नृत्य सम्राट जो एउटा जिउँदो इतिहास बने
२०७६ माघ ८ गते, पर्यटन बोर्डको सभाहल भरिभराउ थियो। कार्यक्रममा प्रमुख अतिथिमा निम्त्याइएका थिए, तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई। सन्दर्भ थियो, ‘भैरव डान्स एन्ड आर्टस् एकेडेमी’को उद्घाटन समारोह। जहाँ उनले भनेका थिए, ‘भोलि हामी यसलाई नेपालको नृत्य एकेडेमीको रूपमै, एउटा प्रशिक्षण केन्द्रको रूपमै पनि विकास गर्न सक्छौं। किनकि हामीलाई यस्ता थुप्रै संस्था चाहिन्छन्। सबैको प्रयत्नबाट यो एकेडेमीलाई अगाडि बढाउन सकिन्छ। यो उहाँका अनुभवको संग्रहालय पनि हुन्छ।’
३६ वर्षअघि निष्क्रिय भएको संस्थालाई पुनर्जीवित गराउनमा अग्रसरता लिएका थिए, अस्ट्रेलियाका लागि नेपालका तत्कालीन राजदूत महेशराज दाहालले। सो दिन उनले भने, ‘यो भैरव डान्स एकेडेमी भैरव नृत्य दलको प्रतिरूपमा पुनर्जन्म भयो। यसलाई एकेडेमीकै सरह राज्यले लैजान सक्नुपर्छ।’ तर आजसम्म एकेडेमीको कामले अग्रसरता लिन सकेको छैन। यसबारेमा एकेडेमीका अध्यक्ष नारायण मैनाली भन्छन्, ‘हामीले उहाँको सम्मानमा संस्था दर्ता ग¥र्यौं। सरकारी तबरबाट केही हुन्छ कि जस्तो लागेको थियो तर त्यो भएन। अब संस्थाका पदाधिकारीको बैठक बसेर आवश्यक निर्णय लिन्छौं।’
यता भैरवबहादुर थापाको तर्क अलि फरक छ। भैरव नृत्य दलजस्तै अग्रसर भएर भएर देशका लोकनृत्यसँगै अन्य लोपोन्मुख तथा ऐतिहासिक नृत्यलाई नयाँ पुस्तामाझ चिनाउने, नेपालभर नृत्यको पुनर्जागरण गर्ने तथा नयाँ कलाकार जन्माउनेलगायत उद्देश्य राखेका थापाले एकेडेमीले सो शैलीमा गति समाउन नसकेको बताए। एउटा इतिहास बोकेको संस्थाले पुनर्जीवन पाएर पनि उल्लेख्य रूपमा काम अघि बढाउन नसकेको देख्ता थापा तथा उनका परिवार निराश छन्।
को हुन् भैरवबहादुर थापा ?
