खेलकुद

क्रिकेटमा उत्साह, राजधानी बाहिर बन्दै भव्य रंगशाला

क्रिकेटमा उत्साह, राजधानी बाहिर बन्दै भव्य रंगशाला

भैरहवा/धनगढी/ चितवन/बैतडी : छोटो अवधिमै मुलुकले क्रिकेटमा लोभलाग्दो छलाङ मारेको छ । एनपीएलको भव्य र सानदार आयोजनाले त विश्व क्रिकेटमै नयाँ इतिहास रचेको छ । तर, त्यसअनुरू रंगशाला र अरू भौतिक सुविधा नभएको भन्दै आलोचना पनि भइरहेको छ ।

राजधानीमा त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा प्याराफिट, फ्डलाइट लगायतका संरचना निर्माणका लागि सरकारले टेन्डर आह्वान गरिसकेको छ । त्यति मात्र होइन, राजधानी बाहिर पनि भव्य क्रिकेट रंगशाला बनिरहेका छन । यी मैदान बनेपछि क्रिकेटको विकास ह्वात्तै हुने जानकारहरू बताउँछन् ।

निजी क्षेत्रको नमुना रंगशाला 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुँदै छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले एक्स्ट्राटेक ओभल प्रालिमार्फत ६० करोड रुपैयाँ लागतमा तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । 

६ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भीआईपी बक्स लगायत पूर्वाधार निर्माणका काम भइरहेका छन् । ‘क्रिकेट खेलको विकासका लागि रंगशालाको निर्माण गरिएको हो र राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि मैदान तयारी अवस्थामा छ’, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं रंगशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनले भने, ‘अहिले पनि खेल खेलाउन सकिन्छ । र, अन्य पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् ।’

शिलान्यास भएको ६ महिनामा मैदान तयार भएको थियो । रंगशालामा विभिन्न चरणका काम गर्ने योजना छ । जसअनुसार अहिले पनि कामहरू भइरहेका छन् । उनका अनुसार १५/२० हजार दर्शक क्षमता प्याराफिट बनाउन सकिने अवस्था रहेको र हाल २/३ हजार दर्शक क्षमताको रंगशाला तयार भएको छ । रंगशालामा खेल संचालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको ब्रान्ड एम्बेसडर गौचनले बताए । null

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको निर्माणले क्रिकेट खेलाडीको उत्पादनका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरेर यस क्षेत्रमा आर्थिक विकास र पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूको छ ।

लगानीकर्ता विनोदका दाजु सूर्य कुवँरले मैदानसम्म पुग्ने सडक र विद्युत्लगायत आवश्यक भौतिक पूर्वाधार निर्माणको अपेक्षा सरकारसंग गरिएको बताए । ‘मैदान तयार भइसकेको छ । अन्य पूर्वाधार बन्दैछन्’, उनले भने, ‘सरकारबाट आर्थिक अपेक्षा छैन । तर, रंगशाला जाने/पुग्ने सडकलगायत पूर्वाधार सरकारले बनाईदिए सबैलाई सहज हुने थियो ।’

निजी क्षेत्रले रंगशाला निर्माणको काम निकै अघि बढाएको छ । तर, सरकारी स्तरबाट भैरहवामै सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भने करिब डेढ दशक बितिसक्दा समेत अधुरो छ । बहुवर्षीय ठेक्का नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्ट्याउँदा सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना वर्षौं देखि अलपत्र परेको हो । करिब १६ प्रतिशत मात्रै काम भएको छ । 

बर्सेनि न्यून बजेट मात्रै पर्दा डीपीआरअनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान यति नै समयमा बन्छ भन्ने एकिन छैन । क्रिकेट मैदान बनाउन करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । ०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको छ । 

डीपीआर अनुसार त्यो बेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपैयाँ लाग्ने जनाइएको थियो । तर, पछिल्ला वर्षहरूमा बजेट नै विनियोजन हुन छोडेको छ । जसले गर्दा पुरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोड बढी लागत लाग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउँछन् । 

अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । हाल ३ करोड लागतमा हल, खेलाडी बक्स र शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण भएका छन । सुरुमा १ करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालय सहित एक तल्लाको प्याभेलियन भवन निर्माण गरिएको थियो ।

त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर, सरकारले बहुवर्षीय योजनामा नराखेर रंगशालालाई बजेट छुट्ट्याउनै छाडेको छ । समय समयमा ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन मात्रै दिने गरेका छन । तर, बजेट नछुट्ट्याउँदा रंगशाला निर्माण कछुवा गतिमा भइरहेको छ ।

फाप्लाको बन्यो डीपीआर

सुदूरपश्चिको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार भएको छ । सरकारले ०७९ जेठमा फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ जारी गरेको थियो । त्यतिबेला नै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही र सदस्यमा कल्पना दियाकोटी मनोनीत भएका थिए । ९ सदस्यीय समितिमा अध्यक्ष र एकजना सदस्यबाहेक ७ जना पदेन सदस्य रहने व्यवस्था छ ।

