कर्णालीमा पूर्वाधार धमाधम, चैतमा राष्ट्रिय खेलकुद उत्सव

कर्णालीमा पूर्वाधार धमाधम, चैतमा राष्ट्रिय खेलकुद उत्सव

वीरेन्द्रनगर : कर्णालीको राजधानी सुर्खेतमा चिटिक्कको रंगशाला देख्दा लाग्छ– अब त चैतमा राष्ट्रिय खेलकुद प्रतियोगिता कसो नहोला ? निर्माणको अन्तिम चरणमा पुगेको उक्त रंगशालाले १०औं राष्ट्रिय खेलकुदलाई निम्तो दिइरहेको छ। अर्थात्, १०औं राष्ट्रिय खेलकुद उत्सवका लागि कर्णाली तयार छ।

यसअघि मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा दशौं राष्ट्रिय खेलकुदको मिति तोकिएको थियो। तर, भौतिक संरचना र अरू तयारी नपुगेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ४ महिनापछि सार्‍यो। अर्थात्, चैत २३ देखि ३० गतेसम्मको मिति तोकिएको छ। अब भने निर्धारित मितिमा खेलकुद प्रतियोगिता सम्पन्न हुनेमा यस क्षेत्रका खेलकुदप्रेमी ढुक्क छन्। भौतिक संरचना निर्माणसँगै कर्णालीमा खेलाडीका लागि बन्द प्रशिक्षण सुरु गरिँदै छ।

चिटिक्कको रंगशाला 

कर्णालीले खेल पूर्वाधार निर्माणमा निकै फड्को मारेको छ। मुलुककै अति दुर्गम, विकटता र असुविधाले परिचित कर्णालीले पछिल्लो समय मुलुकमै उदाहरणीय खेल पूर्वाधार निर्माण गरिरहेको छ। त्यसैको तयारीका लागि विभिन्न खेलको बन्द प्रशिक्षण भइरहेका छन्। 

प्रदेश राजधानीमा निर्माण भइरहेको प्रदेश गौरबको आयोजना ‘प्रदेश रंगशाला’ को फिनिसिङको काम तीव्र रूपमा भइरहेको छ। प्रदेश राजधानी सुर्खेतमा बन्दै गरेको चिटिक्कको रंगशालाले यहाँको शोभा बढाएको छ। १ अर्ब ५९ करोडको लागतमा निर्माण सम्पन्न हुने चरणमा छ। यसले कर्णालीको समग्र खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आधार तयार गरेको छ। यो रंगशाला अन्तराष्ट्रिय खेल मापदण्डअनुसार बनाइएको प्रदेश खेलकुद परिषद्को भनाइ छ। प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिषामित्र संज्याल भन्छन्, ‘यो रंगशााला अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर बनाइएको छ। यहाँ १६ वटा खेलकुद प्रतियोगिता गराउन सकिन्छ।’

रंगशालामा १० हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको छ। यस्तै, रंगशालामा फुटबल मैदान, एथलेटिक्सका लागि चार सय मिटरको आठ लेन सेन्थेटिक ट्र्याक, पौडी पोखरी, भलिबल कर्भड हल, ह्यान्डबल, बास्केट बल कोर्ट, मार्सल आर्ट खेलका लागि कभर्ड हल बनेका छन्। 

यस्तै, चेन्जिङ रुम, शौचालय, मेडिकल रुम, फिजियो, रेफ्रीका लागि रुमलगायत सुविधासम्पन्न मिडिया सेन्टर बनाइएको छ। यस्तै, वीरेन्द्रनगरको चिसापानीमा फुटबल मैदान, कालिन चोकमा क्रिकेट मैदान र रग्बी मैदान निर्माण भएका छन्। 

