एक्लै निर्वाचन जितेर देखाउन अखिललाई प्रधानमन्त्रीको निर्देशन

एक्लै निर्वाचन जितेर देखाउन अखिललाई प्रधानमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीबिना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी संगठन अनेस्ववियुलाई आग्रह गरे। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरूको वैशाखी नटेकी आफैं दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे। अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र महान् सफलता हासिल गर्न शुभकामना दिए। ओलीले आफ्नो पार्टीमा युवा छैनन् भनेर प्रचार गरिएको भन्दै त्यसको जाँच आगामी स्ववियु चुनावबाट गर्नुपर्ने बताए। फागुन १५ गते हुने स्ववियु चुनावमा कोसँग युवा छन् भनेर एमालेले प्रमाणित गर्नुपर्ने बताए। 

‘मैले हाम्रो युवा पुस्तामाथि विश्वास गरेको छु। एउटा कुरा सावित गर्नु छ एमालेले यसपल्ट, एमालेसँग युवा छैनन्,’ उनले भने, ‘कोसँग युवा रहेछन् फागुन १५ गते जाँची हेरौं। पञ्जा लडाइँ हेरौं फागुन १५ गते, को सँग युवा रहेछन् ?’

उनले केही ‘फुकेको बेलुनजस्तो आकार भएका संगठन’ र प्रचारसँग नडराउन समेत विद्यार्थीलाई आग्रह गरे। ओलीले भने, ‘केही न केहीको संगठन छ। अर्काले फुकिदिएको भरमा पुक्क बेलुनजस्तो भएका। त्यसकारण फुकेको बेलुनको आकार भएकासँग डराउनु पर्दैन। प्रचारको आकारसँग पनि डराउनु पर्दैन। १०–२० जना छन्। फुक्याफुक्यै गर्छन्। त्यत्ति हो। हामी लाखौंं छौं।’ एमाले कसैको नीति मानेर मिल्न तयार नहुने भन्दै मिल्न मन हुनेहरूलाई एमालेसँग मर्ज हुने आग्रह गरे। ओलीले भने, ‘हामी आफ्नो पार्टी विस्तार गर्छौं। कोही आउँछ भने मिल्न आउँदा हुन्छ। मर्ज गर्न आए हुन्छ। नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा नीति अलिकति मान भनेर भन्ने। अनि संगठनमा योग्यता नभएका म त स्थायी कमिटीको सदस्य हुँ भन्छ एउटा भुरो। अनि, त्योसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भनेर बार्गेनिङ गर्नुपर्ने ? यस्तो खाले चल्दैन।’ 

उनले थपे, ‘पार्टीले निर्णय गरेर कुन ठाउँमा राख्नुपर्ने हो, त्यो ठाउँमा राख्ने हो। त्यही काम हामी गर्छौं। यो बार्गेनिङको लफडामा हामी छँदैछैनौं।’

नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै उनले प्रजातन्त्र स्थापना पहिले गंगालालले मानव अधिकारसम्बन्धी पहिलो भाषण र संगठन दिएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले आफू साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको बताए।

राजनीतिक प्रतिस्पर्धी नेताहरूले आफ्नै बारेमा विभिन्न टीकाटिप्पणी गरे पनि आफू साधारण र इमानदार भएको उनको भनाइ छ। उनले भने, ‘केपी ओली ? को केपी ओली ? को–को, को केपी ओली ? यति बिर्सिने भइसके क्या, यस्तै बिर्सिएको राम्रो। मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्, केही छैन। अब को केपी ओली भन्ने कुरा म बताउन्नँ। मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो, इमान्दारी साथ काम गर्छ।’

एमाले र आफ्नाबारेमा राजनीतिक दलका नेताहरूले अनेक कुरा लगाए पनि राजनीतिमा आफू इमानदार रहेको उनको दाबी छ। अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको जनाउँदै मार्छाैं र सिध्याउँछौं भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको बताए। 

‘खै एमाले, कहाँ छ एमाले भन्नेहरूलाई प्रतिस्पार्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ।’ अध्यक्ष ओलीले भने, ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन। यो राम्रो काम गरेर शान्तिपूर्णरूपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौं। म साथीहरूलाई राम्रो काममा एग्रेसिभली लाग्न आग्रह गर्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.