रंगशालाको जग्गा जोडिएको धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहने व्यवस्था छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख र उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

रंगशाला पूर्वाधार निर्माण विकास समिति गठन भएपछि गत आर्थिक वर्ष ०८०/८१ मा सरकारले रंगशालालाई प्राथमिकताको आयोजनाका रुपमा राखेर डीपीआर र ईआईए रिपोर्टका लागि १ करोड बजेट विनियोजन गर्‍यो । पूर्वाधार निर्माण विकास समितिले गरेको खरिद प्रकृयामा डीपीआर र ईआईएको ठेक्का ग्रेड/मास श्रेष्ठ जेभीले ६० लाखमा पाएको थियो ।

‘ग्रेड/मास श्रेष्ठ जेभीले २०८१ को असोजमै डीपीआरको रिपोर्ट बुझाइसकेको छ । पूर्वाधार निर्माण समितिले त्यसलाई पारित गरिसकेको छ । ईआईएका लागि सबै रिपोर्ट तयार भएर संघीय बन मन्त्रालयमा बुझाइएको छ । ‘बनले ईआईए रिपोर्ट स्विकृत गर्ने वित्तिकै पूर्वाधार निर्माणको बाटो खुल्नेछ’ समितिका अध्यक्ष शाहीले भने ।

फाप्ला क्रिकेट मैदानलाई संघीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो ४ वर्षदेखि बजेट छुट्ट्याउँदै आएको छ । तर प्रदेश र संघीय सरकारले विनियोजन गरेका बजेट फ्रिज हुँदै आएका थिए । आयोजना पूरा गर्न बजेट अभाव हुँदैन भन्ने विश्वास शाहीलाई छ । ‘सुरुवाती बजेट थोरै भए पनि बहुवर्षीय परियोजना भएको हुनाले बजेटमा समस्या हुँदैन भन्ने लागेको छ,’ शाहीले भने, ‘यसको निर्माण मोडल अन्यभन्दा फरक छ । यहाँ सरकारी लगानीका साथसाथै निजी र खेलकुदसँग सम्बन्धित वैदेशिक निकायले पनि लगानी गर्न पाउँछन् ।’

ड्रिम फाप्ला अभियान सुरु भएको ८ वर्ष भए पनि जग्गाप्रप्ति नभएकाले पनि यसको काम सुरु हुन सकेको थिएन । धनगढीको चौराहाबाट ५ किलोमिटर दूरीमा रहेको साढे ४१ बिघाको जग्गा भोगाधिकार २०७८ सालमै पाइएको थियो । ५० हजार दर्शक अटाउने क्षमताको क्रिकेट रंगशालामा बनाउने लक्ष्य रहेको अध्यक्ष शाहीले बताए ।

‘पहिलो चरणमा २५ हजार दर्शक क्षमताको रंगशाला सहितका पूर्वाधार बन्ने छन्, त्यसका लागि १० अर्वको लगानी हुने देखिन्छ । दोस्रो चरणमा खेलग्राम बनाइने छ । त्यसमा होटल रेष्टुरा पनि बन्ने छन । गठन आदेशमै अन्तर्राष्ट्रिय र निजी क्षेत्रको लगानी पनि भित्र्याउन पाउने प्रावधान राखिएको छ । त्यसैले पनि रंगशाला र खेलग्राम बनाउनमा बजेटको अभाव नहुने आशा गरेका छौं’ शाहीले भने ।

दोस्रो तरणको निर्माणमा फुटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि बन्ने छन् । यसअघिको भारत भ्रमणका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारत सरकारलाई उक्त क्रिकेट रंगशाला निर्माणका लागि अनुरोध गरेकी थिइन् । भारत त्यसका लागि सकारात्मक रहेको उनले पत्रकार सम्मेलेनमै सार्वजनिक पनि गरेकी थिइन् ।

गौतमबुद्धको काम धमाधम 
तीन वर्षदेखि अलपत्र गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणले गति लिएको छ । साउनबाट रंगशाला निर्माण पुनः सुरु भएको हो । ६ महिनामा १३ प्रतिशत काम पूरा भएको छ । अबको ३० महिनामा भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला तयार हुनेछ । 

मैदानमा यसअघि रोपिएको दुवो फ्याँकेर अत्याधुनिक प्रविधिबाट मैदान तयार हुँदैछ । रंगशालामा १५ हजार दर्शक अट्ने प्याराफिट बन्दैछ । धुर्मुस–सुन्तली फान्डेसनले ५ हजार क्षमताका प्याराफिट निर्माण गरिसकेको छ । ६ वटा ब्लक मध्ये चारवटाको पहिलो चरणको काम सकिएको छ । 

