजाघर, कपडा पसल पनि। अलि पर पुगेपछि धागो काटिरहेका कैदीबन्दी पनि देखिए। यो हाम्रो नजरले कारागार परिसरभित्र प्रवेश गर्नेबित्तिकै देखेको दृश्य थियो। कारागारभित्र प्रवेश गरिरहँदा कुनै बस्तीभित्र प्रवेश गरेको अनुभव भयो। जहाँ सबै आआफ्नो हिसाबले आआफ्नो दैनिकीमा व्यस्त छन्।
अझै भित्र जाँदा ः कैदीबन्दीलाई नयाँ र पुरानो भवनमा राखिएको छ। सबैले सुत्नका लागि छुट्टाछुट्टै खाट पाएका छन्। तर एउटै कोठामा कोचिएर बस्नु परेको जस्तो अनुभूति हुन्छ। नयाँ भवनका कोठा केही फराकिला छन्। खाट छुट्टाछुट्टै भए पनि धेरैले साझा कोठा प्रयोग गर्ने भएपछि सरुवा र संक्रामक रोग फैलिने जोखिम धेरै छ। कारागारभित्र सरुवा र संक्रामक रोग फैलिँदा संक्रमितलाई छुट्टै राख्ने व्यवस्था नभएको नाइकेले बताए। कारागारभित्र कुल २४ शौचालय रहेछन्। पुराना भवनका शौचालयहरू भौतिक रूपले दयनीय देखिए पनि सफाइका हिसाबले सन्तोषजनक अवस्थामा थिए। धेरैजसो शौचालयमा ताल्चा लगाइएको थियो। शौचालय प्रयोग गर्ने बेलामा मात्र ताल्चा खोलिने चौकीदारले बताए। नयाँ भवनका शौचालय आधुनिक छन्।
काठमाडौं महानगरमा पानीको हाहाकार भए पनि कारागारभित्रको सानो बस्तीमा पानी पर्याप्त छ। कारागारभित्र चौबिसैघण्टा पानी उपलब्ध हुने चौकीदारको भनाइ छ। बोरिङको मद्दतले जमिनमुनिको पानी उपयोगमा ल्याइएको छ भने आवश्यकताअनुसार ट्यांकरको पानी पनि प्रयोग गरिन्छ। कारागार सरसफाइसँगै व्यक्तिगत सरसफाइका बारेमा कैदीबन्दी राम्रोसँग सचेत छन्। कारागारमा रहेका २४ वटा शौचालय सफाइको जिम्मा कैदीमध्येकै दुई जनालाई दिइएको छ। जसको पारि श्रमिक कारागार प्रशासनले दिन्छ। तर दुई जनाले मात्र सबै शौचालय सफा गर्न सम्भव नभएपछि कैदीमध्येकै अन्य चारलाई पनि सफाइकर्मीको रूपमा राखिएको छ। ती चारैजनाको पारि श्रमिकको व्यवस्था कैदीबन्दी स्वयंले गरेका छन्।
जब कुरा यहाँका महिलाको स्वास्थ्य वा सहजताको आउँछ, तब महिनावारीबारे चर्चा गर्नु अत्यावश्यक हुन्छ। हुन त महिलाहरू नै बस्ने ठाउँ भएपछि महिनावारीका बेला हुने दुःख वा आइपर्ने आवश्यकताहरूबारे सबै जानकार छन्। तर जानकारी मात्रले सबै समस्या समाधान गर्दैन। साधन र सुविधाको पनि त्यति नै महŒव हुन्छ। महिलाको स्वास्थ्य र सम्मानसँग जोडिएको सबैभन्दा महŒवपूर्ण विषय महिनावारीलाई लिएर जति गम्भीर हुनुपर्ने हो, कारागार प्रशासन त्यति गम्भीर नभएको हामीले पायौं। त्यसको प्रमाण हो, पर्याप्त परिमाणमा स्यानिटरी नेप्किन वा स्यानिटरी प्याड उपलब्ध नहुनु। कारागार प्रशासनले औसतमा एक कैदीका लागि कतिवटा नेप्किन उपलब्ध गराउँछ भन्ने यकिन कसैलाई छैन। तर प्रशासनले उपलब्ध गराउने नेप्किन पर्याप्त नभएको चौकीदार बताउँछन्।