भैरवका अनुसार गोरखास्थित मनकामना देवीका पहिलो पुजारी आत्रेय गोत्रका सिद्धि प्राप्त तान्त्रिक लखन थापा, नरभूपाल शाहका बुवा राम शाहको दरबारमा हजुरिया भारदार थिए। उनैका वंशज आत्रेय गोत्रका मानसिंह थापाका छोरा वीरबहादुर थापा श्री ५ पृथ्वी वीरविक्रम शाह तथा श्री ३ वीरशमशेर जंगबहादुर राणाका सवारी डिट्ठा थिए। नयाँ घोडालाई काबुमा ल्याउनु, रोगी–निरोगी छुट्ट्याउनुका साथै घोडाको आयु पनि परख गर्न सक्ने खुबी भएकाले कलकत्ता वा लखनउबाट घोडा किनेर ल्याउँदा डिट्ठा वीरबहादुरलाई नै छनोट गरेर पठाइन्थ्यो भने राम्रोसँग बग्गी हाँक्ने क्षमता भएका उनी वीरशमशेरको सवारी चलाउने एकमात्र व्यक्ति थिए।
तिनै डिट्ठा थापाले मुस्लिम जातिका शास्त्रीय संगीतज्ञ उस्ताद ताज खान (गायन) र ढुन्डी खान (तबला) दुई दाजुभाइलाई लखनउबाट नेपाल ल्याएका थिए। वीरबहादुर थापाका जेठा गोपालबहादुर, माहिला पद्मबहादुर, साहिँला कृष्णबहादुर, काहिँला पूर्णबहादुर र कान्छा नीलबहादुर गरी जम्मा पाँच छोरा थिए। यीमध्ये माहिला पद्मबहादुर थापाकी तेस्री श्रीमती ताम्बुलादेवीको गर्भबाट जेठी छोरी केशरीमैयाँ, जेठा छोरा श्यामबहादुर, माहिला छोरा सिंहबहादुर, कान्छी छोरी मि श्रीमैयाँ र कान्छो छोरा भैरवबहादुर थापाको जन्म भयो।
काठमाडौंस्थित कमलपोखरी टोलमा आफ्नो बाल्यकाल बिताउँदै गर्दा अध्ययनका लागि भारतको वनारस पुगेका थापाको जिन्दगीले त्यसपछि नयाँ मोड लिँदै गयो। १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा आर्मीमा प्रवेश गरेपश्चात् भने उनले फस्र्ट सिक्स गोर्खा राइफलको कल्र्क पोस्टमा रहेर सिंगापुर र मलायामा काम गरे। काठमाडौंमा आएपश्चात् २०१० असार ८ गते आफ्नै घरमा नेपालका प्रसिद्ध नाटककार भीमनिधि तिवारीसँग भेट भएपश्चात् भने उनको जीवनले नयाँ मोड लियो। आर्मीमा रहँदा गायन, अभिनयदेखि नृत्यका विभिन्न कला प्रस्तुत गरेर सबैको मन जितेका भैरवबहादुरले त्यसपछि भने ब्रिटिस आर्मीको जागिर त्यागिदिए।
२०११ जेठ २० गते नाटककार बालकृष्ण समको हातबाट उद्घाटन गरिएको (स्थापना भने २०१० फागुन १० गते समकै उपस्थितिमा भएको) ‘भैरव नृत्य दल’ (सुरुमा कमलपोखरी टोलका केटाहरू मिलेर ‘बाल सखा दल’ खोलेकोे भए तापनि समकै आग्रहमा भैरव नृत्य दल नाम राखिएका बालकृष्ण समको उपस्थितिमा) २०४० सालपश्चात निष्क्रिय जस्तै भयो। यसपछिका दिनमा थापाको जीवनमा आएका उतारचढावको व्याख्या गरिसाध्य छैन। जसले थापालाई निजानन्द स्वामी, अघोरी स्वामी रामनाथ, सचितानन्द, अर्जुन महाराजलगायतको संगत गरायो। उनी ज्योतिष (रावणसंहिताअन्तर्गतको) समेत भए।
भैरव नृत्यदल सक्रिय रहेको तीन दशकको अवधिमा संस्थामा विभिन्न कलाकार जोडिए। त्यहीँबाट धेरैले आफ्नो पहिचानसमेत बनाए। तीमध्ये कुमार बस्नेत, हरिवंश आचार्य, जयनन्द लामा, बसुन्धरा भुसाल, भुवन चन्द, मीरा राणा, तारा थापा (गायिका), झलकमान गन्धर्व, राम थापा, कोकिल गुरुङ, खिमबहादुर गन्धर्व, तीर्थबहादुर गन्धर्व, धुर्जलाल कुलु, सुष्मा शाही, मीना सिंह, कुमार दर्शन नेपाली, अचुक नन्दन चालिसे, विश्वसेन भट्टराई, मोहनकान्त सिलवाल, मैयाँ राणा, सीता पाण्डे, तारा थापा (नृत्यांगना), मञ्जु थापा, धनबहादुर लामा, खेलबहादुर लामा, कर्णबहादुर गन्धर्वलगायत छन्।
