परासी मालपोतमा जालझेल, रोक्का जग्गा अर्कैको नाममा पास
परासी : भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीले रोक्का रहेको जग्गालाई राजीनामा पास गरी दिएको रहस्य खुलेको छ । दृष्टिबन्धकमार्फत् रोक्का भएको उक्त जग्गा ११ वर्षपछि मात्र राजीनामा पास भएको रहस्य खुलेको हो । जग्गा दृष्टिबन्धक राखेर ऋण दिएका रामग्राम नगरपालिका–५ परासीका सन्तोषकुमार श्रीवास्तवले जिल्ला अदालतमार्फत धितो सकारेर जग्गा पास गर्न जाने क्रममा उक्त जग्गा अर्कैको नाममा पास भएको पाइएपछि उक्त रहस्य खुलेको हो ।
साहु श्रीवास्तवले जग्गाधनी (ऋणी) रामग्राम नगरपालिका– १८ ऐचावलका विक्रमप्रसाद यादवको साविक अमरौट २‘क’ कित्ता नम्बर २१० को ५ कठ्ठा १० धुर जग्गा २०७० साउन २० गते दृष्टिबन्धक गरेर ६ लाख ऋण दिएका थिए । ऋणी यादवले ऋण दिन नसकेपछि श्रीवास्तवले जिल्ला अदालतबाट उक्त जग्गा १२ लाख २२ हजारमा लिलाम सकारेर जग्गा नामसारी गर्न २०८१ मंसिर २१ गते मालपोत कार्यालय पुगेका थिए । तर, उक्त जग्गा ऋणी यादवले रामग्राम नगरपालिका–६ का रामअवध तेलीलाई २०७८ साउन २२ मा नौ लाखमा राजीनामा पास गरेर दिएको पाइएपछि रोक्का जग्गा पास भएको रहस्य खुलेको हो । मालपोत कार्यालयको गम्भीर त्रुटिका कारण रोक्का रहेको जग्गा पास भएको रहस्य खुलेपछि अहिले तत्कालीन कर्मचारीहरूलाई बोलाएर कार्यालयले सोधपुछ गर्न थालेको छ । यससम्बन्धमा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत दामोदर भण्डारीले कर्मचारीको त्रुटिका कारण समस्या आएकाले तत्कालीन कर्मचारीहरूलाई बोलाएर त्यस विषयमा सोधपुछ भइरहेको बताए ।
जग्गा रोक्का रजिष्ट्रर किताबमा भूलवस ऋणीको थर चढाउँदा त्रुटि हुन गएको भण्डारीले बताए । रोक्का किताबमा जग्गाको क्षेत्रफल, कित्ता नम्बर, रसिद नम्बरलगायतका विवरण दुरुस्त रहेपनि ऋणीको नाम ‘विक्रमप्रसाद यादव हुनुपर्नेमा ‘विक्रम केवट’चढाइएकाले अहिले समस्या आयो, ’प्रमुख मालपोत अधिकृत भण्डारीले भने ।
रोक्का किताबसँगै मोठ किताबमा पनि जग्गा रोक्का उल्लेख गर्नुपर्ने थियो । तर, पहिला मोठ किताबमा उल्लेख नगरेको र रोक्का किताबमा हेर्दा विक्रम यादवको नाउँ नदेखेपछि जग्गा पास हुन गएको मालपोत कार्यालयले जनाएको छ । ‘अहिलेको जस्तो अनलाइन सिस्टम थिएन । त्यतिबेला रोक्का किताब हेरेर पास गर्ने गरिएको थियो । त्यसैले त्रुटि हुन गयो ,’प्रमुख मालपोत अधिकृत भण्डारीले भने ।
१५ दिनअघि अदालतको फैसलासहित आएका श्रीवास्तवको नाउँमा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर र क्षेत्रफल भिडाउँदा अनलाइन मोठमा रोक्का देखिएकाले जग्गा पहिल्यै नै पास भएको देखिएको मालपोत कार्यालयले जनाएको छ ।
‘जग्गाधनीको नियत नै खराब’
जग्गा रोक्का भएपछि मोठ किताब र लालपुर्जामा समेत रोक्का उल्लेख गरिन्छ । तर, ऋणीले नियत खराब राखी पुरानो लालपुर्जामा रोक्का देखिने भएकाले प्रतिलिपि निकालेको मालपोत कार्यालयले जनाएको छ । रोक्का किताबमा आफ्नो नाम नभएको चाल पाएका यादवले प्रतिलिपि निकालेको प्रमुख मालपोत अधिकृत भण्डारीको भनाइ छ । यादवले २०७४ सालमा लालपुर्जाको प्रतिलिपि लिएको देखिएको छ । ‘ रोक्का किताबमा हेर्दा जग्गा रोक्का देखिएन,कर्मचारीले त्यसैको आधारमा प्रतिलिपि दिए । प्रतिलिपिकै आधारमा यादवले पटक पटक उक्त जग्गा राखेर ऋण लिएको र पछि फुकुवा गरेको देखिएको छ ,'प्रमुख मालपोत अधिकृत भण्डारीले भने ।
लालपुर्जा प्रतिलिपिको आधारमा यादवले उक्त जग्गा पछिल्लो समय २०७८ साउन २० मा फुकुवा गरेका थिए । फुकुवा भएको दुई दिनमै यादवले उक्त जग्गा रामअवध तेलीलाई २०७८ साउन २२ मा राजीनामा पास गरेर दिएका हुन् । उक्त जग्गा २०७० सालमै दृष्टिबन्धकमा रहेको जानकारी हुँदा हुँदै यादवले कर्मचारीहरुलाई समेत गुमराहमा राखेर गलत नियतका साथ पटक पटक लेनदेन गरेको प्रमुख मालपोत अधिकृत भण्डारीको भनाइ छ । यादवको एक वर्षअघि मृत्यु भइसकेको छ ।
कानुनी प्रक्रियामा जाँदा उक्त जग्गा प्रकरणमा कर्मचारीहरूकै कमजोरी देखिने र कारबाही हुने देखिएको छ । तर, मालपोत कार्यालयले भने व्यवहारिक रुपमा साहु, जग्गाधनीका परिवार, जग्गा खरिद गर्ने व्यक्ति र जनप्रतिनिधिलाई बोलाएर समस्या समाधान गर्न छलफल कार्य अघि बढाएको बताइएको छ । जग्गा पास हुन नसकेपछि दृष्टिबन्धकबाट ऋण दिएका साहु श्रीवास्तवलाई पाउनुपर्ने रकम दिलाउनका लागि छलफल भइरहेको एक कर्मचारीले बताए।