दर्शक बस्ने १६ मध्ये चार तहको सिँढी पहिल्यै बनेको थियो । अब १० हजार दर्शकको लागी प्याराफिट बनाउने कम थालिएको छ । ‘यो वर्ष रंगशाला निमार्णको गति तीव्र भएको छ । तोकिएको मितिमा जसरी पनि काम सक्न लागि परेका छौं,’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘सबैतिरबाट सकारात्मक प्रयास भएर काम अगाडी बढेको छ । अब कुनै कुराले पनि काम रोकिँदैन । ’ null

धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्णको जिम्मेवारीबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर काम अघि बढाएको हो । तीन तहको सरकारको साझेदारीमा रंगशाला निर्माण अघि बढाइएको हो । संघीय सरकारले २५ करोड विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले ठेक्का सम्झौताको ७० प्रतिशत बजेटको निर्णय गरिसकेको छ । प्रदेश सरकारको ५२ करोड ५० लाख बजेट विनियोजन गरेको छ । केही दिनअघि प्रदेश सरकारले १० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरिसकेको छ । नपुग रकम भरतपुर महानगरले आन्तरिक स्रोतबाट जुटाउनेछ ।

रंगशाला निमार्णको निगरानी भरतपुर महानगरले गरिरहेको छ । महानगरका इन्जिनियर प्रत्यक्ष फिल्डमा खटिएका छन् । ०७५ माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच रंगशाला निर्माणको सम्झौता भएको थियो । ‘३० महिनाको परियोजना हो । हामी समयभन्दा अगावै सबै काम सक्नेछौ,’ निर्माण कम्पनीका साइट इन्जिनियर विक्रम केसीले भने, ‘पहिलाको कामसहित जोड्दा करिब ५० प्रतिशत काम सकिएको छ ।’

सम्झौताअनुसार तोकिएको मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको तयारी छ । ०७८ साउन २२ गतेबाट धुर्मुस–सुन्तली फाउन्डेसनले काम रोकेको थियो । फाउन्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरणको पत्र पठाएको थियो । ०७५ माघ १६ क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो ।

गत असार २३ मा ३० महिनाभित्र काम सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । निमार्णको जिम्मा पाएकोले तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रंगशाला निर्माणको ठेक्का लागेको हो । सम्झौताअनुसार २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न हुनेछ । 

व्यावसायिक प्रतियोगिताका लागि तयार 

बैतडी जिल्ला सदरमुकाममा रहेको दशरथचन्द खेल मैदान व्यावसायिक प्रतियोगिता गर्नका लागि तयार भएको छ । खेलमैदानमा आधारभूत कामहरू सकिएसँगै प्रतियोगिता आयोजना भइरहेका छन् ।

गत वर्ष मात्रै टर्फ पिच निर्माण गरिएकोमा यहाँ थुप्रै जिल्लास्तरीय प्रतियोगिताहरू भइसकेका छन् । यसैगरी प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता यही खेल मैदानमा हुँदै छ । पुस १९ गतेदेखि २५ गतेसम्म चल्ने प्रदेशस्तरीय छनोट प्रतियोगितामा क्रिकेट संघमा आबद्ध यस प्रदेशका ८ जिल्लाले सहभागिता जनाउँदै छन् । null

यो जिल्लाकै पुरानो खेलमैदान हो । तर, खेलकुदको महत्वसँग जोडिएको खेलमैदानका रुपमा हेरिएको छ । ०६३ सालमा जिल्लाको दशरथचन्द नगरपालिकाले यस खेल मैदानको निर्माण सुरु गरेको थियो । ०७१ सालमा राष्ट्रिय खेलकुद परिषद्ले दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको थियो । सुरुमा १ करोड ४० लाख बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माण गर्नका लागि काम भएको थियो । तर निर्माण व्यवसायीको ढिलाइ र राज्यस्तरबाट बजेट निकासाको ढिलाई लगायतका कारणले अपेक्षा अनुसार काम भएको थिएन । 

हालसम्म सरकारको तर्फबाट यस खेल मैदान निर्माणका लागि ४ करोड बढी लगानी भएको र प्रदेशस्तरीय प्रतियोगिताका लागि मैदान तयार भएको जिल्ला क्रिकेट संघ बैतडीका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारबाट ५० लाख बजेट बिनियोजन गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लायक खेलमैदान निर्माण भइरहेको जिल्ला क्रिकेट संघको दावी छ । ‘अहिले ५० यार्डमा खेलाउन लागेका छौँ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरू ५६ देखि ६० यार्डसम्म नै खेलाउँछन्, यस वर्ष प्रदेश सरकारको ५० लाख बजेटबाट पनि खेल मैदानको यार्ड बढ्छ,’ उनले भने । 

राज्यस्तरबाट थोरै लगानी थप्न सके छिट्टै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन लायक मैदान तयार हुने अध्यक्ष चन्दको भनाइ छ । हालसम्म यस खेल मैदानमा ४ करोड हाराहारी बजेट खर्च भएको र सोही हाराहारीको बजेट थप्न सके खेल मैदानको स्तरोन्नतिसँगै प्याराफिट निर्माण गर्न सकिने जिल्ला क्रिकेट संघ बैतडीको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.