माझी बस्तीको कहर : ९ सन्तानसम्म गुमाइन् आमाले

माझी बस्तीको कहर : ९ सन्तानसम्म गुमाइन् आमाले

काठमाडौं : 

चिसो नै काल बन्यो 

छोरा गुमाएको पीडा त छँदैथियो, काखमा हुर्कंदै गरेकी चारमहिने छोरी पनि कालले खोसेर लग्यो। सरिता माझी र पति कृष्ण माझीलाई अकालमा दुई बच्चा गुमाउनु पर्दाको पीडा असह्य छ। मिथिला नगरपालिका– १० लालगढस्थित माझी टोलकी सरिताको परिवारलाई गास, बास र कपासकै समस्या छ। चिसोका कारण मंसिर २७ गते दूधे छोरीको ज्यान गयो। ‘अरूले सुख पाउँछन्, छोराछोरीकी आमाले दुःख पाउँछिन् भन्थे, हो रहेछ’, सरिताले दुःख बिसाइन्, ‘कान्छो छोरा बितेको पीडा त छँदै थियो। चिसो लागेर चारमहिने छोरी राधा पनि बितिन्। के गर्नु, जीवन कठिन छ।’

सरिताले पाँच वटा सन्तान जन्माई सकिन्। दुईको अकालमै ज्यान गइसकेको छ। काखमा भएका दुई साना सन्तान हुर्काउन निकै कठिन भइरहेको उनले बताइन्। ‘चिसोले सन्तान हुर्काउनै कठिन भयो। लौन, कोही हुनुहुन्छ भने हाम्रो जीवन बचाइदिनुस्।’ छोरी बितेको दिनको स्मरण गर्दै सरिता भन्छिन्, ‘के भयो, भयो थाहा छैन। बिरामी पनि भएको होइन्। राति २ बजेसम्म राम्रै थियो। रोइरहेकी थिइन्। दूध खुवाएर सुताएकी थिए। बिहानपख नानी चुप लागेर सुतेको छ भनेर काममा लागे। के, को सुत्नु। उठाएँ, बोली नै बन्द भइसकेको रहेछ।’ 

सरितालाई गरिबीको मार उस्तै छ। टाउको लुकाउने ओत पनि छैन्। नातामा हजुरबुवा पर्ने वीरे माझीको घरमा आ श्रय लिइरहेकी छिन्। जहाँ उनको चार जनाको परिवार बस्छ। तर, हजुरबुवा हजुरआमा भने रात काट्न छिमेकीको घर जान्छन्। यो दृश्यले सरिताको मन पोल्छ। भावुक हुन्छिन्। बढ्दो चिसो। अनि सिरेटोले सरिताको परिवारलाई छाप्रोमा रात काट्न कठिन हुन्छ। टायलले छाएको एउटा सानो छाप्रो छ। एउटामा भान्छा, अर्कोमा खुला छ। ढोकाको नामोनिसान छैन। माटोले लिपिएको जमिनमाथि ओछ्यान बनाएर सरिताका परिवारले रात काट्छन्। ओढ्ने सिरक र ओछ्याउने डसना त यो परिवारले देखेकै छैन। सरिता भन्छिन्, ‘ज्यान बचाउनै कठिन भयो, कोही भगवान् भए, सहयोग गरिदिनुहोला।’

null

नातिको दाहसंस्कार गर्नै पनि ऋण 

तीन महिनाअघि लालबहादुर माझीका नातिको ज्यान गयो। दाहसंस्कार गर्ने खर्च पनि परिवारसँग भएन। ऋण काढेर संस्कार पूरा गरे। ‘नातिको संस्कार पूरा गर्न ३० हजार खर्च भयो,’ लालबहादुर भन्छन्, ‘त्यो ऋण अझै तिर्न सकेका छैनौं।’ 

कालो अक्षरसँग कहिले पनि भेट भएन, लालबहादुरको। गरिबी र दुःखले कहिले पनि साथ छोडेनन्। भोक, रोग, शोकले पछ्याइरह्यो। जीवनभर ‘हरूवा’ बसे। १६ धुर जमिन जोडे। बाटो बिस्तार हुँदा आधा जमिन सडकमा प¥यो। ‘बाटो रोक्न मिलेन। दिनै प¥यो नि,’ उनले भने। तर, बाटोमा गएको घडेरीको मुआब्जा भने पाएनन्। बाँकी रहेको उस्तै १० धुरमा सानो छाप्रो छ। दुई छोरा—बुहारीसहितको लालबहादुरको परिवार बस्छन्। 

