प्रमुख प्रशासकीय अधिकृतको बदमासी, नुनदेखि सुनसम्म सरकारी खर्च
जनकपुरधाम : महालेखा परीक्षकको कार्यालयको गत वर्षको प्रतिवेदनले सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई खर्च मितव्ययिता अपनाउन चेतावनी दिएको थियो । तर सरकारी स्रोतको दोहन तथा फजुल खर्चको व्ययभार धान्नै नसक्ने गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले इन्धन, भ्रमणभत्ता, विलासिताका सामान, मेसिनरीका सामान खरिद गरेको पाइएको छ ।
जबकि, सरकारी फजुल खर्च नियन्त्रण र मितव्ययिता कायम गर्न ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७’ पनि जारी भएको छ । तर धज्जी उडाउँदै चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले अनियमित रूपमा भत्ता वितरण, इन्धन खर्च, विलासिताका सामानदेखि पेस्की रकम निजी काममा प्रयोग गर्दै आएको रहस्य खुलेको छ ।
गत भदौ २३ गते चन्द्रनगर गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत पालले तीन महिनामै मितव्ययिता तोडेर आर्थिक आतंक मच्चाएका छन् । प्रमुख प्रशासकीय पालले दुई महिनामा नियमविपरीत आफ्नो भ्रमण खर्चमा करिब दुई लाख रुपैयाँ निकासा गरेका छन् । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको भ्रमण आदेश गाउँपालिका अध्यक्षले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । तर, अधिकृत पालले भ्रमण नै नगरी आफूखुसी आफ्नो भ्रमण आदेश आफैं स्वीकृत गरी लाखौं रकम निकासा गरेको भेटिएको छ ।
भारतीय गाडीमा इन्धनको वितरण र प्रयोग
अधिकृत पालले मनोमानी ढंगले इन्धन खर्च गर्ने गरेको पाइएको छ । असोज दुई सातामा मात्रै आफू तथा आफूसँगै आएका कर्मचारी दिलीप पण्डितको नाममा १ सय ४८ लिटर डिजेल र एक सय लिटर पेट्रोल खर्च गरेको प्रमाण भेटिएको छ । त्यसैगरी मंसिरमा अधिकृत पालले आफ्नो र पण्डितको नाममा २ सय ७० लिटर डिजेल र १९ लिटर पेट्रोल खर्च गरेको कागजात भेटिएका छन् ।
हाजिर भएको केही समय भारतीय नम्बर प्लेटको गाडी निजी रूपमा प्रयोग गरेका पालले सार्वजनिक सूचना प्रकाशन नगरी खुल्ला प्रतिस्पर्धाको माध्यमबाट गाडी भाडामा लिएको पाइएको छ । जबकि उपसचिवसम्मले कार्यालय प्रयोजनका लागि खरिद गर्ने गाडी व्यक्तिगत रूपमा समेत चढ्न पाउँदैनन् । तर पालले कार्यालय प्रयोजनको निमित्त भाडामा लिएको गाडी आफ्नै घरसम्म लाने गरेका थिए । पालले आफूसँगै चालकसहित गाडी घर लैजाने गरेका छन् । विलासिताका सामानमा लाखौं खर्च चन्द्रनगरका प्रमुख प्रशासकीय पालले लालबन्दीमा आफू बस्ने निजी डेराका लागि मनोमानी ढंगले फर्निचर, फर्निसिङ तथा डेकोरेसनका सामग्री पाँच लाखका सामान किनेका थिए । त्यसको भुक्तानीका लागि कार्यालयमा दबाब दिइरहेका छन् । अधिकृत पालले उक्त भुक्तानी नहँुदासम्म गाउँपालिकाको कार्यालय सञ्चालन तथा कार्यक्रमसँग सम्बन्धी भुक्तानी नगर्ने र कार्यालय सञ्चालनमा बाधा पुर्याउँदै आएका छन् ।
आफू बस्ने निवासको लागि खाट, विस्तारा, कार्पेट, खाना पकाउने भाँडाकँुडा, रेफ्रिजरेटर फ्रिज, बाथरुमको गिजरलगायतका सामग्रीहरू कार्यालयसँग कुनै समन्वय नै नगरी आफूखुसी खरिद गरेका थिए । यसको भुक्तानी गरे मात्र कार्यालयको नियमित अन्य भुक्तानी गर्ने सर्तसहित दबाब दिइरहेको स्रोतले बतायो ।
