भन्सारको झन्झटिलो प्रक्रियालाई खारेज गर्न सांसदहरूको सुझाव
काठमाडौं : सांसदहरूले भन्सार क्षेत्रमा देखिएका समस्या र गुनासालाई निराकरण गर्नेगरी भन्सारसम्बन्धी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
सिहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले भन्सारका विषयमा पटक-पटक गुनासाहरू आउने गरेकाले त्यसलाई दीर्घकालीनरूपमा नै निराकरण गर्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले स्वदेशी उद्योगहरूलाई संरक्षण र प्रवर्द्धन गर्दै भन्सार क्षेत्रमा देखिएका समस्या सम्बोधन हुने गरी कानुन बनाउनुपर्ने बताए। सीमा क्षेत्रमा जनताले सिमाना रक्षा गरेर बसेपनि विभिन्न बहानामा भन्सार क्षेत्रमा नागरिकलाई दुःख दिने काम भएकाले त्यसलाई अन्त्य गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए।
त्यस्तै सांसद स्वर्णिम वाग्लेले बस्तुको भन्सार दल वैज्ञानिक र पारदर्शी ढंगले तोक्ने गरी कानुन निर्माण गर्नुपर्ने सुझाव दिए। भन्सारको झन्झटिलो प्रक्रियाहरूलाई खारेज गर्नुपर्ने उनको भनाइ छ।
विधेयकमा बस्तुको प्रकृतिअनुसार भन्सार महसुल दर तोक्ने, विदेशी मुलुकहरूसँग गरिएको सन्धि सम्झौता बमोजिम कूटनीतिक सुविधा वा महसुल छुट दिने लगायतका व्यवस्था गरिएको छ।