संसारको सबै दुःख खोज्नु छ भने माझी टोलमा पुग्दा भेटिन्छ। जहाँ दुई गाँस जुटाउनका लागि गर्नुसम्म संघर्ष गरिएका दृश्य भेटिन्छन। सन्तान बिरामी भए धामीझाँक्रीकै भर पर्छन। डाक्टरहरू कहाँ त आकलझुक्कल मात्रै पुग्छन्। किनकि, अस्पताल र डाक्टरसम्म पुग्नका लागि उनीहरूसँग आर्थिक स्रोत नै हुँदैन। 

९ जन्मिए, २ जना मात्रै बाँचे

तराई–मधेसमा चिसो बढ्दैछ, शीतलहर सुरु भइसकेको छ। लालगढको माझी टोलमा नवजात शिशु र आमाको ज्यान जोगाउनै धौ–धौ हुन्छ। ६१ वर्षीया ईश्वरी माझीकै उदाहरण हेरौं न। ईश्वरीले जीवनमा ९ वटा सन्तान जन्माइन्। तर, ७ वटा सन्तानले दुनियाँ देख्न नपाई प्राण त्यागे। ७, ७ वटा सन्तान के कारणले बिते ? ईश्वरीलाई थाहा छैन। ‘हस्पिटलमा दबाई पनि गराएँ, धामी पनि लगाएँ,’ उनी भन्छिन्, ‘कोही ६ महिना, कोही १० महिना पालेपछि बिते।’ 

पुसको जाडो। टालीले छाएको छानो । बाँसले बेरेको। ढोकाबिहीन दैलो। माझी टोलमा पुग्दा यहीँ दैलोमा भेटिएकी थिइन्, ईश्वरी माझी। यो उनको जीवनको सबथोक हो, सम्पत्तिको नाममा एक छ्राप्रो छ। जहाँ उनी बिहानको खाना खाँदै थिइन्। नजिकैको टारमा ‘च्याँ च्याँ गर्दै नाति रोइरहेका थिए। हतारहतार हातमुख चुठिन्। ‘नरोऊ बाबु...’ भन्दै भुलाइन्। खेलाइन्। हजुरआमाको मायातिर नाति अघि बढ्दै थिए। ईश्वरीकी छोरी रीताले ६ महिना अघि छोरा जन्माइन्। वंश बढेकोमा ईश्वरी खुसी थिइनन्। ‘साउँभन्दा ब्याजको धेरै माया लाग्छ,’ ईश्वरी भन्छिन। छोराको स्याहारसुसार गर्नका लागि रीता माइती आएकी हुन्। रीता भन्छिन्, ‘बच्चा हुर्काउन धेरै कठिन छ। चिसो छ। टारमा सुत्नुपर्छ। घरमा ढोका पनि छैन। राति ह्वातै चिसो पस्छ। ओढ्ने ओच्छ्याउने गतिलो छैन।’

चरम गरिबी। शिक्षाको अभाव। कुपोषण उस्तै। बनिबुतो गरे मुखमा माड लाग्ने। काम नपाए चुलो नबल्ने। बाँच्नकै लागि कठिन संघर्ष गर्नुपर्ने। त्यसमा पनि माझी परिवारको हरिबिजोग। ईश्वरी माझीको ६ दशक यसैगरी बिते। कहिले दुःखमा त कहिले शोकमा। कहिले भोकै त कहिले अनिँदोमा। पेटमा बच्चा हुँदा पनि ईश्वरीले जीवनमा कहिल्यै सुखको अनूभूति गर्न नपाएको बताउँछिन्। अहिले पनि उस्तै छ उनको दैनिकी। ‘अहिले पो यहाँ हस्पिटल भयो, पहिला त ढल्केबर पुग्नुपथ्र्यो,’ उनी भन्छिन,‘ वर्ष दिनमा काख भरिन्थ्यो, फेरि कालले खोसेर लैजान्थ्यो।’ 

आफ्ना ७ वटै सन्तान मंसिर, पुस, माघ र फागुन महिनामा बितेको ईश्वरी सुनाउँछिन्। यो बेला मधेसमा शीतलहर चल्छ। बच्चाहरूलाई निमोनिया बढी हुन्छ। स्याहारमा चुक्यो कि बालबाच्चहरूको अकालमै मृत्यु हुन्छ। यी कुरा माझी टोलका आमा र घरमुलीलाई थाहा हुँदैन। किनभने उनीहरू पढेका छैनन्। देशदुनियाँ पनि बुझ्न पाएका छैनन्। गर्भ पनि जाँच गराउन जाँदैनन्। 

