छिमेकबाट फैलिँदै ह्युमन मेटान्युमो भाइरस
काठमाडौं : चीनबाट फैलिएको नयाँ भाइरस ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) को संक्रमण विस्तारले त्रास बढाएको छ। छिमेकी भारतमा तीन जना बालबालिकामा एचएमपीभी भाइरस संक्रमणको पुष्टि भएको छ।
श्वास–प्रश्वासबाट फैलने एचएमपीभी भाइरसको संक्रमणको तौरतरिका कोभिड–१९सँग मिल्दोजुल्दो रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। संक्रमितले खोकी एवं हाँच्छ्यु गर्दा र संक्रमितसँग हात मिलाउने तथा लुगाफाटोको प्रयोगले एचएमपीभी भाइरस संक्रमण फैलिरहेको पाइएको छ। सरकारी तवरबाट पूर्वतयारीमा जुट्नका लागि पूर्वजनस्वास्थ्यविज्ञहरूले सुझाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सदस्य राष्ट्रहरूलाई भाइरस संक्रमणको जोखिमप्रति सचेत रहन आग्रह गरिसकेको छैन। यद्यपि, खुला सीमा र निर्वाध आवतजावतका कारण नेपाल पनि एचएमपीभी भाइरसको जोखिम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘छिमेकी मुलुकहरूका एचएमपीभी संक्रमण पुष्टि भइसकेको छ। हामी जोखिममा छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बुढाथोकी भन्छन्, ‘ढिलोचाँडो नेपालभित्र पनि भाइरस देखिन सक्छ। भाइरसलाई फैलाउने कि नफैलाउने वा जटिल बन्न दिने÷नदिने नेपाली जनतामै भर पर्छ।’
भारतमा कर्नाटक, गुजरात र बैंगलोरमा तीन जना बालबालिकामा संक्रमण पुष्टि भएको पाइएको छ। संक्रमितहरू विदेशमा यात्रा नगरेको पाइएको छ। यद्यपि, आन्द्र प्रदेश सरकार, कर्नाटक स्वास्थ्य विभागलगायतले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ जस्तै एक व्यक्तिबाट अर्कोमा सर्ने जोखिम रहे पनि आत्तिहाल्नु नपर्ने जनाएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जाडो मौसममा श्वासप्रश्वासको संक्रमण उच्च भएको उल्लेख गर्दै चीनमा यात्रा कुनै जोखिम नरहेको जनाएका छन्।
चीनमा पुस महिनाको पहिलो सातादेखि नै संक्रमण फैलन थालेको सञ्चारमाध्यमहरूले जनाएका छन्। बालबालिका, ज्येष्ठ नागरिक र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा संक्रमण बढी पाइएको छ।
कसरी फैलन्छ ?
भाइरस सामान्यतया खोक्दा र हाछ्युँ गर्दा फैलिन्छ। यसबाहेक संक्रमित व्यक्तिलाई छोएपछि पनि यो भाइरस सर्ने गरेको पाइएको छ। भाइरस संक्रमण भएको ५ दिनभित्र लक्षण देखिने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
एचएमपीभी भाइरस संक्रमितले हाँच्छ्यिुँ गर्दा होस् वा खोकी लाग्दा नजिकै रहेको व्यक्तिमा भाइरस संक्रमणको जोखिम हुने जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। संक्रमितले छोएको कुनै वस्तुलाई छोएमा समेत अर्को व्यक्तिमा भाइरस संक्रमणको जोखिम हुन्छ।
घरबाहिर निस्कँदा मास्क लगाउन जनस्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी पनि सुरक्षात्मक उपाय अपनाउनुपर्ने सुझाव दिन्छन्। ‘जनस्वास्थ्यको मापदण्ड पालना गरिरहनु पर्छ,’ डा. बुढाथोकी भन्छन्, ‘मास्क लगाएर हिँड्डुल गर्नुप¥यो। भीडभाडमा जानुभएन।’ डा. बुढाथोकीका अनुसार, भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय भनेको मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र पटक–पटक साबुन पानीले हातधुने नै हो।
कस्तो हुन्छ लक्षण ?
खोकी लागिरहेको वा ज्वरो आएका व्यक्तिमा एचएमपीभी भाइरसको संक्रमण भएको हुन सक्छ। डा. बुढाथोकी भन्छन्,’ यो भाइरस आफैं आउँदैन। कतै न कतैबाट हाम्रै घरपरिवारका सदस्य, आफन्त वा साथीभाइले भाइरस लिएर आउने हो। संक्रमण फैलाउन सक्ने भएकाले पनि हामी सतर्क र सचेत हुन आवश्यक छ।’
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एचएमपीभीसँग सम्बन्धित सामान्य लक्षणहरूमा खोकी लाग्ने, ज्वरो, नाक बन्द हुने र सास फेर्न गाह्रो हुन्छ।
यो भाइरसले बिरामीलाई निमोनिया र ब्रोन्कियोलाइटिस जस्ता गम्भीर रोगबाट पनि ग्रस्त पार्ने डा. मरासिनी बताउँछन्। एचएमपीभी भाइरसविरुद्ध अहिलेसम्म कुनै खोप बनेको छैन। संक्रमितहरूले चिकित्सकको सल्लाहमा लक्षणका आधारमा औषधि उपचार गराइरहेका छन्।
१० वर्षअघि नै थियो भाइरस
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार, एक अनुसन्धानका क्रममा एचएमपीभी भाइरस यसअघि नै नेपालमा पाइएको पुष्टि भएको थियो। घाँटीबाट लिइएको स्वाब परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको थियो।
‘नेपालको सन्दर्भमा एचएमपीभी भाइरस नौलो होइन,’ डा.मरासिनी भन्छन्, ‘अहिले फैलिरहेको एचएमपीभी भाइरसको प्रजाति के कस्तो हो ?
त्यसमा अध्ययन अनुसन्धान जरुरी छ।’ सन् २०१४ मा एचएमपीभी भाइरसको एक प्रजाति नेपालमा रहेको पुष्टि भएको थियो।
अहिले फैलिरहेको प्रजातिको विषयमा थप अनुसन्धान गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्। ‘बाहिर निस्कँदा मास्क लगाउनुपर्ने जीवनशैली बनाउनुपर्छ,’ जनस्वास्थ्य विज्ञ डा. मरासिनी भन्छन्,’ सदाबहार रूपमा भौतिक दूरी कायम गर्नुपर्ने देखियो। साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्नुपर्छ। सरकारले पनि सीमानाकाहरू र विमानस्थलहरूमा विशेष निगरानी गर्नुपर्ने जरुरी छ।’