२४ खेल कर्णालीमा 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २४ वटा खेल कर्णालीमा आयोजना गरिँदैछन्। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव संज्याल भन्छन्, ‘१६ वटा खेल सुर्खेतमा र ८ वटा खेल कर्णालीका अन्य जिल्लामा आयोजना गरिनेछन्।’ त्यसका लागि हुम्लामा ७० लाख लागतमा हक्की मैदान, मुगुमा दुइटा कबडी मैदान, जुम्लामा भलिबल प्याराफिट, दैलेख र रुकुमपश्चिममा कबर्डहल मर्मत, रुकुमपश्चिम चौरजहारीको पातिहाल्नामा क्रिकेट मैदान निर्माणका लागि ठेक्का भइसकेको छ। यस्तै, चौरजहारी रंगशाला निर्माणका लागि पनि ठेक्का भइसकेको छ। कर्णालीमा १०औं राष्ट्रिय खेलकुद आयोजना हुने भएपछि कर्णालीमा खेल पूर्वाधार निर्माणले गति पाएको हो। प्रतियोगिताका लागि आउने खेलाडी तथा दर्शकलाई वीरेन्द्रनगरमा बसोबासको समस्या नहोस र अन्य जिल्लामा पनि खेल पूर्वाधार बनुन भनेर सबै जिल्लामा खेल पूर्वाधार निर्माण गरिएको सचिव संज्यालले बताए। 

प्रतियोगितामा कर्णाली प्रदेशका मात्रै ५ सय ५० खेलाडी सहभागी हुनेछन्। सदस्य सचिव संज्याल भन्छन्, ‘खेलाडीको बन्द प्रशिक्षणको तयारी भइरहेको छ।’ मंसिरमा प्रतियोगिताको मिति तोकिएपछि गत वैशाखबाटै प्रशिक्षण सुरु गरिएको थियो। ‘त्यतिबेला प्रतियोगिता हुने निश्चित नभएकाले बीचमा प्रशिक्षण रोकियो,’ संज्याल भन्छन्, ‘चैतमा प्रतियोगिता हुने निश्चित भएकाले पुनः सुरु गर्ने तयारीमा छौं।’ घरेलु मैदानमा १०औं राष्ट्रिय खेलकुद हुन लागेकाले कर्णालीले २ अंकको स्वर्णपदक ल्याउने गरी तयारी भइरहेको संज्यालले बताए। 

कहाँ कुन खेल ? 

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली जुटेको छ। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव संज्यालले भन्छन्, ‘१०औं खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि सबै हिसाबले तयार भइसकेका छौं। यो रंगशालामा हामीले फुटबल, एथलेटिक्स, पौडी, ह्यान्डबल, बास्केटबल, कराँते, तेक्वान्दो, उसु, व्याडमिन्टन, बाक्सिङ लगायतका १६ ओटा खेलहरू खेलाउने छौं। बाँकी खेलहरू अन्य जिल्लाहरूमा खेलाइनेछ।’ 

कुल ३५ खेलमध्ये कर्णालीमा २४ ओटा खेल खेलाउन सकिने अवस्था छ। उनले भने, बाहिरी जिल्लामा पूर्वाधार र वासस्थानको अवस्था हेरेर खेल खेलाउने प्रस्ताव गरिएको छ। त्यसैअनुसार हुम्लामा हक्की खेल खेलाइने छ। जुम्लामा कराँते खेल खेलाउन राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्ताव गरिएको छ।

यस्तै, कालीकोटमा फुलकन्ट्याक्ट कराँते, रुकुमपश्चिममा आईपीएफ तेक्वान्दो, सल्यानमा टेबलटेनिस, दैलेखमा कबड्डी खेल खेलाउन प्रस्ताव गरिएको छ। वीरेन्द्रनगरमा बसोबासलाई चुनौतीपूर्ण मानिएकाले अरू जिल्लामा विभिन्न प्रतियोगिता आयोजना गरेर सहज बनाउने तयारी छ। बसोबास व्यवस्थापनका लागि केही खेलहरू उद्घाटनभन्दा अगाडि नै सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा आयोजना हुने दशांै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकारले पनि व्यापक चासो दिएको बताए। उनले भने, ‘कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न प्रदेश सरकार पनि लागि परेको छ।’ प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १० हजार जतिको सहभागिता रहने प्रदेश खेलकुद परिषद्ले जानकारी गराएको छ। मन्त्री भण्डारीले प्रतियोगिताको मूल आयोजक संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय खेलकुदपरिषद् रहेको बताउँदै चैतमा आयोजना गर्ने भनेर गरिएको निर्णयअनुसार नै प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए। 

