विगतका गल्तीको समीक्षा गरेर राजनीतिक विकृति र विसंगतिलाई अन्त्य गरौं : नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका हु्न् ।
कम्युनिष्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरेपनि जनता सन्तुष्ट हुन नसकेको उनको भनाई छ । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सबैको रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री नेपालले अन्तर्राष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठीक कुराको विरोध र सहि कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे । निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रुपमा मनाउने गरिन्छ ।