मुलुकमा १,४२,२२३ होटल–रेस्टुरेन्ट

पहिलो एकीकृत होटल तथा रेस्टुरेन्ट सर्वेक्षण

मुलुकमा १,४२,२२३ होटल–रेस्टुरेन्ट
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : मुलुकमा आवास तथा भोजन सेवा प्रदान गर्ने १,४२,२२३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन्। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार ती होटल तथा रेस्टुरेन्टमा ३,८७,७४७ संलग्न छन्।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या भन्नाले प्रतिष्ठानमा सक्रियरूपले कार्यरत व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिलाई बुझ्नुपर्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। जसमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा होटल तथा रेस्टुरेन्ट रहेको पाइएको तथ्यांक कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले जानकारी दिए।

उनका अनुसार बागमतीमा ५२,१२३, कोशीमा २५,८८७, लुम्बिनीमा २०,१५८,गण्डकीमा १६,९७६, मधेसमा ११,७४०, सुदूरपश्चिममा ८,२२८ र कर्णालीमा ७,११० छन्।

१ लाख ६ हजार ४५९ रोजगार
सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानबाट १ लाख ६ हजार ४५९ जनाले रोजगारी पाइरहेको छ। १,०३,४०१ होटल तथा रेस्टुरेन्टमा १ देखि २ जना संलग्न छन्। ३०,९१८ होटल तथा रेस्टुरेन्टमा ३ देखि ५ जना काम गर्छन्। ५,३३६ मा ६ देखि ९ जना कार्यरत छन्। १० जनाभन्दा बढी संलग्नता रहेका होटल तथा रेस्टुरेन्ट २,५६८ छन्।

  • सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा होटल तथा रेस्टुरेन्ट रहेका छन्।
  • होटल तथा रेस्टुरेन्टमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ।
  • सर्वेक्षणमा दुई तिहाइभन्दा धेरै होटल तथा रेस्टुरेन्ट अझै ऋणको दायराबाट बाहिर रहेको देखिएको छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिहरूको संख्या भन्नाले प्रतिष्ठानवाट नियमित रूपले तलब / ज्याला लिनेगरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिहरूलाई बुझनु पर्नेछ। सर्वेक्षणको नतिजा अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले कार्यरत तलबी कामदारको लागि तलब / ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब २० अर्ब ६१ करोड ५० लाख रहेको छ। तलब/ ज्याला तथा सुविधा भन्नाले तलबी कामदारको लागि आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले खर्च गरेको कुल रकम (नगद, जिन्सी र अन्य सुविधाहरू समेत) भन्ने बुझिने सर्वेक्षण प्रतिवेदनमा छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्यबराबरको रकम लागतको रूपमा खर्च गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्यबराबरको सेवा उत्पादन गरेको देखिएको छ। आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाखबराबरको मूल्य अभिवृद्धि गरेको देखिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठान (होटल तथा रेस्टुरेन्ट)मा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ।सर्वेक्षणमा दुई तिहाइभन्दा धेरै होटल तथा रेस्टुरेन्ट अझै ऋणको दायराबाट बाहिर रहेको देखिएको छ। आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिएको छ भने ७१.६ प्रतिशत प्रतिष्ठानहरूको ऋण नभएको नलिएको देखिएको छ।

ऋण लिनेको यो संख्या बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा सहकारी संस्था समेतको हो। तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिएको थियो। यो पटक भने सबै होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्ट समेटेर बृहत् सर्वेक्षण गरिएको तथ्यांक कार्यालयले जनाएको छ। यो सर्वेक्षणलाई नेपालको पहिलो एकीकृत होटल तथा रेस्टुरेन्ट सर्वेक्षण पनि भनिएको तथ्यांक कार्यालय प्रवक्ता डा. रेग्मीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.