‘दिनमा घास, दाउरा गर्थे, खाना खाएपछि व्यथा लाग्थ्यो। अनि बच्चा जन्मिन्थ्यो,’ ईश्वरी भन्छिन्, ‘अहिले पो हस्पिटलमा बच्चा जन्माउँछिन् आमाहरू। हाम्रो बेला के को हस्पिटल ? खेतबारी नै थियो हस्पिटल, काम गर्दागर्दै बच्चा जन्मिन्थ्यो।’

सन्तानसँगै आमाको पनि जान्छ ज्यान null

पूर्व—पश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढस्थित प्रहरी चौकीभन्दा उत्तरमा पर्छ, माझी टोल। जहाँका आमाहरूले महिनैपिच्छे शिशु गुमाउँछन्। घरपिच्छै अकालमै शिशु र बच्चाको ज्यान जाने घटनाले चिन्तित छन्, माझी समुदाय।

बिरलै भेटिन्छ, मिथिला नगरपालिका— १० लालगढस्थित माझी टोलमा आमाहरूले बच्चा नगुमाएको परिवार। एक जना सुत्केरी आमाले जीवनमा एक होइन, दुई होइन्, नौ– नौ जनासम्म शिशु गुमाएको कारुणिक व्यथा बोकेर बाँचिरहेकी छिन्। कतिपय अवस्थामा सुत्केरी आमाको पनि ज्यान गएको छ। ६१ वर्षीया ईश्वरी माझी भन्छिन्, ‘कतिले नौ वटासम्म गुमाए। अन्तमा सुत्केरी आमाको पनि मृत्यु भयो। नयाँ पुस्ताका आमाहरूले जन्माएका शिशुहरू २—४ महिनामै मृत्युवरण गरिरहेका छन्।’ ईश्वरीकै सात वटा शिशुको मृत्यु भएको थियो। हालै यो टोलमा एक ३ महिना र अर्को ४ महिनाकी शिशुको ज्यान गइसकेको छ।

शिशु स्याहारमा बढ्दो खेलाँची

माझी टोलकी ६० वर्षीया मैना माझीको व्यथा पनि उस्तै छ। उनले दुई छोरा र एक छोरीलाई जन्म दिइन्। एउटा छोरा डेढ वर्षको उमेरमै बिते। मैना भन्छिन्, ‘बिरामी भयो। हस्पिटल लाँदालाँदै मृत्यु भयो। ’

मैनाकी छोरी सुस्मिता माझी सुत्केरी छिन्। थोरै पढेकी र बच्चा स्याहार्नु पर्छ भन्ने जानकारी उनमा छ। त्यसैकारण सुस्मिता भन्छिन्, ‘राम्रो स्याहार नहुँदा माझी टोलका घरपिच्छे बच्चाहरूको मृत्यु भइरहेको छ।’ 

माझी टोलमा मदिरापानले ठूलो समस्या खडा गरेको सुस्मिताको भनाइ छ। जसले परिवारमा कलह बढाउँदै लगेको छ।

‘चिसो बढ्दो छ। बच्चाहरूको शरीरमा न्यानो लुगो छैन,’ उनी भन्छिन्, ‘ ओढने सिरक र ओछ्याउने डसना छैन। चिसोले बच्चाहरू बिरामी पर्छन्। ज्यान गइरहेको छ। यसो हुनु यहाँका लागि सामान्य भइसक्यो।’ बच्चाहरू स्याहार र पौष्टिक आहार नपाएर कुपोषित भइरहेको उनी सुनाउँछिन्।

माझी समुदायका लागि पनि सरकार छ कि ...? 

रोग, भोक, शोक, गरिबी र अशिक्षाले माझी टोली ग्रस्त छ। त्यसैकारण राम माझी भन्छन्, ‘माझीहरू यहाँ समस्यै समस्याले घेरिएका छन्। जब बस्तीवासीको सन्तानै बाँचिरहेको छैन, संसारै देख्न पाइरहेको छैन भने योभन्दा ठूलो समस्या अरू के होला ? ’ टोलमा बच्चा र तिनका आमाको ज्यान जोगाउन र भोक टार्न नै ठूलो चिन्ता हुने गरेको उनी सुनाउँछन्, ‘सब थोक पढाइ र कमाइ हो। त्यही चिज माझीसँग छैन। व्यवसाय छैन, कसैको जागिर पनि छैन। सबै ज्याला मजदुरी गर्ने हुन्।’ 

