जिन्दगीको लय सिकाउने संगीत
मानव चोला हरेक दिन लयमा हिँडेको हुन्छ। बिहान उठ्नासाथ हरेक मानिसले गर्ने कामहरू निश्चित हुन्छन्। हो, एउटा लयमा चलिरहेको हुन्छ हरेक मानिसको दैनिकी। त्यस्तै हो, संगीत पनि। साधकलाई कठिन लय सिकाउने, धैर्य सिकाउने हतियार हो संगीत।
आधुनिक गीतसंगीतको क्षेत्रमा उदीयमान एउटा नाम हो, शोभा पाण्डे। गाधयन क्षेत्रमा आफ्नो पहिचान बनाउन साधनारत सर्जक हुन् उनी। जसलाई मानव जिन्दगी र संगीत उस्तै उस्तै लाग्छ। किनकि दुवैले जिन्दगीको लय सिकाउँछन्।
२०७१ सालदेखी नै औपचारिक रूपमा गीतसंगीतको क्षेत्रमा लागेकी पाण्डेलाई शास्त्रीय संगीतको धुनले लठ्ठ बनाउँछ। ‘सा...रे...ग...म... को लहरीमा शास्त्रीय संगीतका आलापमा रमाउँदै जिन्दगीमा लय भर्नुमा जति गजबको सन्तुष्टि अरू केमा मिल्छ र ?’ उनी जीवनलाई संगीतसँग घोल्छिन्।
देवदह–५, रूपन्देहीमा जन्मीहुर्की केही समयदेखि राजधानी काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छन् शोभा। जो गायन कलाको सैद्धान्तिक पक्षलाई अघि बढाइरहेकी छन्। सानैदेखि गीत गाउने रहरले उनलाई यतिबेला ‘गायिका’को परिचय थपिदिएको छ।
पढ्ने र सिक्ने काम जीवनभर चलिरहन्छ भनिन्छ। गायन सीपलाई निखार्न उनी यतिबेला संगीत विषय लिएर अध्ययन गरिरहेकी छन्। शोभामा संगीत सिक्ने भोक जागेको छ। लेख्नलाई पढ्नुपर्छ भने झैं गाउन गीत सुन्नुपर्छ सायद। त्यसैले होला गीत सुन्न आनन्द महसुस गर्छिन् उनी।
धेरै गायक, गायिकाले विगतमा गुरु थाप्ने र केही महिनाको कोर्स गर्ने गरेको पाइन्छ। तर शोभा भने संगीत विषयमा औपचारिक अध्ययनमा छन् अर्थात् एमफिल (दर्शनाचार्य) गरिरहेकी छन्। जहाँ एउटा विषयको गहिराइमा पसेर अनुसन्धान गर्नुपर्ने हुन्छ। उनी यतिबेला ‘नेपाली रैथाने संगीत’को सागरमा आफूलाई चोबलेर मोती टिप्ने प्रयासमा छन्।
‘मेलोडियस’ गीतहरू बढी मन पराउँछिन् उनी। उनले २०७१ सालमा ‘यस्तो मान्छे फेला परोस्...’ बोलको गीतमा स्वर दिएकी थिइन्। अग्रज गीतकार डा. कृष्णहरि बरालको शब्दमा रहेको यो गीतमा गैरे सुरेशको संगीत थियो। पाण्डेले आफ्नै स्वरमा एकल एल्बम ‘शंका’ बजारमा ल्याइन् त्यतिबेला। एल्बमका ‘मनाही छ’, ‘मेरो चरित्रमा शंका गर्ने तिमी को ?’ ‘मन मान्दैन’ जस्ता गीतले श्रोताको मन जितेको उनी बताउँछिन्।
बरालकै एकल शब्द र आफ्नो स्वरमा उनले २०७७ सालमा ‘घायल’ नामक एल्बम सार्वजनिक गरिन्। जसमा गैरे सुरेश, महेस खड्का, हरि लम्साल, ताराप्रकाश लिम्बू र एनबी जनकपुरीको संगीत छ। यो एल्बममा समावेश गीतमध्ये ‘घायल भएँ म त’, ‘मलाई मान्दछौ भने’, ‘म त माया गर्न थालें’, ‘प्यारो नेपाल’ जस्ता गीतहरू चर्चामा रहे।
गायिका शोभाले विशेषगरी आधुनिक गीत, देशभक्तिले ओतप्रोत भएका गीत, वियोग र मायाका भावहरूले भरिएका गीत बढी रुचाउँछिन्। गायन क्षेत्रमा एक दशक बिताउँदै गर्दा उनले विभिन्न पुरस्कारसमेत प्राप्त गरेकी छन्। उनले करिब पाँच दर्जन गीतमा आवाज दिएकी छन्।
‘गायन क्षेत्रमा पहिचान बनाउनका लागि धैर्य र कठिन मेहनतको आवश्यक पर्ने रहेछ’, उनी अनुभव बताउँछिन्। विशेषतः शब्दमा मिठास, माधुर्य र सन्देश भएका गीतहरूले आफ्नो हृदय छुने उनी बताउँछिन्। उनी पेसाले सञ्चारकर्मी हुन्।
संगीतको क्षेत्रमा आउने नयाँ गायकगायिकाका लागि यो क्षेत्रमा अवसर र चुनौती दुवै रहेको उनको भनाइ छ। शोभाले आफूले के कसरी यात्रा तय गर्ने ? भन्ने सोचबुझले गायनयात्रामा प्रभाव पर्ने बताइन्। उनी भन्छिन्, ‘निरन्तर मेहनत ग¥यो भने जुनसुकै पेसामा पनि सफल बन्न सकिन्छ।’
संगीतको क्षेत्रमा प्रवेश गर्नेहरू जोकोही धेरै विषयमा अनभिज्ञ हुने भए पनि क्रमशः अध्ययन, अनुभव र साधनाले खारिने उनको बुझाइ छ। ‘अग्रजहरूको सल्लाह र संगीत गुरुसँगको सिकाइ अनि निरन्तरको साधनाले मात्रै सफल बन्न सकिन्छ। वरिष्ठहरूका सल्लाहलाई मार्गदर्शनका रूपमा लिनुपर्छ’, उनी थप्छिन्।
सुरुवाती दिनमा आफैं लगानी गरेर गीत रेकर्डिङ गराएकी शोभाले अहिले भने आम्दानीसहितका सिर्जना श्रोतालाई दिन थालेकी छन्। विभिन्न संघसंस्था र व्यक्तिका प्रोजेक्टमा सहकार्य गरिरहेकी छन् उनी। एउटा गीत गाएबापत १० हजार देखि १५ हजार रुपैयाँ पारि श्रमिक लिने शोभाले संगीतमै भविष्य देखेकी छन्।
‘मेला, महोत्सव र विभिन्न कार्यक्रममा जान पाउँदा गायकगायिकाको राम्रो आम्दानी हुन्छ’, शोभा भन्छिन्, ‘आफूलाई अब्बल बनाउन सके काम पाउन गाह्रो नहुने रहेछ।’ बोलको बरालको गीत र गैरे सुरेशको संगीतमा रहेको शोभाको स्वरले सबैलाई यतिबेला मोहनी लगाएको छ भन्दा फरक नपर्ला, ‘ए भोले शंकर...! मेरो भोले शंकर, भोले तिम्रो रूपै भयंकर...।’