२५ हजारको कोठाभाडा, लाखौंका मेसिनरी खरिद
चन्द्रनगर गाउँपालिकाको गाउँसभाले १० लाख रुपैयाँ मेसिनरी औजार शीर्षकको लागि विनियोजन गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत पालले त्यसबाट आफ्नो निजी डेराको लागि दुई वटा ल्यापटप र दुई वटा प्रिन्टर खरिद गरेका छन् । यतिमात्र हैन उनले सर्लाहीको लालबन्दीमा आफू बस्ने निजी डेराका लागि पालिकासँग कुनै समन्वय नगरी मासिक २५ हजार रुपैयाँ भाडा उपलब्ध गराउने गरी सम्झौता गरेका छन् ।
पालिकामा भुक्तानीका लागि पेस गरेका ती सामग्रीहरूमा ३३ हजार रुपैयाँको एक बेड, १८ हजार ७ सय ५० रुपैयाँको १ लो बेड, १५ हजारको दरले ३० हजार रुपैयाँको २ थान म्याट्रेस, ७ हजार ५ सय दरले २ थान टी–टेबलको १५ हजार रुपैयाँको बिल पेस गरेका छन् । लालबन्दी होम डेकोरेटले पालिकाको नाममा ०८१ असोज १५ गते ९ हजार ४ सय रुपैयाँको १ थान ठूलो टी टेबल, सिंगल मिरर भएको १ थान दराजको २६ हजार २ सय ५० रुपैयाँ, ११ हजार ८ सय ७५ रुपैयाँको १ थान सिंगल टेबल, १५ हजार ६ सय २५ रुपैयाँको १ थान डबल टेबलको बिल पेस गरेको एक कर्मचारीले अन्नपूर्णलाई जानकारी दिए । १ हजार १ सय २५ रुपैयाँको दरले १२ थान प्लास्टिकको हाइब्याक कुर्सी १३ हजार ५ सय, प्लास्टिकको १ थान डाइनिङ टेबलका लागि ३ हजार २ सय ५०, २० हजार ६ सय २५ रुपैयाँको १ थान बुक र्याक, ७ हजार ५ सय रुपैयाँको १ थान सुज र्याक, ८ हजार १ सय २५ रुपैयाँको दरले १६ हजार २ सय ५० रुपैयाँको २ थान रिभोल्भिङ चेयर र १ हजार ८ सय ७५ रुपैयाँको दरले ३ हजार ७ सय ५० रुपैयाँको २ थान हेगर स्टिलको बिल पालले पेस गरेका छन् ।
त्यसैगरी, पालले निजी निवासका लागि लालबन्दीकै ढुंगाना फर्निचर तथा फर्निसिङ सप्लायर्सबाट असोज १६ गते छुट्टाछुट्टै बिल पेस गरेका छन् । जसमा कार्पेट प्रिन्टेड ग्राफिक्सको ५० हजार, कार्पेट ग्यालेक्सीको ३ हजार १ सय ८७, पर्दा हेभी १५ पिसको २६ हजार २ सय ५०, डेनड्राइट ३ लिटरको ३ हजार, बाथरुम म्याट ३ पिसको १५ सय, सागी म्याट ३ पिसको १५ सयको बिल पेस गरिएको छ । बेड सिट ३ पिसको ११ हजार २ सय ५०, सिरानी पिलो ६ पिसको ६ हजार, झुल ३ पिसको १ हजार ६ सय ९५, डोरम्याटको १ हजार, फमको ८ सय, वेगन स्प्रे ४ पिसको १ हजार ९ सय, रुम स्प्रे २ पिसको ५ सय ५० र अलआउट ५ पिसको ९ सय ४० को बिल पेस भएको छ ।
त्यसैगरी, ६ थान थालको २ हजार १०, १ थान ताप्केको ५ सय, १ थान कराहीको १ हजार ७ सय ५०, ३ लिटरको कुकर १ थानको २ हजार, ५ लिटरको कुकर १ थानको २ हजार ५ सय, १ थान मगको ३ सय ७५, ग्यास चुल्हो, पाइप तथा रेगुलेटरसहित १ थानको ५ हजार, सिसा ग्लास ६ थानको ७ सय ५० बिल गरेको छ ।
२ सेट कपसेटको १ हजार ८ सय ७५, डस्टबिन ६ थानको १ हजार १ सय २५, १० थान क्लिपको १ सय ५०, १ थान चाबीको २ सय ५०, १ थान ताबाको ६ सय ८८, १ किलो डोरीको ५ सय बिलसमेत पेस गरेको छ । त्यसैगरी, पिस डाबर पेस्टको २ सय ९४, तरकारी र्याकको ७ सय ७५, २ थान बाल्टिन, २ थान मग र १ थान बाटाको १ हजार १ सय ३८, डस्टबिन १ थान, साबुन केस १ थान इत्यादिको अधिकृत पालले बिल पेस गरेको छ ।