बजेटकै अभाव 

खेलकुद क्षेत्रमा कर्णाली सबैभन्दा पछि छ। खेलकुदका पूर्वाधार हेर्ने हो भने पनि नै पछाडि नै थियो। तर, पछिल्ला बर्ष कर्णालीले खेल पूर्वाधार निर्माणमा निकै सफलता हासिल गरेको छ। कर्णालीमा प्राप्त गुणस्तरीय पूर्वाधार र निरन्तर अभ्यासको अभावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कर्णाली पुछारमा परेको थियो। खेलकुदको विकास निर्माणमा सबैभन्दा पछाडि परेको यो क्षेत्रमा पछिल्लो समय निर्माण भएका केही नमुना खेलकुद पूर्वाधारसँग केही खेलाडीहरूले कमाएको चर्चाले कर्णाली खेल्दो छ भन्ने सन्देश दिएको छ। 

प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषद्का नाममा दैलेखमा १ हजार ५ सय ४० बर्गमिटर, रुकुममा २० रोपनी, र डोल्पामा २७ रोपनी जग्गा दर्ता छ। यहाँ पूर्वाधार बनाउनका लागि ठाउँ प्रशस्त छ। तर, पूर्वाधार बनाइएको छैन्। अहिले बनेका संरचनाका साथै थप पूर्वाधार निर्माण जरुरी छ।’

कर्णालीमा प्रशिक्षक र खेलकुद क्षेत्रमा बजेट निकै कम छ। बजेट अभावकै कारण खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ छ। जुन विधाका प्रशिक्षक छन्, ती खेलमा मात्र राम्रा खेलाडी उत्पादन भएका छन्। भलिबलका राष्ट्रिय खेलाडी खेमराज गिरी भन्छन्, ‘सरकारले माग गरे जति बजेट नदिँदा नियमित खेल प्रतियोगिता आयोजना गर्न समस्या बेहोरीरहेका छौं । बजेट अभावका कारण कतिपय बाहिर प्रदेशमा आयोजना हुने प्रतियोगिताहरूमा खेलाडीहरूलाई सहभागी गर्न नसकेका पनि उदाहरणहरू छन्। कर्णालीमा हिमाली–पहाडी जिल्लामा रहेका खेलाडीहरू ल्याउँदा पठाउँदा यातायात र बाटो खर्चमै ठूलो रकम खर्च हुन्छ। तर, हामीकहाँ पर्याप्त बजेट हुँदैन। त्यसका बाबजुद पनि कर्णालीमा बिभिन्न खेलमा चर्चा बटुल्ने खेलाडीहरू जन्मिरहेका छन्। 

जिल्ला खेलकुद विकास समिति कालीकोटका अध्यक्ष गणेशबहादुर शाहीले कर्णालीका दुर्गम जिल्लामा उसु, कराते, तेक्वान्दो, एथलेटिक्स, फुटबल, क्रिकेट लगायतका खेलका प्रशिक्षक नै नहुँदा खेलाडी उत्पादन गर्न समस्या भइरहेको बताए। ‘बाहिरबाट प्रशिक्षक ल्याउनका लागि पर्याप्त बजेट सरकारले दिँदैन,’ उनी भन्छन्, ‘जिल्लामै प्रशिक्षकहरू नपाउनु दुर्गम जिल्लाको समस्या हो। जसका कारण कर्णालीले उत्कृष्ट खेलाडी जन्माउने अवसर गुमाइरहेको छ। प्रशिक्षक र खेलाडीको जीवनयापनमा समस्या छ। खेलाडीका लागि छात्रावास, आवासगृह, तालिम स्थल छैन, जीवननिर्वाह भत्ताको व्यवस्था हुन जरुरी छ। सरकारले कम्तीमा खेलाडीहरूलाई जीवननिर्वाह भत्ता दिन सके भएका खेलाडी पलायनको समस्या पनि समाधान हुन्थ्यो कि।’