२०१८ सालमा राष्ट्रिय नाचघरमा सर्वप्रथम सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यको सुरुआत, २०१९ सालताका ‘फूलबारी’ नामक ओपेराको सिर्जना, २०३९ सालमा दोहोरी गीतको प्रचलनको सुरुआत (हेटौंडामा भएको प्रथम अन्तरनगर खेलकुदको सन्दर्भमा पहिलोपटक हेटौंडाको रंगमञ्चबाट) लगायतका कामहरू थापाले गरेका मुख्य कार्य हुन्। उनले तत्कालीन शाही नेपाल चलचित्र संस्थानद्वारा पहिलोपटक निर्माण भएको ‘मनको बाँध’ नामक कथानक चलचित्र तथा ‘पच्चिस वसन्त’मा नृत्य निर्देशनसमेत गरेका थिए।
थापाको मानसपटलमा सो समयका संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीया, सोभियत संघका राष्ट्रपति मार्सल भोरोसिलोभ, एडिनवर्गका राजकुमार फिलिप, पश्चिम जर्मनी (तत्कालीन)का राष्ट्रपति हेनरिच लुब्के, चीनका प्रधानमन्त्री चाउ–ऐन–लाई, भारतका राष्ट्रपति राजेन्द्रप्रसाद, डा. सर्वपल्ली राधाकृष्णन, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, बर्माका प्रधानमन्त्री उनू, पाकिस्तानका राष्ट्रपति मोहम्मद अयुब खान, आगा मुहम्मद याहया खान, चीनका उपप्रधान तथा परराष्ट्रमन्त्री मार्सल चेनी यी नेपाल आएका बखत थापाले सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरेको सन्दर्भ ताजै छ। सांस्कृतिक कार्यक्रमका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङ, प्रधानमन्त्री चाउ–एन–लाई तथा डा. सनयात् सेनकी श्रीमती सुङ्ग चुङ्ग लिङ्ग, रुसका राष्ट्रपति भारोसिलोव, भारतका राष्ट्रपति जाकिर हुसेन, पाकिस्तानका राष्ट्रपति आगा मुहम्मद याहया खान, युगोस्लाभियाका मार्सल टिटो, भारतका प्रधानमन्त्री पं. जवाहरलाल नेहरू र बेल्जियमकी महारानी फबिओला लगायतसँगको भेटका स्मृति अझै ताजा छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, चेतन कार्की, धर्मराज थापा, मदनमणि दीक्षित, सत्यमोहन जोशी, वसन्तकुमार शर्मा ‘नेपाल’लगायतले थापाले नेपालको इतिहासमै पृथक् काम गरेको भन्दै प्रशंसासमेत गरेका छन्। २०१२ सालदेखि नेपाली लोकनृत्यको खोज, अनुसन्धान, संरक्षण र प्रवद्र्धनमा निरन्तर लागेका थापाले निरन्तर सिर्जना तथा नाट्यको निर्देशनसमेत गरेका छन्। रैथाने नेपाली संस्कृतिलाई समेटेर परिस्कृत रूपमा थापाले निर्देशन गरेका नेपालका विविध नृत्यले सो समयमा देश तथा विदेशमा निकै चर्चा पाएका थिए। थापा ‘नृत्याक्षर विज्ञान’ कृतिका लागि २०७७ सालको जगदम्बा श्री पुरस्कार (२०७८ कात्तिक २४ गते प्रदान गरिएको) बाट सम्मानित भइसकेका छन्। कवि, नृत्य निर्देशक, साहित्यकार तथा ज्योतिषसमेतको परिचय बनाएका थापा (हाल ९२ वर्ष) नेपाली नृत्य क्षेत्रको एउटा जिउँदो इतिहास मानिन्छन्।
कार्यक्रममा भैरवबहादुर थापाले के भनेका थिए ?
