तनावमुक्त हुन योग
मनसँग जोडिएका समस्याहरूलाई मानसिक समस्याका रूपमा लिन सकिन्छ। मानसिक समस्या भएका व्यक्तिहरू डराउने, एक्लै बस्ने, उदास हुने र नकारात्मक कुराहरू मात्रै सोच्ने हुनाले उनीहरू विस्तारै भावनात्मक रूपमा समेत कमजोर हुँदै जान्छन्। यसरी चिन्ता र तनाव बढ्दै जाँदा मानिसलाई डिप्रेसनसमेत हुन सक्छ। यस्तो समस्याहरू सबै उमेर समूहमा भए तापनि सबैभन्दा बढी ज्येष्ठ नागरिकमा हुन्छ। त्यसमा पनि पुरुषको तुलनामा महिलामा बढी हुने गरेको पाइन्छ।
आत्मविश्वासको कमी, समाज वा परिवारमा सम्मान नपाउनु, घरेलु हिंसा, दुव्र्यवहार आदिले महिलामा मानसिक समस्या बढेको विभिन्न अध्ययनले देखाएको छ। आजको प्रतिस्पर्धाको युगमा आवश्यकताको परिपूर्ति नहुँदा अधिकांश मानिस तनाव र चिन्तामा छन्। विकासोन्मुख देशहरूमा भन्दा विकसित देश र गाउँमा भन्दा सहरमा यो समस्या दिनप्रतिदिन बढ्दै छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक चार जनामध्ये एक जना मानसिक वा स्नायुसम्बन्धी समस्याबाट पीडित छन्। संगठनको विश्व मानसिक स्वास्थ्य प्रतिवेदनले विश्वभर एक अर्बभन्दा बढी मानिसमा मानसिक समस्या रहेको जनाएको छ। प्रतिवेदनले डिप्रेसन र चिन्तालाई सबैभन्दा बढी मानिसमा हुने मानसिक समस्याको रूपमा पहिचान गरेको छ। नेपालमा सन् २०१९ को जनवरीदेखि सन् २०२० को जनवरीसम्म गरिएको नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा सहभागी वयस्कहरूमध्ये १० प्रतिशत मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्या भएको बताए। ४.३ प्रतिशत मानिस हाल मानिसक समस्याले ग्रस्त रहेका पाइयो। करिब एक चौथाई अर्थात् २३ प्रतिशतले मानसिक समस्याका लागि कुनै न कुनै उपचार खाजेको सर्वेक्षणले देखाएको छ।
मानसिक समस्या भएका व्यक्तिहरूलाई आफूलाई रोग लागेको थाहै हुँदैन। परिवार वा साथीहरूले यस्तो कुरालाई समयमा नै ख्याल नगर्ने हो भने पछि गएर डिप्रेसन बढ्दै जान्छ र परिणामस्वरूप आत्महत्यासम्मको कदम चालिने सम्भावना रहन्छ। त्यसैले यो रोग सामान्य देखिएता पनि समयमा नै समाधान गर्न नसके यसले विकराल रूप लिन सक्छ। मानसिक समस्या जति धेरै विकराल बन्दै गयो, त्यति नै यसलाई समाधान गर्न गाह्रो पर्छ। तर हरेक समस्याको जड सुरुमै पत्ता लगाएर उपचार गरियो भने त्यसको निराकरण सम्भव हुन्छ। मानसिक रोगीहरूको पनि उपचार सम्भव छ। सुरुमै घर परिवारले सामान्य आवश्यकता पूरा गर्ने, सँगै बस्ने, हाँस्ने, खेल्ने, घुम्ने, भेटघाट गर्ने, व्यायाम गर्नेलगायतका विभिन्न कार्यहरू गरी यो समस्याबाट बिरामीलाई छुटकारा दिलाउन सकिन्छ। यसरी केही समय अभ्यास गर्दा पनि मानसिक समस्यामा कमी आएन भने मनोचिकित्सकसँग परामर्श गरेर समस्या समाधानमा लाग्नुपर्छ।
हरेक व्यक्तिले मानसिक स्वास्थ्यलाई राम्रो राख्न योग गर्नु जरुरी छ। योगले शारीरिक र मानसिक विकास गरी सधंै स्वस्थ र आनन्द तवरले बाँच्ने वातावरण सिर्जना गर्छ। त्यसपछि ध्यानको माध्यमबाट उच्च चेतनामा बाँच्ने काम पनि गराउँछ। योग भनेको जोड हो। यसले शरीर र मनलाई आत्मा र परमात्मासँग जोड्ने काम गर्छ। प्रसिद्ध विद्वान महर्षि पतञ्जलीले योगलाई ‘योगश्चितवृत्ति निरोध’ अर्थात योगले चित्तलाई शुद्ध गर्ने काम गर्छ भनेका छन्। श्रीमद्भागवत गीतामा योगलाई ‘योग कर्मशु कौशलम्’ अर्थात् योगले काममा कुशलता ल्याउँछ भनिएको छ। महाभारतमा योगलाई मोक्ष प्राप्त गर्ने साधनको रूपमा व्याख्या गरिएको छ। त्यसैले योगलाई विज्ञान, चिकित्सा, कला आदि भाषाले पनि परिभाषित गरिएको छ। योगले शारीरिक रूपमा स्वस्थ राख्ने मात्र नभई मानसिक शान्ति र आध्यात्मिक रूपमा आनन्दित बनाउने काम गर्छ।
