काठमाडौं : माइतीघर मण्डलामा बिहीबार दिउँसो दुई चेली रोइरहेका थिए। उनीहरु माझमा थियो फोटो फ्रेममा कैद भएका एक जना युवको तस्बिर। तस्बिरमा सयपत्रीको माला लगाइएको थियो। ती दुई जना चेली अरू कोही नभएर पर्यावरण संरक्षण अभियन्ता स्वर्गीय ओमप्रकाश महतो (दिलीप)का बहिनी लक्ष्मी र सिर्जना थिए।
माइतीघरमा न्याय माग्दै उनीहरू भक्काँनिदै थिए। बिहीबार स्वर्गीय दिलीपको पाँचौ स्मृति दिवस मनाउन उनका बहिनी लक्ष्मी र सिर्जना अभियानकर्तासहित माइतीरघर पुगेका थिए। आफ्ना दाजुलाई सरकारले प्रथम पर्यावरण सहिद घोषणा गर्नु पर्ने उनीहरूको माग छ। यो मागलाई लिएर अरु थुप्रै अभियन्ताहरू पनि माइतीघर मण्डलामा आएका थिए।
धनुषाको श्रीपुरस्थित चुरेबाट बग्ने औरही खोलामा चुरे माफियाहरूले गरिरहेको अवैध उत्खन्न रोक्न गएका २५ वर्षीय दिलीपलाई २०७३ पुस २५ गते क्रसर गुन्डाको समूहले टिपर चलाएर निर्मम हत्या गरेका थिए। त्यस यतादेखि न्याय माग्दै पीडित परिवारले सकड आन्दोलन गर्दै आएका छन्।
दिलीपकी बहिनी लक्ष्मीले भनिन्, ‘ हत्याराहरू अझै खुलेआम बाहिर घुमिरहेका छन्। उनीहरूलाई सरकारले पक्राउ गर्नु पर्छ। त्यसका लागि घटनामा गहिरो अनुसन्धान गर्नु पर्छ। सरकारले हामीलाई कहिले न्याय दिन्छ? हाम्रो अदालत र सडकमा ओहोरदोहार गर्दा-गर्दा पैताला खिइसक्यो।’
माइतीघर मण्डलामा बिहीवार पर्यावरण तथा वातावरण संरक्षण अभियन्ता स्व. दिलीप महतोका लागि न्याय माग्दै अभियन्ताहरू।
धनुषा जिल्ला अदालत धनुषाले २०७९ फागुन १२ गते दिलीप हत्यामा तीन जनालाई दोषी ठहर गरेको थियो। अन्य चार जनालाई सफाइ दिएको थियो। दिलीपको हत्यामा संलग्न रहेका क्रसर मालिक विपिनकुमार महतो र टिपर चालक मुनीन्द्र महतोलाई २५–२५ वर्ष कैद सजाय सुनाइएको थियो। दुबै जनालाई पाँच–पाँच लाख रकम पीडित परिवारलाई क्षतिपूर्ति बापत दिनुपर्ने अदालतले आदेश दिएको थियो। घटनाका मतियारका रूपमा लोडर चालक जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद तोकिएको थियो।
२०८० माघ २४ गते उच्च अदालत जनकपुरले जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो। दिलीपका बुबा रामजीवन महतोले मनसायपूर्वक हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिन कुमार महतो, उनका दाइ विनोद कुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेका थिए।
यता मंसिर ४ गते सरकार जिल्ला अदालत र उच्च अदालतको फैसाला विरुद्ध सर्वोच्च अदालत पुगको छ। क्रूरतापूर्वक भएको हत्यामा समेत केहीलाई मतियार ठहर गरेको र केहीलाई सफाइ दिएको निर्णय त्रुटिपूर्ण र चित्तबुझ्दो नभएको दाबी सरकारको छ। सरकारले उनीहरू सबैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिएको छ।
भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलीप अन्तिम सेमेस्टरको परीक्षा दिएर घर आएका थिए। परिवारजनका अनुसार दिलीपको हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो। स्थानीयस्तरमा पहिलेदेखि वातावरण संरक्षण र प्राकृतिक स्रोतको गैरकानुनी रूपमा अनियन्त्रित दोहनविरुद्ध क्रियाशील उनलाई २०७६ को पुसमा निसाना बनाइएको थियो।