बजेट अभावले केही आयोजना अझै अलपत्र 

बजेट अभावका कारण कतिपय जिल्लामा रंगशाला निर्माणका योजनाहरू अलपत्र परेका छन्। रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा अत्याधुनिक रंगशाला निर्माणका लागि डीपीआर भएको वर्षौं भयो। ०७७-०७८ सालदेखि रंगशाला निर्माणको काम थालिएपनि हालसम्म अलपत्र अवस्थामै छ। रंगशालाको डीपीआरअनुसार २८ करोड १० लाख रुपैयाँको लागत अनुमान गरिएको थियो। ८७ लाख रुपैयाँ खर्च भएको उक्त रंगशाला अहिले अलपत्र छ। यस्तै कालिकोटको रास्कोटमा पनि रंगशाला निर्माण गर्ने भनेर काम थालियो। 

कर्णालीमा हिमाली–पहाडी जिल्लामा रहेका खेलाडीहरू ल्याउँदा पठाउँदा यातायात र बाटो खर्चमै ठूलो रकम खर्च हुन्छ। तर, हामीकहाँ पर्याप्त बजेट हुँदैन। खेमराज गिरी, भलिबल राष्ट्रिय खेलाडी 

तर, रंगशाला निर्माणको काम आधाउधी भएर अलपत्र पारियो। रास्कोट रंगशाला ०७८-०७९ मा विनियोजन भएको ५० लाख रुपैयाँ बजेट उपभोक्ता विवादका कारण फ्रिज भएको थियो। आर्थिक वर्ष ०७५-०७६ मा १ करोड र ०७६-०७७ मा थप १ करोड गरी २ करोड खर्च भइसकेको रंगशाला निर्माणमा सुरुदेखि नै दलीय उपभोक्ता समिति बन्ने होडबाजीले गर्दा विवादको शिकार भयो। अहिलेसम्म पनि उक्त रंगशाला निर्माण भएको छैन्। पानी जम्ने, हिलो, धुलो, ढुंगा भएको र खाल्डाखुल्डी भएको मैदानमा जिल्ला स्तरीय प्रतियोगिता र अभ्यास गर्नुपरेको स्थानीय खेलाडी खेमराज गिरी बताउँछन्। 

रुकुमपश्चिम मुसिकोट–२ पानीढुंगामा एक दशकअघि थालिएको रंगशाला निर्माणको काम पनि अलपत्र छ। ११ वर्ष पहिला संसद् विकास कोषमार्फत करिब ६५ लाख रुपैयाँ खर्च गरी रंगशालाको काम सुरु भएको थियो। हाल अर्को चौरजहारी नगरपालिका–२ मा प्रादेशिक रंगशाला निर्माणको योजना अघि सारिएको छ । झन्डै ८५ करोड रुपैयाँ लागत स्टिमेटसहित बहुवर्षीय योजनाका रूपमा रंगशाला निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रियामा रहेको छ। जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया चलिरहेका कारण उक्त रंगशालाको निर्माण कार्य सम्झौतामा ढिलाइ भएको प्रदेश खेलकुद परिषद्ले बताएको छ। 

यस्तै, दैलेखमा ०६६ सालमा नारायण नगरपालिका–२ मा रंगशाला निर्माणको काम थालनी गरिएको थियो। जिल्ला खेलकुद विकास समितिले माल्ली वन उपभोक्ता समितिसँग रंगशाला निर्माणका लागि ३ रोपनी जग्गा ५ लाख रुपैयाँमा किनेको थियो। तर, समितिले जग्गा किनेपनि रंगशाला निर्माण हुन् सकेन। हालसम्म रंगशालाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन्। सुविधासम्पन्न खेल मैदान बन्न नसक्दा यहाँ खेलाडीले विगतदेखि नै विद्यालयका असुरक्षित चौरमा नै गएर खेल अभ्यास गर्न बाध्य छन्।

बढ्दै खेलकुद गतिविधि 

पछिल्ला वर्षमा कर्णालीमा खेलकुदका गतिविधिहरू बढ्दै छन्। ०७९ साल फागुन १४ र १५ गते नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा सुर्खेतमा आयोजना गरियो। जसमा झन्डै १ सय प्रतिनिधिले क्यानको आगामी कार्ययोजनाबारे छलफल गर्दै घोषणापत्रसमेत जारी गरे। त्यस्तै ०८० साल पुस १६ देखि २० गतेसम्म कर्णाली प्रदेश ब्याटमिन्टन संघको आयोजनामा पहिलोपल्ट व्याटमिन्टन अम्पायर प्रशिक्षण तालिमको आयोजना गरियो। जसबाट कर्णालीभरि ३५ जना अम्पायर उत्पादन भए।