भैरवबहादुर भन्नेबित्तिकै नाचगानको विधा आउँछ। नेपालमा २००७ सालमा प्रजातन्त्रको उदय भइसक्दा पनि नाचगान भनेको जुन पायो त्यही बेला हुँदैनथ्यो। जुन व्यक्तिलाई नाचगान देखाउनुपथ्र्यो, त्यसले एक वर्ष कुर्नुपथ्र्यो । गाईजात्राका लागि त्यो गाईजात्रामा मात्र उसले आफ्नो कलाकारिता देखाउन पाउँथ्यो। अरूबेलामा नाच्यो भने त्यसले अपमान भएको जनाउँथ्यो। अर्को कुरा के थियो भने एक वर्ष कुरेर आफ्नो कलाकारिता देखाउनु त छँदैछ। त्यसमाथि पनि यहाँ नाचका नामहरू कस्ता हुन्थे ? हिमालका नाचहरूका नामलाई भोटे सेलो, हिमालको मुन्तिरको भएकोलाई तामाङ सेलो, पहाडको भेगका नाचहरूलाई चाहिँ काँठे नाच, पर्वते नाच तराईको नाचलाई चाहिँ नचलियाँ, छोकरा र काठमाडौं उपत्यकाको नाचलाई अहिले जसरी देवी नाच, महाकाली नाच, कार्तिक नाच, चर्या नाच भनेर सुनिरहनुभएको छ, त्यसबेला त त्यो थिएन।
मुकुटे नाच भन्ने थियो। जति पनि देवीदेवताका नाच छन्, ती सबैलाई मुकुटे नाच भनिन्थ्यो। जो मुकुटविहीन नाच नाचिन्थ्यो, काठमाडौं उपत्यकामा त्यसलाई चाहिँ ज्यापु नाच भनिन्थ्यो। अनि बाहुन क्षेत्रीले नाच्ने नाचलाई चाहिँ भजन/चुड्का भनिन्थ्यो। कही कसैको भयो भने चाँही जातीय नामबाट नाच हुन्थ्यो। गुरुङ नाच, मगर नाच, राई लिम्बु नाच, थकाली नाच, दनुवार नाच, थारु नाच यस्तैयस्तै हुन्थे। स्थान विशेषबाट पनि नाचका नामहरू हुन्थे। कतिपय चाहिँ नाचमा प्रयोग हुने सामग्रीका आधारबाट पनि नाचका नामहरू हुन्थे। यी सबै नाचहरू हुँदाखेरी पनि कही पनि लोकनृत्य भन्ने शब्दको प्रयोग भएको थिएन।
त्यसबेला वास्तवमा, गाईजात्राको कार्यक्रम नै सांस्कृतिक कार्यक्रम हो। तर त्यसलाई सांस्कृतिक कार्यक्रम भनिँदैनथ्यो। त्यो टोल–टोलको डबलीमा गरिने हुनाले त्यसलाई डबली नाच भन्ने गर्थे। अब त्यो वातावरणलाई लोकनृत्य वाक्यांश, सांस्कृतिक कार्यक्रम शब्दावलीको जुन प्रयोग त्यो भैरवबाट सुरु भयो। यो समीक्षा कुनै पत्रकारले आजसम्म गरेका छैनन्। किनभने यो देशमा मञ्चनको समीक्षक नै जन्मेको छैन। संस्कृति मन्त्रालय खोलेको पनि आज बुढो जस्तो भइसक्यो। त्यो खाली हवाईजहाजको आवाज सुन्छ, मादलको आवाज सुन्दै सुन्दैनन्।
नजिकबाट चिन्नेहरूले थापाका बारेमा के भने ?