यो टोलमा औंलामा गनिनेले मात्रै कक्षा १२ पढेका छन्। पढेलेखेकाहरू कमाइ गर्न विदेश उडेका छन्। मृत्युका मुखबाट जोगिएका बच्चाहरू स्कुल जान्छन्। तर, पढाइ पूरा गर्न नसकिरहेको बस्तीका ६० वर्षीय कालुमान माझी बताउँछन्। ‘कोही पाँच पढ्छन्, बीचैमा छोड्छन्,’ उनी भन्छन्, ‘लुगाफाटो, किताब, कपी, कलम नभएर कोही स्कुलै जाँदैनन्। यहाँको वातावरण नै यस्तै भयो।’ आदिवासी माझी समुदायबाट लालगढमा दुनियाँ देख्ने कोही नहुँदा उनलाई चिन्ता लाग्छ। ‘कोही गाउँबाट निस्किन सकेनन्, हाम्रो समस्या हामीसँगै रह्यो, सरकारलाई सुनाइदिने कोही भएनन्, यस्तै कहिलेसम्म रहने हो...? ’ धनुषाको लालगढ माझी टोल, धनौजी, अजिंग्रेका माझीहरूले समस्या सुनाइदिने दूत खोजिरहेका छन्। भविष्यका लाल (बच्चा) बचाइदिने सर्वहारा सरकार खोजिरहेका छन्। 

बच्चाको ज्यान गएको गयै, स्वास्थ्य शाखा प्रमुख भन्छन्, ‘बालमृत्यु—शून्य’

माझी बस्तीमा बालबालिकाको लगालग ज्यान गइरहेको छ। तर, घर नजिकैको स्थानीय सरकारले पत्तो पाउँदैन। मिथिला नगरपालिका ढल्केवरका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारी भन्छन्, ‘हाम्रो नगरपालिकाभित्र बालबालिकाको मृत्युको संख्या शून्य छ।’ अर्थात् माझीसहितका बस्तीमा हुने बालबालिकाको मृत्युको कुनै रेकर्ड नगरपालिकासँग छैन। जबकि वडैपिच्छे जनप्रतिनिधि छन्, स्वास्थ्यचौकी, आमा समूह र स्वास्थ्य स्वय्सेविका छन्। उनीहरू के गरेर बसिरहेका छन् ? प्रश्न उठेको छ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभरिका पाँच वर्षमुनिका कुल जनसंख्याको ५.७ प्रतिशत बच्चाहरू कुपोषित छन्। हरिहरपुर, नक्टाझिज, ढल्केवर र बेंगाडाबरमा ओटिसी सेन्टर सञ्चालन गरिएको छ। पुष्पवलपुर र तुल्सीमा नयाँ सेन्टर खोल्ने तयारी भइरहेको भण्डारीले बताए। सेन्टरबाट कुपोषित बच्चाहरूलाई पोषित बनाउन तयारी पौष्टिक आहार वितरण गरिन्छ। शाखा प्रमुख भण्डारी भन्छन्, ‘खतरा अवस्थामा रहेका बच्चालाई पोषण पुनस्र्थापना केन्द्रमा उपचार गर्न पठाउँछौं।’

मिथिला नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सविनविक्रम थापाले पहाडी मूलका माझी समुदायमा पोषण र सचेतनाको कार्यक्रम व्यापक रूपमा सञ्चालन गरेको बताउँछन्। उनी भन्छन्, ‘२०७४ देखि कार्यक्रम सञ्चालन गरेर कुपोषित बच्चाको संख्या शून्यमा झारेका छौं।’ उनीहरूको रहनसहन र खानपान उदेकलाग्दो रहेको बताउँदै भने, ‘सबै गरिखाने मान्छेहरू छन्। केही परिवारहरू मद्यपानको लतमा फसेका छन्। यसले गर्दा बच्चाहरूको ज्यान जाने घटनाहरू भइरहेको छ। बच्चाहरू बितेको हामीलाई खबर हुँदैन। मिडियामार्फत नै थाहा हुन्छ।’

मधेसमा ८८,६९८ बालबालिकाको अकालमै निधन 

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा प्रजनन उमेरसमूह (१५—४९ वर्षसम्मका)का विवाहितले ३० लाख ५८ हजार ५ सय २६ जना बच्चा जन्माए। त्यसमध्ये ८८ हजार ६ सय ९८ (२.९) प्रतिशत) बच्चाको अकालमै ज्यान गएको छ।