आज विश्वभरि योगको प्रभाव बढ्दै गएको पाइन्छ। विश्वमा प्रत्यक्ष रूपमा करिब एक अर्ब मानिसले नियमित योग गर्ने अनुमान गरिएको छ। त्यसैले संयुक्त राष्ट्रसंघले १० वर्षअघि नै जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। हाल प्रत्येक वर्ष उक्त दिन विश्वभर विभिन्न गतिविधिका साथ योग दिवस मनाइने गरिन्छ। नेपालमा भने माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ। यस वर्षको योग दिवसको नारा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको लागि योग’ छ। यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगको महŒव बढ्दै जानु भनेको योगले समाज र देशमा पारेको सकारात्मक प्रभावकै कारण हो। नेपाल सरकारले पनि औपचारिक रूपमा योगलाई पाठ्यक्रममा समेटेर विभिन्न स्कुल, कलेज र विश्वविद्यालयहरूमा अध्ययन अध्यापन सुरु गरेको छ। हाल योगलाई खेलकुद संघमा दर्ता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय योगासन प्रतियोगिताहरू पनि सञ्चालन हुँदै आएका छन्। यसले अनौपचारिक क्षेत्रहरूमा पनि योगको प्रचार व्यापक हुँदै गएको देखिन्छ। योगासन प्रतियोगिताले गर्दा साना नानीहरूले पनि आफ्ना विद्यालयमा नियमित योग गर्न रुचि देखाउने गरेका छन्।
परमात्माले हरेक व्यक्तिलाई जन्मजात नै सधैं स्वस्थ, आनन्दित र खुसी भएर बाँच्ने बहुमूल्य वरदान दिएर पठाएको हुन्छ। तर हामी मानव जाति भौतिक आकर्षण, सुविधा, मानसम्मान आदिको भागदौडमा सधैं चिन्ता, डर, त्रास र तनावमा बाच्न बाध्य छौं। जसले गर्दा हामी आफैंले उक्त वरदानलाई अभिशापमा बदलिरहेका छौं।
हरेक व्यक्तिलाई सधैं खुसी, शान्त र आनन्दित राख्न दिमागमा उत्पादन हुने डोपामाइन, सेरोटोनिन, अक्सिटोसिन र एन्डोरफिन्स नामक हर्मोनहरूले महŒवपूर्ण भूमिका खेल्छ। यी हर्मोनहरूलाई ‘खुसी हर्मोन’ पनि भन्ने गरिन्छ। यिनको सक्रियताले मानिसको मुडलाई खुसी तुल्याउँछ। हाम्रो पाँच वटा ज्ञानेन्द्रियले सधैं हामीलाई बाहिरी संसारमा खुसी, आनन्द र शान्ति खोज्न लगाउँछन्। त्यो बाहिरी संसार वा भौतिक वस्तुमा पाइने सुख सुविधा र शान्ति अस्थायी हुन्छन्। अब हामीले स्थायी सुख प्राप्त गरेर सधैं सुखी, शान्त र आनन्दित हुन आफ्नो मानसिक स्वास्थ्यलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्छ। यसले हामीलाई सम्पूर्ण रूपमा स्वस्थ जीवन जिउन सघाउँछ।
योगका धेरै आयामहरू छन्। तीमध्ये मानसिक स्वास्थ्य ठीक राख्न नियमित योग, प्राणायम र ध्यान गर्नु जरुरी छ। मानसिक स्वास्थ्यलाई राम्रो राख्ने योगासनहरूमा शीर्षासन, सर्वांगासन, भुजंगासन, हलासन, हास्यासन आदि पर्छन् भने प्राणायाममा भस्त्रिका प्राणायाम, अनुलोम बिलोम, भ्रामरी, उदगथ प्राणायाम आदि पर्छन्। यी विविध योगासन तथा प्राणायमहरू नियमित रूपमा गरिसकेपछि अन्त्यमा ध्यान गनु जरुरी हुन्छ। ध्यानले मानसिक स्वास्थ्य ठीक राख्न सहयोग पु¥याउँछ। योगले शरीरका सम्पूर्ण अंगहरूलाई सक्रिय पारी तीनलाई स्वस्थ राख्छ। योगमा आएको व्यापक परिवर्तनबाट योग एक ध्यान समाधि मात्र नभई जीवन जिउने कलाको रूपमा विकसित हुँदै आएको छ। नियमित योग, प्राणायम र ध्यान गरेमा हरेक मानिसको सर्वांगिण विकास हुनेछ।
मानसिक स्वास्थ्य मनसँग जोडिएको हुनाले यसलाई सधैं सक्रिय र सकारात्मक ऊर्जा प्रदान गर्ने काममा लगाउनु उत्तम हुनेछ। मनमा उदासीनता, डरत्रास, तनाव आदि नकारात्मक कुराहरूबाट टाढा रहेर आफूलाई खुसी र शान्ति दिने सकारात्मक काममा लगाउनु पर्छ। त्यसैले हरेक व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यलाई सधैं ठीक राख्न नियमित योग, प्राणायाम र ध्यानका साथमा प्रकृतिसँग नजिक हुने, प्राकृतिक भोजन खाने, नियमित राम्रो निद्रा सुत्ने, सकारात्मक सोचको विकास गर्ने, समयसमयमा नयाँ ठाउँमा भ्रमण गर्ने, नयाँ साथीहरू बनाउने, आपसमा मिलेर बस्ने तथा हाँस्ने र हसाउँने गरौं। यसले हरेक व्यक्तिको जीवन सुखी बनाउनुका साथै परिवार, समाज र देशलाई पनि समुन्नतितर्फ डो¥याउँछ।
(खड्का, पतञ्जली योग केन्द्र भक्तपुरका निवर्तमान अध्यक्ष हुन्।)