जिउँदो मासु

व्यंग्य

जिउँदो मासु
सुन्नुहोस्

दुई  हप्ताअगाडि सुपर्णखाको घर पुग्दा उनीसँग भेट भएको थिएन। उनको चिठी लिएर म  फर्केको थिएँ। चिठीले मलाई तत्काल क्रोध र आश्चर्यले गाँजे पनि उनको  अबको अरू पनि प्रतिक्रिया छ कि भनेर बुझ्न आज जाने सोच्दै थिएँ, उनी नै  टुप्लुक्किए। पहिलेको कुरा बिर्सिए झैं गरी मैले उनलाई स्वागत गरें।  चियाको सुर्को नसकिउञ्जेल सामान्य कुरा मात्र भयो।

राष्ट्र सञ्चालनका  लागि अर्थको व्यवस्था मिलाउने अर्का जमातका मेरा मित्रहरूले गरिआएकै थिए। तर  यसपालि मैले अलि फरक ढंगले गर्ने सोचेको छु। अब त मेरो कामबाट यिनी  पक्कै प्रभावित हुन्छन्, मेरो प्रशंसा नगरी बस्न सक्दैनन् भनेर भन्न थालें, ‘हेर,  तिमीलाई शायद त्यसको हेक्का छैन क्या र। हेक्का भएको भए प्रशंसा गरिसक्थ्यौ। प्रशंसा नगरी सुख्खै छैन। मैले गरेको उपलब्धिमूलक कुराको विषयमा किन  चासो राख्थ्यौ र ! प्रशंसा गर्न भनेपछि तिमी कति कञ्जुस छौ, हगि ?’

मेरो  कुराले उनलाई राम्रै घोचेछ क्या र। भने, ‘त्यसो नभन, मित्र। म  आलोचनाभन्दा प्रशंसा गर्न बढी मन पराउँछु। तर प्रशंसा गर्ने काम हुनुपर्‍यो नि  त।’

मैले मुस्कुराउँदै गमम्क परेर भनें, ‘हेर, आयस्रोतको एउटा नयाँ  तरिका विप्रेषणको मैले केही वर्षदेखि प्रयोगमा ल्याएर देशमा एउटा ठूलो  रकम संकलन गरिरहेको छु। अर्कै जमातका मेरा साथीहरूले मैले जति विस्तारपूर्वक  गर्न सकेका थिएनन्। सकेसम्म यसको बढीभन्दा बढी प्रयोगमा म तल्लीन छु। यही  विस्तार बढीभन्दा बढी गर्दै जाने नै मेरो तरिका हो। मैले यस्तो बढाइदिएँ कि  अहिले मलाई आनन्द भएको छ। यस्तो राम्रो कामका लागि यसपाला त मेरो  प्रशंसा गर्छौ होला नि।’

अलि मुस्कुराउँदै उनले भने, ‘मित्र, तिमीले देशमा उद्योगधन्दा, कलकारखानाको विस्तार गरेको भए अवश्य पनि म प्रशंसा गर्थें।  तिमीलाई खुसीले अँगालो हाल्थें। भएका उद्योग सबै तहसनहस गर्‍यौं। पद र  पैसाको लालच गरेर तिम्रा र अरू तिमी जस्तै जमातहरू मिलेर विदेशीलाई रिझायौ,  आफ्नै जनता बिर्सियौ। पहिला खाद्यान्नलगायत कतिपय कुरा निर्यात गर्ने हाम्रो  देशलाई हरेक कुरामा आयात गर्ने देशमा परिणत गर्‍यौ। राष्ट्रलाई आयात  निर्भर बनायौ। विदेशीकै कठपुतली बनेर, उनमाथि देशलाई निर्भर बनाउन कृषिजन्य भूमिलाई टुक्राटुक्रा पारेर निवास उमार्ने बनायौ र अझै बनाउँदैछौ । अनि तिमीलाई कसरी प्रशंसा गर्ने ? कुन चाहिँ राम्रो काम गरेका छौ  र प्रशंसा गर्ने ?’

