नगरपालिकामा लगाएको ताला खुल्यो
उदयपुर : चार दिनअघि उदयपुरको बेलका नगरपालिकाको प्रशासनिक भवनमा लगाइएको ताल खोलिएको छ। नगरपालिका र आन्दोलनरत पक्षबीच आइतबार सहमति भएसँगै ताला खुलेको हो।
नक्कली कर्मचारी राखेको विषयमा छानविन गरी कारबाही गर्ने सहमति पछि पालिकामा लगाइएको ताला खुलेको हो। नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको गत पुस ७ गते प्रकाशित परीक्षाको अन्तिम नतिजा अनुसार करार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएपछि नेकपा एमाले बेलकाले कर्मचारीको लापरबाहीका कारण नक्कली व्यक्तिलाई हाजिर गराएको भन्दै तालाबन्दी गरेको थियो।
आइतबार भएको नगरपालिका र आन्दोलनरत पक्षको वार्ताले पाँच बुँदे सहमति गर्दै ताला खोल्ने सहमति जनाएको हो। नगरपालिका र असन्तुष्ट पक्षको वार्ताले रोजगार सहायक (सेवा करार) पदपूर्तिको विषयमा भएको कर्मचारीको गम्भीर लापरबाहीलाई छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगरुन्जेलसम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने निर्णय समेत गरेको छ।
दुई पक्ष बीच भएको सहमतिमा भनिएको छ; ‘घटनाका विषयमा छानबिन गर्न उपप्रमुखको संयोजकत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी दिएकाहरुले माथि कारबाहीको प्रक्रिया अघि बढाउने छ।’
प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृतका विषयमा घटनाका बारेमा छानबिनमा समितिको प्रतिवेदन नआउँदासम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने सहमतिमा उल्लेख छ। छानबिनको प्रतिवेदन आएपछि छानबिन समिति र दुवै तर्फका वार्ता टोलीको बैठक बसी समस्या समाधानका विषयमा पुनः छलफल गरि निर्णय गरिने बताइएको छ।
छानबिन प्रक्रियालाई थप प्रभावकारी बनाउन छानबिन समितिमा विज्ञ सदस्यका रूपमा आन्दोलनरत पक्षका तर्फबाट शिवकुमार राई र तेजमान विकलाई जिम्मेवारी दिने र अन्य विविध विषयहरूमा छलफललाई निरन्तरता दिँदै कार्यालयको ढोकामा लगाइएको ताला खोली कार्यालयको दैनिक सेवा प्रवाहलाई सहज गर्ने सहमति गरिएको छ।
तालाबन्दीपछि नगरपालिकाले शुक्रवार नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राई, नौ वटै वडाका वडाध्यक्ष सहितको बैठकबाट उपप्रमुख राईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो। समितिमा वडा नम्बर ३ का अध्यक्ष टंक आचार्य र वडा नम्बर ९ का अध्यक्ष भरत घिमिरे रहेका छन्।