कुमार बस्नेत
इतिहास सबैको हुन्छ। हरेक मान्छेको आ—आफ्नो इतिहास छ। हाम्रो पनि भैरव दाइले सुरु गरिदिएको हुनाले भयो। हामी धेरै कलाकार भैरव नृत्य दलबाट जन्मिएको यहाँहरूले पनि देख्नुभयो। पहिलो नृत्य संस्था भैरव दाइकै हो। त्यहाँपछि नवीन कला मन्दिर त्यहाँबाट नासा खलः भएको थाहै छ। अहिलेसम्म हाम्रा लोकगीत गाउने भाइहरूले गीत गाइदिएका छन्। नेपालमा राख्या छन् तर नाच हराइसक्यो। २९औं नगर खेलकुदमा गणेश रसिक पनि हुनुहुन्छ, भैरव दाइ जुरीमा, म पनि छु। हामीले हेटौंडाबाट सुरु गरेर आज लोकदोहोरी गीतले कमसेकम नेपाल भ्यायो। नाच कहाँ गयो ? हाम्रो देशमा प्रशस्त नाच छन्। हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म छ। जगेर्ना गरेनौं। जगेर्ना गर्ने कोसिस पनि गरेनौं। देशको संस्कृति हरायो भने भोलि हामी पनि हराउँछौं। तपाईंहरू त झन् कहाँ जानुहुन्छ कहाँ ?
हरिवंश आचार्य
सानो बेला अलि सञ्चो भइरहँदैनथ्यो। आमाले जहिले पनि भैरवको मन्दिरमा लगेर पूजा गर्न लाउनुहुन्थ्यो। भैरवलाई ढोेगेपछि मलाई सञ्चो हुन्थ्यो। त्यसै गरिकन मलाई खेरबहादुर लामा अनि जयनन्द लामा, कृष्णबहादुर लामा भाइले अर्को भैरवकहाँ लैजानुभयो। ढोगें। भैरवले आशीर्वाद दिनुभयो। अनि आज म यो स्थानमा पुग्न सकेको छु। नेपालमा द्वन्द्व सुरु भइसकेपछि एकेडेमी/प्रज्ञाभवन कलाकारहरूको घाम ताप्ने ठाउँ मात्र भयो। त्यहाँ दिनभर कलाकारहरू बस्नुहुन्थ्यो। घाममा बदाम खाएर, खोकी लाग्दै घर गएर उहाँहरू सेवानिवृत्त हुनुभयो। खोक्दाखोक्दै बाहिरिनुभयो र अहिले प्रायः शून्य छ। कलाकारहरूको उपस्थिति कहीँ पनि छैन। हाम्रो प्रज्ञाभवन अथवा नाट्य, कला के–के भन्छ मलाई त्यति थाहा पनि छैन। मलाई त्यहाँ जानु पनि छैन। बाहिर बसेरै म देशको सेवा गर्न तयार छु। आशा के छ भने आदरणीय भैरवबहादुर थापालाई त्यो ठाउँमा लगेर राख्नुसक्यो भने फेरि त्यो पुरानो जोश, जाँगर फर्किएर आउँछ र देशले पनि कला, साहित्यको विषयमा सही गति लिन पाउँछ।
जयनन्द लामा
मैले भैरवबहादुर थापा गुरुलाई भेटेको झन्डै ४९ वर्ष भएछ। उहाँ जहिले पनि चिन्तित मात्र रहेको भेटें। आज पनि उहाँलाई चिन्तितै देखेको छु। जे जति जयनन्द लामा भनेर गरेको छु, यो उहाँकै निगाह हो। नेपाली संस्कृतिका लागि उहाँले गरेको सबै निजी खर्च हो। कुनै सरकारले सुको पैसा उहाँलाई सहयोग गरेन। घरहरू सबै बेच्नुप¥यो उहाँले। नेपाली कलाका लागि हो नि त। एकेडेमिसियन पनि पत्याउँदैनन् भैरवबहादुर थापालाई ? कि उनी अयोग्य हुन् ? अरू एकेडेमिसियनभन्दा त उहाँ योग्य नै लाग्छ। उहाँलाई जीवनभरि छटपटीमात्र भयो। हामीले केही गर्न सकिएन। बरु