मैले प्रशंसा पाउन जुन कुरा गरेको थिएँ, त्यसको कुनै मतलब नै नगरी अप्रासंगिक कुरा उठाएर बिनासित्तिमा अन्तै कुरा मोडेर कहाँ छिद्र भेटिन्छ भन्दै अनुसन्धान गर्ने यी छिद्रान्वेषी मित्रलाई के भनुँ ! मेरा मनमा उनीप्रति वितृष्णा उठ्न खोजिसकेको थियो। जे भए पनि बालसखा  हुन् भनेर उठ्न खोजेको वितृष्णालाई मैले दबाइदिएँ र भनें, ‘ल भैगो, त्यो कुरा छोड। मैले अघि भनेको कुरामा त तिमीले प्रशंसा नगरी धरै  पाउँदैनौ। देशमा विदेशी मुद्रा भिœयाउने कम्ता ठूलो काम गर्‍या हो मैले ? त्यसले गर्दा देशमा रोजगार सिर्जना गर्नै परेन। विदेशी मुद्राको अभाव पनि  भएन।’

सुपर्णखा पडकए, ‘खुब राम्रो काम गर्‍यौ। रोजगार सिर्जनाको सोचको विकल्प युवा शक्तिको निर्यात हो ? विदेशी मुद्रा कमाउने  भाँडो युवाशक्तिको बिक्री हो ? युवाशक्ति भनेको सिर्जनाको मुहान हो, बुद्धि, जाँगर, क्षमता र विकासको भण्डार हो। देश विकासका लागि तिनको  संरक्षण र यथोचित प्रोत्साहन अनिवार्य हुन्छ भविष्यका सन्ततिका उज्ज्वल मार्ग  निर्माणका लागि पनि। त्यस्तो अमूल्य मानव  श्रम, शक्तिको दुरुपयोग गरेर  तिमी कसरी प्रशंसा खोज्न सक्छौ र म कसरी प्रशंसा गर्न सक्छु ?’

मेरो पनि झोक बोल्यो यसपालि, ‘जे होस्, विदेशी मुद्रा त आर्जन भएकै छ नि। यो कम्ता उपलब्धिमूलक कुरा हो ?’मेरो  कुरा सकिन नपाउँदै उनी कडकए, ‘जे गरेर भए पनि विदेशी मुद्रा कमाउनु नै  उपलब्धि मान्ने हो भने तस्करी गर न, अवैध सामग्रीको भण्डार थुपारेर त्यसैको  निर्यात गर न, झन् धेरै विदेशी मुद्रा आर्जन हुन्छ। समाजको जिम्मा लिएर  बसेको मान्छेले त्यस्तो नीच कुरा गर्न सुहाउँछ ?’
संयमित हुँदै मैले गुनासो गरें, ‘मेरो जे कुरामा पनि तिमी खोट मात्र देख्छौ, कहिले सकारात्मक कुरा देख्दैनौ।’
उनी पनि यसपाली स्वाभाविक मुद्रामा आए, “हेर, शेक्सपियरको द मर्चेन्ट अफ भेनिस किताब त पढेकै हांै नि हामीले।’मैले हत्तरपत्त बोली हालें, ‘त्यो त हाम्रो कोर्समै थियो नि।’

उनी गम्किएर बोले, ‘हो, त्यसको एउटा क्रूर पात्र थियो नि साइलक भन्ने। त्यसले रकम उठाउन एकजना मान्छेको एक पाउन्ड मासुमा मात्र दाबी गरेको  थियो। तिमीहरूले त लाखौं मानिसको सिंगो शरीरमाथि दाबी गरेर मोलमोलाई  गरिरहेछौ रकम उठाउन त्यो पनि आफ्नो मोजमज्जाका लागि। आफ्नो अस्तित्व र  अधिकार अक्षुष्ण राख्नका लागि। केही समयअगाडि तिमीजस्तै अर्का जमातकाले बडो गर्व गर्दै बोलेका थिए– मैले दुई लाख युवालाई निर्यात गर्ने प्रबन्ध मिलाएर  आएको छु विदेशको एउटा मुलुकमा। बुचडले पनि मान्छेको मासु बेच्दैन। उसको पनि एउटा अनुशासन हुन्छ, विवेक हुन्छ। तिमीजस्ता विभिन्न जमातका  मान्छेको त न अनुशासन छ, न विवेक। मान्छेको मोलमोलाइ गर्दै अरूलाई  सुम्पिएर अकुत सम्पत्ति थुपार्न पाए मक्ख, मर्नु पर्दैन ? इतिहासले कति  धिक्कार्ला तिमीहरूलाई।’
म क्रोधले गर्जिन खोज्दैथिएँ, उनले हत्तपत्त बाटो तताइहाले।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.