कैदीबन्दीलाई चाहिने परिमाणमा स्यानिटरी नेप्किन उपलब्ध गराउनु ठूलो चुनौती रहेको पाइयो। प्रशासनसँग माग गर्दा नेप्किन दिने भए पनि त्यसले सबैलाई बाँड्न नपुग्ने जानकारी दिइयो। प्रशासनले दिएको नेप्किन अपुग हुँदा कैदीबन्दीले सामूहिक सहयोग, व्यक्तिगत खर्च व्यवस्थापन र कपडाको प्रयोग गर्दा रहेछन्। चौकीदारका अनुसार सक्नेले आफ्नै पैसाले किन्छन् वा परिवार, आफन्तलाई भनेर मगाउँछन्। आर्थिक अवस्था कमजोर हुनेले कपडाको प्रयोग गरेर महिनावारीका दिन काट्छन्। सामूहिक सहयोगको अभ्यास पनि छ। अरूलाई चाहिएको बेला आफूसँग भएको दिने र आफूलाई चाहिएको बेला अरूसँग लिने। चाहे शौचालय सफाइको कुरा होस् वा नेप्किन दिएर सहयोग गर्ने कुरा, कारागार प्रशासनले कैदीबन्दीको सामूहिकता, सामुदायिकता र सहकार्यमा कुनै रोकटोक लगाएको छैन।
सरसफाइ र स्वास्थ्यसँग जोडिने अर्को महŒवपूर्ण विषय हो फोहोर व्यवस्थापन। कारागारभित्रको फोहोर व्यवस्थापन भने सन्तोषजनक छैन। कारागारभित्रको फोहोर व्यवस्थापनलाई लिएर कैदीबन्दी पनि चिन्तित छन्। सयौंको संख्यामा कैदीबन्दी बस्ने कारागारमा दिनहुँ ठूलो परिमाणमा फोहोर निस्किन्छ। तर त्यो फोहोर फाल्नका लागि न त डस्टबिन छ, न उचित स्थान नै। कुहिने, नकुहिने, भान्छाको फोहोर, शौचालयको फोहोर सबै एकै ठाउँमा फालिएको छ। महानगरपालिकालाई पटक पटकभन्दा पनि फोहोर फाल्न उपयुक्त डस्टबिन नल्याइदिएको कैदीबन्दी गुनासो गर्छन्। कारागार प्रशासन भने पनि फोहोर व्यवस्थापन उचित तरिकाले हुन नसक्नुमा महानगरपालिकालाई नै दोष दिन्छ।
कारागारभित्र आर्थिक हैसियतको प्रभाव ! ः कारागारभित्रका विभिन्न आयाम बुझ्दै जाँदा हामीलाई सबैभन्दा जिल्ल पार्ने विषय बन्यो, कैदीबन्दीको आर्थिक हैसियत र त्यसले पार्ने प्रभाव। कारागारभित्र सबैका लागि केही साझा नियम त छन् तर ती नियमहरू मान्नैपर्ने अनिवार्यता छैन। आफूले खर्च गर्न सक्ने हो भने आफ्नो काम गरिदिन कैदीबन्दीमध्येकै कोहीलाई खटाउन सकिन्छ। मेसको खाना नै खानुपर्छ भन्ने छैन। आफ्नो खर्चमा आफ्नो लागि बस्ने फराकिलो ठाउँ र छुट्टै पकाउने खाने व्यवस्था गर्न सकिन्छ। पार्लर, पसल र खाजाघर जस्तो सुविधाको जति पनि उपयोग गर्न सकिन्छ। यहाँसम्म कि कुकुर पाल्न पनि छुट छ। त्यहाँ केही कैदी आफ्ना कुकुर खेलाउन व्यस्त थिए भने कोही छुट्टै चुल्होमा मासु पकाउन मस्त थिए।