मैले २–४ लाख रुपैयाँ कमाएँ, घरखेत जोडें। तर उहाँले भएको पनि उडाउनुभयो। केलाई ? नेपाली संगीत, नेपाली कलालाई। जीवनलाई यसरी अर्पण गर्नुभयो। गणेश रसिक नाच राष्ट्रिय नाचघरको जीएम हुनुहुन्थ्यो। म पनि खेलकुद परिषद्मा सांस्कृतिक संयोजक थिएँ। त्यतिबेला भैरवबहादुरले नै रसिक लोकदोहोरी गाउँमा मात्र गाउने होइन, जसरी नृत्यलाई प्रवेश गरायौं त्यसैगरी यसलाई सहरमा प्रवेश गराउनुपर्छ भनेर उहाँकै संयोजकत्वमा दोहोरी गीतको कार्यक्रम सुरु भयो। आज दोहोरी गीत कहाँ पुगिसक्यो तर भैरव जहाँको तहीं। भैरवबहादुर यो देशको संस्कृतिको पुजारी नभाको भए, आज यो देशको एकजना धनी मान्छेमध्येमा उहाँ पर्नुहुन्थ्यो।
गणेश रसिक
मैले उहाँको जीवनलाई चेला नभए तापनि ५५ वर्षदेखि नियमित रूपमा नजिकबाट हेरिरहेको छु। उहाँको जीवनशैली, बाँच्ने तरिका, सिकाउने तरिका, बोल्ने तरिका, उहाँको दिनचर्या कसरी बित्छ भन्ने कुराहरू नजिकबाट हेरेको छु। वास्तवमा युरोपबाट फर्केर आउँदा उहाँको हातमा ठेट भाषामा भन्दा एक ढाकरभन्दा बढी प्रमाणपत्र थियो। त्यति धेरै, एक मान्छेले बोक्न सक्नेभन्दा धेरै प्रमाणपत्र थियो। २५ जना कलाकारको टोलीलाई पूरा युरोप घुमाउँदाखेरि लागेको खर्च उहाँले ऋणले गरिराख्नुभएको थियो। आउँदाखेरि उहाँको घर लिलाम भयो। बिक्री भयो। उहाँ सडकमा झर्नुभयो। त्यसपछि उहाँको जीवन कसरी बित्यो होला ? हामी कल्पना गर्न सक्दैनौं।
वास्तवमा, राजा महेन्द्रले ढाप मारेको कलाकार, नेहरूले हात मिलाएको कलाकार, माओत्सेतुङले हात मिलाएको कलाकार, मार्सल टिटोले हात मिलाएको कलाकार, एउटा नेपाली कलाकार, नेपालीको इज्जत बोकेर गएको कलाकार आएर सडकमा झर्नुप¥यो। जतिबेला छोराहरू पनि नाबालक नै थिए। साना साना थिए। त्यतिबेला उहाँले कुन पीडा भोग्नुभयो ? कुन मानसिक अवस्था भोग्नुभयो ? म एउटा संवेदनशील लेखक भएको नाताले मैले नजिकबाट त्यो महसुस गरें। र तिनै कुराहरू समेटेर मैलें ‘नटराज भैरव’ भनेर एउटा लेख पनि किताबमा छपाएँ। मैले गर्न सक्ने अवस्था त्यही थियो मैले त्यही गरें। जुन लाहुरे जीवन उहाँले तीन वर्ष मात्र गुजार्नुभयो, जुन कलाकार जीवनमा उहाँले ७० वर्ष जति उमेर गुजार्नुभयो। त्यो कलाकारले प्रमाणपत्र मात्रै दियो र घरको पुख्र्यौली जग्गा जमिनबाट सडकमा झा¥यो। र मधेसमा रहेको तीन सय बिगाहा पनि उहाँको सकियो। जनकपुरमा तीन सय बिगाहाको मौजा थियो उहाँको, त्यो पनि सकियो। त्यस्तो अवस्थामा रहेको मान्छे, भूतपूर्व ब्रिटिस गोर्खाको लाहुरे, ब्रिटिस गोर्खाकै लाहुरेको घरमा डेरा लिएर बस्नुभएको छ अहिले उहाँ। हेर्नुस् मान्छेको जीवनमा के–के भोग्नुपर्छ ?
