बिरालाहरू
एकाबिहानै
या गोठमा पस्नुस्
तपाईंले तपाईंकै
धन्सारको धान जोगाउन पालेका बिरालाहरू
मानौं संसारका
सर्वाेत्कृष्ट दास हुन्
यिनले तपाईंको भलो मात्रै चिताउँछन्
तपाईंकै गुणगान मात्रै गाउँछन्
र सधैं तपाईंकै अघिपछि धाउँछन् ।
तपार्इंलाई लाग्ला
सधैं म्याउ म्याउ गरेर
तपाईंकै अघिपछि लाग्ने
माया लाग्दा बिरालाहरू
तपाईंका पराइ हुनै सक्दैनन्
तपाईंकै रछ्यान चाटेर हुर्केका
उनीहरूले भान्सामा कराई छुनै सक्दैनन् ।
सु...री भन्न नपाउँदै
सेवामा हाजिर हुने सेवकलाई
तपाईं कसरी बांगो सोच्न सक्नुहुन्छ र !
तपाईंकै भान्सा रुँघेर बस्ने
धन्सार कुरेर बस्ने इमान्दार रक्षकलाई
तपाईं कसरी भक्षक ठान्न सक्नुहुन्छ र !
तर, प्रिय मित्र, सत्य भनूँ
गुन बैगुन चिन्दैनन् बिरालाहरू
मायाको सही परिभाषा बुझ्दैनन् बिरालाहरू
अगाडि पर्दा रमाउँदै छाँद हाले पनि
पछाडि पर्दा तपाईंलाई पुज्दैनन् बिरालाहरू
तपाईंले ‘सु...री’ भन्न नभ्याउँदै धुरी चढ्छन् बिराला
तपार्इंका आँखा अगाडि
जतिसुकै इमान्दार रक्षक देखिए पनि
‘मुसा’ खोज्ने बहानामा बिरालाहरूले
तपाईंका सर्वस्व छामी सकेका हुन्छन्
तपार्इंका प्रत्येक आयाम नापिसकेका हुन्छन् ।
त्यसैले प्रिय मित्र
भात छोप्नूस्, दूध लुकाउनुस्
बिरालालाई बुझाएर भान्सा सुरक्षित हुँदैन
आफ्नै आचीसमेत गुमनाम लुकाउने बिरालालाई
धन्सारको धान सुम्पेर तपाईंको आकांक्षा सुरक्षित हुँदैन ।