बुटवलबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
बुटवल : खानेपानी मन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी बुटवलबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुटवल खानेपानी सुधार आयोजनाअन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाँध स्थलको प्राविधिक टोलीसहित स्थल गत निरीक्षण गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्। 'झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरूलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष छ। सोहीअनुसार काम भइरहेको छ। बुटवलबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,' उनले भने।
उक्त आयोजनाका विषयमा आज सरोकारवालसँग विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु हुँदै मन्त्री यादवले खानेपानीसम्बन्धी नागरिकका समस्या समाधानका लागि आफू हरसमय प्रतिवद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए। बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहे पनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको र झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबीसमेत गरे।
झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुने गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारीसमेत दिए। करिब छ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ। विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ।
सुरुमा केही वर्षको प्रयासका बावजुद आयोजना असफल भएपछि फेरि विसं २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, 'सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाएपछि समस्या भयो। पछिल्लो समय विसं २०७७ सालमा शिलान्यास गरेको झुस्सा खोलाको काम अहिले सुचारु अवस्थामा रहेको छ।'