उहाँको स्वाभिमान छ नेपाल सरकारसँग उहाँ भिख माग्न जानुहुन्न कहिल्यै पनि। खोजी कोही गर्दैनन्। यहाँ त कस्तो छ भने जसको बत्ती बलेको छ, जसको उज्यालो छ अनुहार। जसको पछाडि हल्ला छ, उनीहरूकै पछाडि लाग्छन्। के भैरवले राष्ट्रिय सम्मान पाउन सय वर्ष पुग्नैपर्ने ? सय वर्ष पुगेका मान्छेको रिस गरेको होइन, उहाँहरूलाई सम्मान हुनुपर्छ। के उहाँमा चै के कमी हो त ? ८८ वर्षको हुँदा पनि उहाँले केही नपाउने मुलुकबाट ? यत्रायत्रा दिग्गज कलाकार हुनुहुन्छ उहाँका चेला। उहाँहरू सबैको घर छ। रिस गरेको हैन, मैले। उहाँको आशीर्वाद पाएर उहाँहरूको घर छ सबै, व्यवस्था छ। तर उहाँको हालत छ। डेरामा बस्नुभएको छ। यस्तो दयनीय अवस्थामा पनि जुन आँट लिएर हिँडिराख्नुभएको छ, त्यो हामी सबैका लागि प्रेरणादायी कुरो हो, ठूलो कुरो हो। अहिले उहाँको जीउ यस्तो मोटोघाटो छ। सबैले भन्छन्, हट्टाकट्टा हुनुहुन्छ होला ? कहिले कहिले मलाई भन्नुहुन्छ, भाइ मेरो जीउ त रोगको संग्रहालय हो।
तपाईं आफैं एकेडेमी (नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान)मा सदस्यसचिव हुनभएको मान्छे, तपाईंले के गर्नुभयो त भन्ने प्रश्न पनि उठ्छ ? सदस्यसचिव भन्ने पद ‘खाउँ भने दिनभरिको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार’। नौ जना सदस्य छन्, नवग्रह भन्ने एउटा छ त्यहाँ। राहु, केतु, बुध, सबै किसिमका ग्रह हामी ९ जना छौं। पहिला राष्ट्रिय नाचघरमा एक्लै थिएँ, महाप्रबन्धक। पद फस्र्ट क्लास अफिसर। बरु त्यो धेरै पावरफुल रहेछ। त्यसले धेरै निर्णय गर्न सक्थ्यो। त्यहाँ मर्यादा राखिदिएको छ, प्रमुख सचिवसरह भन्ने छ। तलब, भत्ता, सुविधा दिएको छ। तर काम गर्ने अवस्था रहेनछ। सबै भागबन्डामा आएका हामी ९ जना रहेछौं।
हरेक मान्छेको आफ्नो आफ्नो इन्ट्रेस्ट्ड रहेछ। नियम, कानुन, अनुशासन केही छैन। मैले चार वर्ष कसरी गुजारें होला म आफैंलाई थाहा छैन। त्यो यहाँ व्यक्त गर्न सक्दिनँ। अघिल्लो पालीको दुईवटा सदस्यसचिवले राजीनामा दिएर निस्केर हिँडे। त्यतिबेला मैले भैरव दाइलाई भनें, ‘दाजु तपाईंलाई आजीवन सदस्य बनाउने मेरो इच्छा थियो। कमलादी एकेडेमीमा साहित्यकार, संगीतकार सबै आजीवन सदस्य हुने अवस्था थियो त्यतिबेला। उहाँलाई आजीवन सदस्य कहिल्यै बनाइएन। खाली साहित्यकार, ती ४०–४५ वर्षका ठेट्ना केटाहरू पनि आजीवन सदस्य भए त्यहाँ। भाइहरू भए। हामी खुसी नै छौं तर भैरव दाइ कहिल्यै आजीवन सदस्य हुनु भएन।