४ लाख बालबालिकाको अकालमै गयो ज्यान 

मुलुकभर प्रजनन उमेरसमूह (१५—४९ वर्षसम्म)का विवाहित महिलाले हालसम्म १ करोड २७ लाख ९९ हजार ९ सय ६९ बच्चा जन्माए। जसमा ४ लाख ९ हजार ५ सय ९९ (३.२ प्रतिशत) बच्चाको अकालमै मृत्यु भएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा छ।

यो तथ्यांकले मधेससहित देशभरि बालबालिकाको मृत्युको संख्या अत्यासलाग्दो रहेको देखाउँछ। राष्ट्रिय जनगणना २०७८ तथ्यांकले नवजात शिशु र बालबालिका क्षेत्रमा सरकारले खन्याएको बजेट बालुवामा पानी झै भएको पुष्टि गरेको छ। ​​​​​​​

वीरे माझीका १० सन्तान बिते 

null

माझी टोलका वीरे माझीले १० वटा सन्तान गुमाइसके। नवौं सन्तानले पनि प्राण त्यागेपछि जेठी श्रीमती गोरीमाया बिरामी परिन्। उनी पनि बितिन्। वीरले नीता माझीसँग दोस्रो विवाह गरे। उनको कोखबाट पाँच सन्तान जन्मे। एक बच्चा सानैमा बितेको वीरे बताउँछन्। वीरेले जेठी श्रीमती र १० सन्तान गुमाएको बताउँछन्। ‘अब त अन्तिम त होला’ भन्दै मन बुझाउथें। तर, अप्रत्याशित मृत्युका खबर सुन्नुपथ्र्यो,’ उनी भन्छन्। ६२ वर्षको जीवनकालमा १२ पटकसम्म सन्तान विह्वल खेप्नु परेको उनको भनाइ छ। मंसिरको अन्तिम साता घरमै आ श्रय लिएकी नातिनी राधा पनि जन्मेको चार महिनामै बितेको उनले बताए। 

मंसिर अन्तिम साता बाख्रा गोठमा भेटिएका थिए, वीरे माझी। नातिनी गुमाएको पीडामै थिए, उनी। वीरे माझीले अन्नपूर्णसँग जीवनको एक एक दुःख बाँडे। पुत्र र जीवनसंगिनीको वियोगान्तका व्यथा पोखे। 

पुर्पुरोमा हात राख्दै उनले पीडाका घाउहरू सुसेले। पत्थर पग्लिने मनका कुरा सुनाए, ‘हाम्रो दुःख हामीसँगै छ, सरखारलाई हामीसँग गरिबसँग के मतलब ? 

नेतालाई हाम्रो दुःख र गरिबी भोट माग्ने बोली भइरहेको छ, हामी त्यही बोलीमा भोट खन्याइरहेका छौं। जिते पनि हारे पनि हाम्रो दुःखमा के नै भयो र ?’ उनको आँसु तरर झ¥यो। बोली रोकियो। बस्ती नजिकैको रातु र बडहरी खोलामा बर्खाको भेल बगेजस्तै, बगे ती पीडाहरू ! केही आँसुका डल्ला गरिबीको खाडलमा मिसिए, केही सन्तानको वियोगान्तमा बिलाए। 

घर नजिकै बडहारी खोला छ। जहाँ उनले सन्तानहरूको अन्तिम संस्कार गरेका थिए। अब यस्तो अवस्था कहिलेसम्म दोहोरिरहन्छ बारम्बार.. ? वीरेलाई थाहा छैन। वीरेलाई सन्तानहरूको लास गाडेको बडहरी खोला किनारले अत्याइरहन्छन्, घरीघरी। कहिले मध्यरातमा पनि। उही उत्तरविहीन प्रश्नहरूले प्रहार गरिरहन्छ, उनको जीवनमाथि, ‘कहिलेसम्म यसरी अकालमा मृत्युवरण गर्ने आफ्न्तको शव गाडिरहने ? ’

माटोमा मिलिसकेका। हावामा प्राणविलिन भइसकेका प्रियजनहरूको यादले सताउँछ, वीरेलाई। माया न हो, आफ्नै सन्तान न परे। पुराना बडहरी खोला किनारको बाटो हिँड्दा होस् वा घरबाट पूर्वपट्टि हेर्दा होस्, सन्तानको झझल्को आइहाल्छ वीरे माझीलाई। उनले सम्झिँदै १० वटै सन्तानको नाम एकएक गरी सुनाए,—छोरीहरू चाउरी, मनुमाया, काली, सेती। छोराहरू सन्तबहादुर, काले, कृष्णे, सोमे, बुद्धे, शुक्रे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.