सार्वजनिक पार्किङमै हराउँछन् सवारीसाधन

सार्वजनिक पार्किङमै हराउँछन् सवारीसाधन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : धादिङ महादेवबेंसीका लावन फुयाँलको पुस १७ गते पार्किङ एरियाबाटै मोटरसाइकल हरायो। महादेवबेंसी बजार नजिकैको घरमा पार्किङ गरिराखेको टीभीएस कम्पनीको उनको मोटरसाइकल हराएको थियो। नीलो रंगको मोटरसाइकल उनले केही महिनाअघि मात्रै किनेका थिए। 

उपत्यका ट्राफिक कार्यालय बग्गीखानामा मोटरसाइकल हराएको भन्दै दिनहुँ निवेदन आउँछन्। कतिपयको सवारीसाधन सार्वजनिक पार्किङ एरियाबाटै हराउँछन् भने कतिपय सपिङ मल, तरकारी बजार तथा सरकारी कार्यालयबाटै चोरी भएका हुन्छन्। यसरी चोरी भएका सवारीसाधन पछिल्लो समय भेटिन थालेका छन्। ट्राफिक कार्यालय बग्गीखानाले हराएका सवारीसाधन खोजी गर्नका लागि छुट्टै टोली स्थापना गरेर काम गर्दै आएको छ। 

उपत्यका ट्राफिक कार्यालय बग्गीखानाका प्रमुख विनोद घिमिरेले बिहीबारमात्रै विभिन्न कम्पनीका ३३ वटा सवारीसाधन सम्बन्धित धनीलाई बुझाएका छन्। २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सवारीधनीले प्राप्त गरेका छन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सवारीसाधनहरू फेला परेका थिए। काठमाडौंको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालीमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँबसपार्क र बौद्धलगायतका स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

ट्राफिक महासाखा प्रमुख विनोद घिमिरेका अनुसार यो आर्थिक वर्ष सुरु भएपछि उपत्यकामा दुई पांग्रे सवारीसाधन हराएको भन्दै १,०६८ वटा निवेदन दर्ता भएका थिए। यीमध्ये २ सय ७३ वटा सवारीसाधन सम्बन्धित धनीलाई बुझाइएको छ। कारबाहीका लागि ३ सय ४० वटा दुई पांग्रे सवारीसाधन ट्राफिक कार्यालयमा ल्याइएको थियो। जसमध्ये ६७ वटा मोटरसाइकलको धनी पत्ता लाग्न सकेको छैन। यातायात कार्यालयबाट कागजात मगाउने र थप अनुसन्धानको क्रममै छन्। कतिपय बाइकहरू भन्सार कार्यालयलाई पनि बुझाइएको हुन्छ। चोरीका २८ ओटा दुई पांग्र्रे सवारीसाधनसहित चोरीमा संलग्न ४० जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ। मोटरसाइकल हराएको भनी विमिन्न मितिीमा उजुरी आएपछि ट्राफिक कार्यालयले शंकास्पद मोटरसाइकलमाथि निगरानी गर्ने गर्छ। यसका लागि सिभिल ड्रेसमा प्रहरी खट्ने गर्छन्। ट्राफिक कार्यालयले २०७९/०८० मा ४९९ ओटा र ०८०/०८१ मा ४१७ ओटा दुई पांग्र्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजयबहादुर राउतका अनुसार अधिकांश सवारीसाधन सार्वजनिक स्थानमा पार्किङ गरेको ठाउँबाटै हराउने गरेका छन्। यसरी हराएका तथा चोरी भएका सवारीसाधन कतिपय त बेवारिसे अवस्थामा फेला पर्ने गरेका छन्। चोरी भएका सवारीसाधनमध्ये अधिकांशले नम्बर बदलेर चलाउने गरेका छन्। केही सवारीसाधनको च्यासिस नम्बर नै बदलेर चलाउने गरेको अवस्थामा प्रहरीले फेला पार्छ। कतै पार्किङ गरी राखेको स्थानमा त था कहिले घर या सार्वजनिक स्थानमा लुकाएर राखेको अवस्थामा मोटरसाइकल र स्कुटर भेटिने गरेको छ। 

ट्राफिक कार्यालयका प्रमुख घिमिरेले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न चालक नै सचेत हुनुपर्ने बताए। उनी भन्छन्, ‘आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्न आवश्यक छ। मानिसको आवतजावत नहुने एकान्त ठाउँमा सवारीसाधन छाडेर हिँड्न नहुने घिमिेरेको तर्क छ। सवारीसाधन हराउनासाथ नै प्रहरीलाई जानकारी गराउँदा भेटिने सम्भावना धेरै हुन्छ। सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.