कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान : पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर

कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान : पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । 

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको बताइएको छ । 

‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो,’ प्रतिवेदनमा उल्लेख छ, ‘खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ ।’

प्रतिवेदन अनुसार त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ । 

गत आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको प्रतिवेदनमा छ । यद्यपी, विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको तथ्यांक कार्यालय उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिए । 

मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धि वृद्धिदर
चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रतिवेदनमा छ ।

प्रतिवेदनअनुसार जसमध्ये विद्युत् तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४%) रहेको छ । यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ ।

प्रतिवेदनअनुसार निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ । प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । अर्कोतर्फ, चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

कृषि, वन तथा मत्स्य क्षेत्रका ३ प्रतिशत 
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे वालीहरू र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिएको प्रतिवेदनमा छ ।

‘समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यद्यपि, वर्षायामको बाढी र पहिरोले पुर्याएको क्षतीका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुनसकेन ।’ 

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आर्थिक वर्षमा २०८१/८२ को प्रथम त्रैमासिकमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको प्रतिवेदनमा उल्लेख छ । यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर २.३ प्रतिशतले धनात्मक रहन गएको छ । 

गत आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण यो क्षेत्रको वृद्धि सुधारोन्मुख रहन गएको प्रारम्भिक अनुमान गरिएको प्रतिवेदनमा छ । यस त्रैमासमा शिक्षामा ०.४ प्रतिशत, स्वास्थ्यमा ४.१ प्रतिशत, घरजग्गा कारोबारमा ३.१ प्रतिशतलगायतका सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको उल्लेख छ । 

नेपालको आर्थिक वृद्धिदर विगतमा कहिले बढ्ने, कहिले घट्ने गरेको भए तापनि आर्थिक वर्ष २०७९/८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिएको प्रतिवेदनमा छ । 

मौसमी प्रभाव समायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धि वृद्धिदर 
मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा गत आर्थिक वर्षको चौथो त्रैमासिक (वैशाख, जेठ र असार) को तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को प्रारम्भिक अनुमान अनुसार प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये १२ वटाको उत्पादन बढेको देखिएको प्रतिवेदनमा छ । छ वटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिएको छ । प्रतिवेदन अनुसार विद्युत् तथा ग्याँस क्षेत्रमा सबैभन्दा बढी ८.५ प्रतिशत वृद्धि हुनेछ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.