भारतीय पर्यटकले वीरगन्ज नाकामा अब खेप्नु पर्दैन चेकजाँचको सास्ती
वीरगन्ज : नेपाल घुम्न आउने भारतीय पर्यटकलाई वीरगन्ज नाकाको एक ठाउँमा मात्रै सुरक्षा चेकजाँच गर्ने व्यवस्था मिलाउन पर्साको स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरू लागेका छन्।
नेपाल घुम्न वीरगन्ज नाका हुँदै आउने भारतीय पर्यटकलाई नाकामै पाँच पाँच सय मिटरको दूरीमा चार पाँच ठाउँमा हुने गरेको सुरक्षा चेकजाँचले सास्ती खेप्नु परिरहेको गुनासो छ। अहिले भारतीय पर्यटक वीरगन्ज नाकाबाट छिर्दा नाकाकै शंकराचार्य प्रवेशद्वार, भन्सार गेट, रजतजयन्ती चोक, इनर्वा चोक, नगवा चोक र नयाँ बसपार्क चोक गरी ६ स्थानमा सुरक्षा जाँच गर्ने गरिएको छ। झन्डै दुई किलोमिटरको दूरीमै ६ ठाउँमा सुरक्षा जाँच गरिँदा त्यसले पर्यटकहरू प्रताडित हुँदै आएका छन्।
बुधबार वीरगन्जमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आयोजना गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नाकामा हुँदै आएको सुरक्षा जाँचले भारतीय पर्यटकहरू पीडित हुँदै आएको गुनासोलाई सम्बोधन गर्न आफूहरू लागेको बताए।
उनले भने, ‘जब एउटा भारतीय पर्यटक वीरगन्ज नाकाको शंकराचार्य गेटबाट नेपालमा छिर्छ त्यसबेला उसको एउटा योजना हुन्छ, एउटा आकांक्षा हुन्छ, एउटा अपेक्षा हुन्छ कि नेपाल जस्तो सुन्दर र बुद्ध जन्मेको देशमा म आफ्नो बिदा आनन्दले बिताउँछु। तर शंकराचार्य गेटदेखि नै उसलाई चेकजाँचको बहानामा हैरानी दिन थालियो, ठाडो बोल्न थालियो, एक एक किलोमिटरमै उसको गाडी चेक गर्न थालियो भने उसले नेपाल देशकै बारे कस्तो धारणा लिएर फर्किन्छ एक पटक विचार गरौंं त ?’
त्यसैलाई मध्यनजर गरेर नै अब वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारमै पर्यटकलाई मात्रै लक्षित गरेर इन्टेग्रेटेड चेक प्वाइन्ट (एकीकृत जाँच बिन्दु) स्थापना गर्ने तयारीमा आफूहरू लागेको उनले बताए। नेपाल घुम्न आउने भारतीय पर्यटकलाई वीरगन्ज नाकाको एक ठाउँमा मात्रै सुरक्षा जाँच गरेपछि ती पर्यटक आफ्नो गाडीमा छिमेकी बारा र मकवानपुर जिल्लासम्म बीचबाटोमा कहीँ पनि जाँच नगराइकन पुग्न सक्ने व्यवस्था मिलाउन लागिएको उनले बताए।
उनले भने, ‘वीरगन्ज नाकामै एउटा इन्टेग्रेटेड चेक प्वाइन्ट हुन्छ। त्यहाँँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले पर्यटकको गाडी रोकेर आ–आफ्नो क्षेत्राधिकारमा पर्ने चेकजाँच एकैपटक गर्छन्। चेकजाँचपछि तीन वटै निकायका अधिकृतले एउटा पहेँलो कार्डमा हस्ताक्षर गरेर दिन्छन्। त्यो कार्ड पर्यटकले आफ्नो गाडीको अगाडिको सिसामा टाँसेर राख्छ। त्यसपछि त्यो गाडी पर्सा, बारा हुँदै मकवानपुरसम्म पुग्दा बीचबाटोमा अन्त कतै पनि चेकजाँच हुँदैन। एकैपटक मकवानपुरको अन्तिम सीमामा मात्रै पुगेपछि त्यहाँको इन्टेग्रेटेड चेक प्वाइन्टमा चेकजाँच हुन्छ।
उताबाट फर्किंदा मकवानपुरमा पनि त्यस्तै प्रकारको इन्टेग्रेटेड चेक प्वाइन्टमा एक पटक चेकजाँच भइसकेपछि बीचबाटोमा अन्त कहीँ पनि चेकजाँच नभई एकै पटक वीरगन्ज नाकाको इन्टेग्रेटेड चेक प्वाइन्टमा चेकजाँच हुने व्यवस्था मिलाइने प्रजिअ अर्यालले सुनाए।
त्यसका लागि आफूले पर्साका अन्य सुरक्षा निकायका प्रमुखका साथै छिमेकी बारा र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुरा गरिसकेको भन्दै अर्यालले भने, ‘पर्सा जिल्लाको मात्रै कुरा भइदिएको भए तत्कालै वीरगन्ज नाकामा इन्टेग्रेटेड चेक प्वाइन्ट राख्न लगाइहाल्थे। तर तीन जिल्लाको कुरा भएकाले बारा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीज्यूसँग समन्वय गरिरहेको छु। उहाँहरू कन्भिन्स पनि भइसक्नु भएको छ। जतिसक्दो चाँडो यो काम हुन्छ।’
उनले थपे, ‘वीरगन्ज नाका हुँदै छिर्ने भारतीय पर्यटकलाई कमसेकम तीन जिल्लामा दुई ठाउँमा मात्रै सुरक्षा चेक गरेर उनीहरूलाई हैरानी नदिउँ भन्ने हाम्रो योजना छ। त्यसका लागि गृहकार्य भइरहेको छ। यसमा सरोकारवाला अन्य निकायको साथ र सहयोग पनि आवश्यक छ।’ यसबाहेक नेपाल घुम्न आउने भारतीय पर्यटकलाई भारु २५ हजारभन्दा बढी रकम साथमा लिएर आउन नपाउने अहिलेको कानुनी प्रावधान रहेकोमा त्यसप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए। यस बारेमा कानुनी जटिलता भए पनि व्यावहारिक रूपमा मिलाएर अगाडि बढ्नका लागि जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग आग्रह गरेको उनले बताए। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र, मधेस प्रदेश र पर्सा शाखामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मानित पनि गरिएको थियो।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगन्जका होटल तथा पर्यटन व्यवसायीलगायतको सहभागिता थियो।