राष्ट्रिय एकताका सेतु
नेपाल राष्ट्र भनेर आज विश्वसामु गर्वका साथ हामी जसरी चिनिएका छौं अनि विश्व मानचित्रमा नेपालको नक्सा हेरेर जसरी गौरबको अनुभव गरिरहेका छौं, त्यो सबै अदम्य शाहस, विरता, कुशल नेतृत्व दूरदृष्टिका चिन्तनका धनी पृथ्वीनारायण शाहकै अतुलनीय योगदानका कारण सम्भव भएको हो। यस तथ्यलाई नेपालभित्र बसोबास गर्ने जुनसुकै जाति, जनजाति, धर्म, लिंग आदिले उहाँकै देनका कारण वीर गोर्खाली, बुद्ध र सगरमाथा देशका बासिन्दा भनेर चिनिन पाएकोमा हृदयंगम गर्न जरुरी छ।
पृथ्वीनारायण त्यसैले नेपाल राष्ट्रको निर्माता र राष्ट्रिय एकताका प्रतिक हुन्। उनले टुक्रिएर रहेका स–साना राज्यहरूलाई एकीकरणको अभियानद्वारा नेपाल राष्ट्र निर्माण गरी चार जात छत्तीस वर्णको फूलबारी रचना गर्ने जुन स्तुत्य कार्य गरे, त्यसको सबै नेपालीले अति श्रद्धा र सम्मानका साथ नमन गनै पर्छ। राष्ट्र निर्माण गर्ने कार्य निश्चय नै सहज थिएन। युवराजाधिराज हुँदादेखि नै पृथ्वीनारायणले राज्यविस्तार गर्ने क्रममा नेपालका स–साना राज्यका राजाहरूको अस्पष्ट नीति, परस्परमा वैरभावको सामना गर्नु परेको थियो। यस्तो बेलाको मौका छोपेर ब्रिटिस शासकले नेपाललाई आफ्नै अधिनमा राख्ने जमर्को गरेको बुझे। त्यसबाट जोगिन नेपालभित्र रहेका ससाना बाइसे चौबिसे राज्यलाई एक ढिक्का बनाउन एकीकरणको अभियान सुरु गर्ने भावना उनीभित्र विकसित भयो।
पृथ्वीनारायण गोरखा राज्यको राज्यारोहण गर्दाको बेला गोरखा राज्य एक निर्धन र कम शक्तिशाली राज्य थियो। त्यस समय कतिपय पूर्वका सेन राज्यहरू, पञ्चिमका बाइसे चौबिसे राज्यहरू र उपत्यकाका मल्ल राज्यहरू आन्तरिक छलकपट र कलहमा अल्झिएका थिए। राष्ट्रिय एकीकरणको सोच उनीहरूमा थिएन। गोरखा राज्य अरू राज्यभन्दा निर्धन भएकाले उसलाई बाहय आक्रमणबाट सदैव त्रास थियो। एकीकरणको अभियानलाई सफलिभूत पार्न त्यसबेलाको नेपाल उपत्यकामाथि जसरी भए पनि विजय हासिल गर्नुपर्छ भन्ने दूरगामी सोच उनमा थियो। त्यसैले अभियानलाई सशक्त रूपमा अघि बढाए।
त्यसका लागि प्रथमतः नुवाकोट राज्य जित्नुपर्ने बाध्यात्मक अवस्था थियो। त्यसैले उनले पहिले नुवाकोट माथि विजय प्राप्त गरे र नुवाकोटमै आफ्नो राजधानी बनाए। नेपाल उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुरका राजाहरूमा आपसी मेलमिलाप नभएर वैरभाव हुँदा साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरी उपत्यकामाथि पटक–पटकको अभियानपछि विजय प्राप्त गरे। यो विजयपश्चात् उनले नेपाल उपत्यकाभित्रको काठमाडौंलाई नै स्थायी राजधानी बनाएर शासन सञ्चालन गरे।
नेपाल राष्ट्रको निर्माणको जग बसाउन पृथ्वीनारायणले विजय कार्यबाहेक अरू प्रशस्त कार्यहरू गरेका थिए। लडाइँ गरेर राज्य विस्तार गर्ने लक्ष्यमात्र उनको थिएन। जुन कुरा उनले विजय कार्यपछि अपनाएका नीतिहरूबाट स्पष्ट हुन्छ।
