१०औं राष्ट्रिय खेलकुद तयारीका लागि सचिवालय स्थापना
काठमाडौं : कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको गरिएको छ। राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १०औं राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ।
राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १०औं राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए।
उनले राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्यरूपमा सम्पन्न गर्ने जिकिर गरे। मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरू सक्रिय नरहेको अवस्थामा संघलाई कारबाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरूलाई कुनै असर नपर्ने बताए।
त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुर्याएको बताए। प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी दिए।
१०औं राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढिको संख्यामा टोली र खेलाडीहरूलाई सहभागिता गराउने राखेपले जनाएको छ।