आफ्नै विधाको एकेडेमी गठन भयो। उहाँको सबैभन्दा नजिकको मान्छे मै हुँ। मै सदस्यसचिव भएँ। मैले आजीवन सदस्य बनाउने प्रस्ताव लगें। त्यहाँ त २५ जना मान्छे हामीभन्दा अगाडिको कालमै आजीवन सदस्यका निम्ति पत्र लिएर बसेका रहेछन्। कुलपति अम्बर गुरुङको सिग्नेचर गरेर प्रमाणपत्र बनाइसकेको रहेछ। सबैलाई आजीवन सदस्य, ए बाबै। सबै आजीवन सदस्य ? कसरी हुनसक्छ ? हामीलाई त्यो अधिकार छ, आफूले आजीवन सदस्य आफैंलाई घोषणा गरेर, आफैं प्रमाणपत्र लिएर, आफैं भत्ता खाएर बस्ने। जो बहालवाला छन्, उनीहरू त्यहाँ बहालमा पनि छन्, उनीहरू आजीवन सदस्य छन् त्यहाँ। कसरी सामना गरें होला त्यहाँ ? मैले सकिनँ। दाजुलाई मैले वचन दिएको थिएँ, ‘दाजु आजीवन सदस्य म यसपाला गर्ने हो भनेर भनें। अन्तिममा गएर दाजु मैले सकिनँ हार खाएँ भनेर उहाँसँग माफी मागें। तर भैरवबहादुर थापा एउटा जिउँदो इतिहास हो, नेपाली संस्कृतिको धरोहर हो।
बसुन्धरा भुसाल
उहाँ २०२४ सालदेखि मेरो गुरु हुनुहुन्थ्यो। पछि उहाँको भैरव नृत्य दलमा गंगा राणा दिदीले हामी सबैलाई नाच्न लैजाँदा राष्ट्रिय नाचघरले झन्डै हाम्रो जागिर खोसिदिएको थियो, त्यो अवस्था पनि थियो। ‘मनको बाँध’ चलचित्रमा दाइले नृत्य सिकाउनुभएको थियो। त्यसमा मैले ‘लिड’मा नाच्ने मौका पाएकी थिएँ। त्यतिखेर म १८–१९ दिनको सुत्केरी थिएँ। यस अवस्थामा पनि मलाई दाइले धेरै सहयोग गर्नुभएको थियो।
दाइ आज कहाँबाट कहाँ पुग्नुपर्ने ? खर्बपति हुनुपर्ने मान्छे। आज डेरामा बस्नुभएको छ। हामीले गर्न केही सकेको छैन। यो ठाउँमा भन्दिने मान्छे चाहिन्छ कि त पार्टीको झण्डा बोक्नुपर्छ। यहाँहरूलाई थाहा नै छ। दाइलाई लगेर नेपाल सरकारले कुन ठाउँ राख्नुपर्ने, त्यो आजसम्म कुनै विचार गरेको छैन। यहाँ जति कदर हुन्छ कलाकारहरूको उही मर्दाखेरी। नारायणगोपाल दाई बाँचुञ्जेल केही थिएन। कतिजना कलाकार बितिसकेपछि मात्र नाम लिन्छन् तर बाँचुञ्जेल नै उसका लागि खान, बस्न, उपचारका लागि केही छैन। हामी उहाँकै विद्यार्थी हौं। उहाँले नै गर्दा आज हामी यो ठाउँमा पुगेका छौं तर हामीले दाइलाई केही पनि गर्न सकेका छैनौं। साहै्र दुःख लागेको छ।