वास्तवमा उनले अपनाएका परराष्ट्र, गृह, उद्योग एवं सांस्कृतिक नीतिहरूको धरातलमा उठेर नै वर्तमान नेपाल राष्ट्रको निर्माण हुन सकेको हो। उनले जहाँ–जहाँ विजय प्राप्त गरे, त्यस–त्यस ठाउँको संस्कृति, कला र साहित्यलाई संरक्षण प्रदान गर्न र अपनाउन जुन उदारता उनले देखाए, त्यही कारणले नै वर्तमान नेपाल राष्ट्र अस्तित्वमा आउन सकेको हो।
अन्य राज्यमाथि युद्ध गरी विजय प्राप्त गर्ने, गोरखा राज्यमा गाभ्ने र गोरखालाई नै राजधानी केन्द्र बनाएको भए अन्य राज्यहरू र काठमाडौं उपत्यकाको संस्कृति, कला र साहित्यप्रति उदासीनता देखाउने जस्ता कार्यहरू गरेका भए के हुन्थ्यो होला ? वा, ती राज्यहरूका सम्पत्ति लुटेर लगेका भए निश्चय नै पृथ्वीनारायण राष्ट्र निर्माता नभए ‘विस्तारवादी’ राजा कहलिन्थे। तर, त्यसो नगरेर व्यापक दृष्टिकोण राखी उदार नीति र सहिष्णुताको धरातलमा टेकेर उनले राज्यहरूको एकीकरण गरे। त्यही कारणबाट उनी राष्ट्र निर्माता र राष्ट्रिय एकताको प्रतीक बन्न सकेका हुन्।
धर्म, संस्कृति तथा भाषाको झगडाले विश्वका कैयौं देशले आफ्नो अस्तित्व तथा प्रान्त नै गुमाएका घटनाहरू विश्व इतिहासमा प्रशस्त भएको बुझेका थिए पृथ्वीनारायणले। विभिन्न धर्मावलम्बीको कुनै पनि संस्कार, संस्कृतिको आस्थामा धावा बोलेनन्, प्रतिकार पनि उनले गरेनन्। आफ्नो कुलधर्म नछोड्नु भन्ने सन्देश नै दिए। जुन आफंैले गरेर देखाए। कीर्तिपुरका नेवार वर्गहरूले कुनै मंगल उत्सवमा कुमारी कन्याको ससम्मान पूजा गरी पाउमा ढोग्ने गर्छन्। धेरै प्रयासबाट कीर्तिपुर विजय गरेपछि पृथ्वीनारायणले पनि कुमारीको पूजा गरी पाउमा ढोगे। अनि आशीर्वाद लिई नगरवासीलाई भोज खुवाए भन्ने छ।
पृृथ्वीनारायण शाहको कुशल प्रशासनिक योग्यता उनका दिव्य उपदेशबाट थाहा लाग्छ। नेपालको भूबनोटको अध्ययनको आधारमा सम्पूर्ण नेपालको विकास गर्ने योजना उनले बनाए। जसअनुसार ‘खानी भएको ठाउँमा मानव बस्ती वा वासस्थान भए त्यस बस्तीलाई स्थानान्तरण गरी अन्य उद्योग चलाउन’, ‘प्रजा मोटा भए दरबार बलियो हुन्छ’, ‘अन्याय मुलुकमा हुन नदिनु’, ‘नियानिसाफ बिगार्ने भनेका घूस खाने र खुवाउने हुन्’, ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबै जातको साझा फूलबारी हो’ भन्ने जस्ता कैयौं सारगर्भित दिव्योपदेश उनले दिए।
पृथ्वीनारायणले नेपाल दुई ढुंगाबीचको तरुलको भौगोलिक अवस्थामा रहेको यथार्थतालाई मनन् गर्नुपर्ने कुरा औंल्याए। उक्त ढुंगालाई हल्लन नदिई ढुंगाबाट सतर्क रहन दक्षिण भारत र उत्तर चीनसँग समदुरी राखी विशेषतः भारतसँगको व्यवहारमा निकै चनाखो हुन सुझाए। उनको त्यस अवस्थाको दूरदर्शिता आजसम्मको नेपाली कूटनीतीको आधार–स्तम्भका रूपमा लिइन्छ। तर, त्यसलाई व्यवहारमा लागू गरिएको देख्न भने पाइँदैन। त्यसैले आज पनि विभिन्न शीर्षनेताहरू आफ्नो राजनीतिक स्वार्थका लागि स्वास्थ परीक्षण, तीर्थयात्रा, सामाजिक भेटघाट गर्ने बहानामा दिल्ली धाउने र त्यहाँका नेताहरूबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेको देखेजानेकै हो।
