माडी पुगेर प्रचण्डले भने - बोटे समुदायको सांस्कृतिक घर बनाउन पहल गर्छु
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष रुपले सोच्नुपर्ने बताएका छन्। बिहीबार चितवनको माडी नगरपालिका- १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदीवासी जनजातीमा राखिएको भन्दै राज्यले विशेषरुपले सोच्नुपर्ने बताएका हुन्।
बोटे जातीको विकासका लागि आफूले पनि जोड दिएको उनले बताए । साथै अध्यक्ष प्रचण्डले अहिले होमस्टे चलाएर पर्यटकलाई आकर्षित गर्ने ठाउँमा बोटे समुदाय पुग्न सक्नु समग्र समुदायको नै प्रगति भएको उल्लेख गरे।
चितवनको माडी नगरपालिका- १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुगेका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।
सो अवसरमा बोटे समुदायका अगुवाहरूले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रचण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।