गत वर्षकै पुस २० गतेदेखि पुस २६ गतेसम्म कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरियो। झन्डै २५ वर्षपछि सुर्खेतमा आयोजना भएको उक्त प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलहरूको सम्पूर्ण खर्च कर्णाली प्रदेश सरकारले व्यहोरेको थियो। जसमा ७ प्रदेश र ३ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए। ०५५ सालमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबल सुर्खेतमा खेलाइएको थियो। तर त्यसपछि लामो समयसम्म भलिबलका राष्ट्रियस्तरका प्रतियोगिता कर्णालीमा हुन सकेका थिएनन्।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न प्रदेश सरकार पनि लागि परेको छ। चैतमा जसरी पनि खेलकुद प्रतियोगिता गर्नै पर्छ। घनश्याम भण्डारी,सामाजिक विकासमन्त्री,कर्णाली प्रदेश  

यस्ता धेरै प्रतियोगिताहरू निरन्तर भइरहेका छन्। प्रदेश खेलकुद परिषद्का अनुसार ती सबैजसो प्रतियोगिता र कार्यक्रम १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै भइरहेका हुन्। कर्णालीले यसै वर्षको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी पाएको छ। कर्णाली प्रदेशका १० जिल्लामा राखेपको नाममा करिब ५० रोपनी जग्गा छ। उक्त जग्गामा खेलपूर्वाधार निर्माणको काम नहुँदा खेलाडी उत्पादनमा समस्या भइरहेको छ। 

केन्द्रको बेवास्ता, प्रदेशको लगानी

कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरे पनि यहाँका खेल पूर्वाधारमा लगानी गर्न केन्द्र सरकार भने उदासीन देखिएको छ। केन्द्रले कर्णालीको खेलपूर्वाधार निर्माणको क्षेत्रमा प्रयाप्त लगानी नगरेपनि प्रदेशले भने सक्दो लगानी गरिरहेको छ।

‘१०औं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने भन्ने, तर कर्णालीलाई लगानी गर्न बजेट नदिने गरेपछि त राज्यले उपेक्षा गरेको बुझ्नुपर्‍यो,’ प्रदेश खेलकुदपरिषदका सदस्य सचिव संज्यालले भने, कर्णालीले मात्र यसमा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्नु नै उपेक्षा गरेको हो। नवौं राष्ट्रिय खेलकुदसम्म आइपुग्दा अरू प्रदेशमा संघीय सरकारले हरेक कुरामा सहयोग गरेको थियो। कर्णालीमा मात्र पूर्वाधार निर्माण गर्नका लागि बजेट विनियोजन गर्न संघीय सरकारले चाहेन। प्रदेश सरकारले देखाएको सक्रियताका कारण कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने आँट देखाएको हो। अब प्रतियोगिताका लागि हुनुपर्ने तयारी पनि सबै पुगिसकेको छ।’

प्रदेश सरकारले प्रदेश रंगशालाबाहेक अन्य जिल्लाका खेल पूर्वाधारहरूमा पनि उत्तिकै लगानी गरेको छ। गत आर्थिक वर्षमा जुम्लाको राजा सीम खेलमैदान स्तरोन्नति गर्न ५० लाख खर्च गरेको थियो। यस्तै रूकुमपश्चिमको चौरजहारी नगरपालिकामा रहेको पातिहाल्नमा क्रिकेट मैदान निर्माणका लागि ९४ लाख १७ हजार खर्च भयो। पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापनका लागि २ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो।यस्तै, चालु आर्थिक बर्षमा हुम्लामा हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालीकोटमा कभर्ड हल निर्माणका लागि ६० लाख, दशौं राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेलमैदान मर्मत तथा सुधारका लागि २ करोड, सुर्खेतको चिसापानी खेल मैदान निर्माणका लागि २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख, कालिञ्चोक खेलमैदान निर्माणका लागि २५ लाख, रूकुम पश्चिमको चौरजहारी क्रिकेट मैदान निर्माणका लागि ६० लाख, जिल्लास्तरीय खेलमैदान निर्माणका लागि २ करोड, जाजरकोटको कुदुस्थित रंगशाला निर्माणका लागि १५ लाख रुपैयाँ प्रदेश सरकारले बजेट छुट्ट्याएको छ।