कारागार बाहिरको दुनियाँ झैं कारागारभित्र पनि हुनेखाने वा राम्रो आर्थिक अवस्था हुनेका लागि जीवन सहज छ। तर जसको आर्थिक अवस्था कमजोर छ उसका लागि विपरीत ! कानुनको नजरमा दोषी बनेर कारागारभित्र आइसकेपछि सबैको हैसियत समान हुनुपर्ने हो। तर कारागार बाहिरको हैसियतले कारागारभित्रको जीवन मजैले प्रभावित गरेको भेटिन्छ। कारागारभित्र आर्थिक अनुशासन र प्राप्त गर्ने सेवासुविधामा एकरूपताको आस राखेका थियौं। कारागारभित्र कैदीबन्दीले लगाउने लुगा, खानेकुरा, प्रयोग गर्ने सरसामान, पाउने सेवासुविधा नियमानुसार हुन्छ होला भन्ने सोचेका थियौं। आश्चर्यको विषय नै कारागारभित्रको वर्गीय विभाजन र आर्थिक हैसियतअनुसार प्राप्त गर्न सकिने सेवासुविधा देखियो।
सरकारले प्रत्येक कैदीलाई खानास्वरूप नियमानुसार केही चामल उपलब्ध गराउने र त्यस अतिरिक्त अन्य खर्चका लागि दैनिक ८० रुपैयाँ पाउने कारागार स्रोतले स्पष्ट पार्यो। यसै ८० रुपैयाँबाट उनीहरूले आवश्यक सम्पूर्ण सामान किन्छन्। आर्थिक अवस्था कमजोर हुनेले सोही रुपैयाँमै स्यानिटरी नेप्किनजस्तो आवश्यकताको सामान पनि किन्छन् र तरकारीजस्ता खानेकुरा किन्न पनि रकम दिन्छन्। आर्थिक अवस्था राम्रो हुनेले आफ्ना लागि जति पनि रकम खर्चिन पाउँछन्। कैदीबन्दीको स्वास्थ्य, सुरक्षा, पोषण, सम्मानजस्ता कुराको गुणस्तर उनीहरूले खर्च गर्न सक्ने रकममा भरपर्ने रहेछ। यस्तो प्रणालीले कैदीबन्दीको आत्मसम्मानमाथि प्रहार गर्छ नै, कारागारभित्र पनि वर्गको आधारमा विभाजन भइरहेछ कि भन्ने प्रश्न उठाउँछ। कैदीबन्दीले लगाउने लुगा, खानेकुरा, पाउने सेवासुविधा गुणस्तरीय हुनैपर्छ। तर यो गुणस्तरीय जीवन कारागारभित्रका सबैको हुनु आवश्यक छ। गुणस्तरीयताको सुनिश्चितता कारागार प्रशासनले गर्नुपर्छ न कि कैदीबन्दीको आर्थिक अवस्थाले।
प्रशासनले गर्नुपर्ने काम : समग्रमा कारागारभित्रको दैनिकी व्यवस्थित छ। व्यवस्थित दैनिकी कैदीबन्दीहरूकै सामूहिक प्रयासले सम्भव भएको हो। सामूहिक प्रयास र सहकार्यलाई कारागार प्रशासनले पनि प्रोत्साहन दिएको छ। तर केही चुनौती र प्रश्नहरू पनि छन्, जसबारे कारागार प्रशासन गम्भीर हुनुपर्नेछ। कारागारभित्रका नाबालकहरूको हुर्काइबारे थप संवेदनशील हुनु आवश्यक छ। उनीहरूले पाइरहेको वातावरण र परिवेश कति स्वस्थ छ ? अध्ययन हुनुपर्छ। मानसिक समस्या भएका कैदीबन्दीको विशेष हेरचाहमा कारागार प्रशासन चुकेको छ। जसका लागि कैदीबन्दीबाटै केही कर्मचारी छुट्ट्याइएका छन्। तर कारागारभित्रको समस्त परिवेश उनीहरूका लागि कति स्वस्थ, सुरक्षित र सम्मानजनक छ ? त्यसको विस्तृत अनुगमन र विश्लेषण हुनुपर्छ। स्वास्थ्य र सरसफाइलाई आवश्यक सामान पर्याप्त मात्रामा सबैको पहुँचमा हुनुपर्छ। यी केही कमजोरीलाई सुधार्न सके कारागार बाहिरको सहरको तुलनामा कारागारभित्रको सरसफाइ, सुविधा, सामूहिकता, सामुदायिकता र आफ्नो काम आफैं गर्नुपर्ने जिम्मेवारीबोध उदाहरणीय छ।