पृथ्वीनारायणको वीरता, लगनशीलताको अपव्याख्या गरी कीर्तिपुरको विजयमा त्यहाँको बासिन्दाको १७ धार्नी नाक काटेको आरोप लगाई केही विदेशी इतिहासकार भनाउँदाले सत्य तथ्यलाई बंग्याएर कुसित भावनाबाट इतिहास कोरेको पाइन्छ। इतिहासकारहरूले भावी पुस्तालाई गलत धारणा प्रेषित नहुने गरी लेख्नुपर्छ। जगजाहेर भएकै कुरा हो। मल्ल राजाहरूले आफ्नो राज्य जोगाउन पश्चिमाहरूप्रति निकै उदारता देखाएका थिए। संविधान एवं राजनीतिक विश्लेषक नीलाम्बर आचार्यको भनाइमा इतिहासलाई सम्मान नगर्नेले वर्तमानलाई अर्थपूर्ण र भविष्यलाई समुन्नत बनाउन सक्दैन। अर्थात् पृथ्वीनारायणको इतिहास मूल्यांकन नगर्नेले नेपालको स्वाधिनता बचाउन सक्दैन। बीपी कोइरालाले पृथ्वीनारायणको योगदानबाट यो देशको जग स्थापना भएको उल्लेख गरेका छन्। सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायणलाई वीरयोद्धा र डिल्लीरमण रेग्मीले देशभक्तको संज्ञा दिएका छन्।
कुनै समय केही पार्टीका व्यक्तिहरूले पृथ्वीनारायण शाहको कीर्तिलाई ओझेलमा पारेर उनको शालिक भत्काउने काम गरे। राष्ट्रिय र नागरिक स्तरबाट गरिएको सम्मानलाई तिरस्कार गरेर मौसुफको गौरवशाली इतिहासको अपव्याख्या गरे। मौसुफलाई युद्ध सरदारका व्यक्तित्वमा मात्र खुम्च्याउने काम पनि गरे। आफ्नो राष्ट्रको इतिहासको पाना च्यात्ने व्यक्ति भनेको आफ्नै अस्तित्वलाई अस्विकार गर्नु र आफ्नो पहिचानलाई धमिल्याउने व्यक्ति हुन्। पृथ्वीनारायणलाई राष्ट्रनिर्माताको रूपमा अस्विकार गर्नु भनेको वर्तमान नेपाल राष्ट्रको पहिचानलाई धुमिल बनाउन खोज्नु हो।
राष्ट्रका महान् पथप्रदर्शक र चिन्तनका रूपमा नेपालले अपनाउनुपर्ने विदेश नीतिको सन्दर्भमा सुरेन्द्र केसीले आफ्नो कृति ‘नेपालको कूटनीतिक इतिहास’ पृष्ठ ३८ मा उल्लेख उहाँको भनाइ निकै चिन्तनपरक पाइन्छ। लेखिएको छ, ‘पृथ्वीनारायण शाह अंग्रेजहरूसँग सशंकित थिए। उनी राष्ट्र एकीकरण गरी बलियो भएर अंग्रेजलाई भित्र पसन नदिने दाउमा थिए। उनी अंग्रेजहरू गोरखालीहरू बलिया हुनुभन्दा पूर्व नै दमन गर्न चाहन्थे। पृथ्वीनारायणले अंग्रेजहरूलाई सिन्धुलीगढीबाट लखेटेका थिए, उपत्यका विजयपछि तीनै सहरका पादरीहरूलाई देश निकाला गरेका थिए। पृथ्वीनारायण शाहको अंग्रेज विरोधी भावना उनको जीवनकालसम्म मात्र सीमित रहेन। उनको मृत्युपछि पनि नेपाल दरबार दक्षिणतर्फ सतर्क रहनु, हिन्दुस्थान दबाइराख्याको छ भन्ने उनको दिव्योपदेशलाई आफ्नो विदेश नीतिको मूल आधार बनाई चल्यो।’