कर्णाली पनि खेल्छ

नेपाली खेलकुदमा विश्व कीर्तिमान कायम गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी कर्णालीमा छन्। ती सबै खेलाडीहरू आफ्नो कडा मेहनत र परिश्रमले गर्दा त्यो ठाउँमा पुगेका हुन्। कुनै बेला फुटबल र क्रिकेटको मैदानै नदेखेका तर पढाइको सिलसिलामा प्रदेश बाहिर जाँदा खेल क्षेत्रमा चासो राखी उदाएका कैयौं खेलाडीहरू छन्। जसले देशमै चर्चा कमाइरहेका छन्। 

प्रदेश रंगशााला अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर बनाइएको छ। यहाँ १६ वटा खेलकुद प्रतियोगिता गराउन सकिन्छ। विषामित्र संज्याल, सदस्य सचिव, प्रदेश खेलकुद विकासपरिषद् 

क्रिकेटको उत्सव नेपाल प्रिमियर लिग (एनपीएल) भइरहँदा देशमा जताततै क्रिकेटको चर्चा भयो। त्यसमा कर्णालीका १६ वर्षे किशोर विपिन शर्माको चर्चा पनि चुलियो। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको फ्रेन्चाइज लिग एनपीएलमा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने टिम कर्णाली याक्सलाई क्वालिफायर दुईसम्म पुर्‍याउन स्थानिय खेलाडी विपिनले त्रिवि मैदान कीर्तिपुरमा स्वदेशीदेखि विदेशी दिग्गज ब्याटरलाई आफ्नो स्पिनको जादुमा नचाए। कर्णालीमा क्रिकेट मैदान नै नभएका बेला उदायका यी युवा खेलाडीले देखाएको खेल हेर्दा जोकोहीको मन पनि क्रिकेटमा लाललिय भयो। 

सुर्खेतको भेरीगंगा नगरपालिकाका १६ वर्षे विपिनले क्रिकेट खेल्न थालेको धेरै भएको छैन। दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित विपिनले बल र ब्याट समाउन थालेको चार वर्ष पुग्यो। स्कुल बिदा हुनेबित्तिकै दाजुको साथ लागेर मैदान पुग्थे विपिन। भेरीगंगा नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत विपिनले क्रिकेट र पढाइलाई सँगसँगै अघि बढाइरहेका छन्। बुवा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा होटल व्यवसाय गर्छन्। कक्षा ८ मा पढ्दै गरेका विपिन होटलमा बुवा–आमालाई सघाउँदै फुर्सदको समयमा क्रिकेट सिक्न जान्थे। पछिल्लोपटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेतबाट खेलेका उनी दुईपटक म्यान अफ दि म्याच भए। उनै विपिनले कर्णाली याक्सबाट एनपीएलमा सानदार प्रदर्शन गरे। 

३५ वर्षअघि एभरेष्ट म्याराथनमा प्रथम भएर विश्व कीर्तिमान कायम गर्न सफल जुम्लाका हरिबहादुर रोकाया अहिले पनि प्रशिक्षकका रूपमा सक्रिय छन्। उनले ०४५ र २०४६ सालमा एथ्लेटिक्समा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी बनेर स्वर्ण पदक प्राप्त गरेका थिए। ३५ वर्षअघिका कीर्तिमानी धावक हरिबहादुर र अहिलेका कामना, सुनमायासँगै थुप्रै खेल प्रतिभाहरू कर्णालीमा जन्मिए। सुर्खेतकै मैदानमा खेलेर फुटबलतर्फ रोशन रानामगर, सन्दीप गुरुङ, करातेतर्फ प्रकाश खड्का, प्रियङ्का शाही, एलिसा रास्कोटी र दैलेखका हिक्मत रोकाले राष्ट्रिय खेलाडीको पहिचान बनाए। भारत्तोलनतर्फ सुर्खेतकै श्रुति कार्की र उसुतर्फ दीपक हमालले स्वदेश र विदेशमा भइरहेका विभिन्न प्रतियोगितामा पदक जिते। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.