कोरला जोड्ने कागबेनी -छुसाङ सडक कालोपत्रे हुने
जोमसोम : कोरला नाका जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक अन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र कागबेनीदेखि छुसाङसम्मको ९ दशमलव ८ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। यसका लागि अर्थ मन्त्रालयले बजेट श्रोत सुनिश्चित गरेको आयोजनाले जनाएको छ।
मुस्ताङको कागबेनीदेखि छुसाङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का योजनाका रूपमा ५० करोड बजेट सुनिश्चित गरेको आयोजनाका प्रमुख धुब्र झाले जानकारी दिए।
योसँगै कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि छुसाङसम्म करिब ११५ किलोमिटर सडक कालोपत्रे हुने आयोजना प्रमुख झाको भनाई छ। यसअघि कोरला सडकअन्तर्गत मालढुंगादेखि कागबेनीसम्म १०५ किमी सडकको कालोपत्रे ठेक्का भई काम अघि बढेको थियो।
आयोजनाले कोरला सडक अन्तर्गत कालोपत्रे योजनाको ७५ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको उनले बताए। यस्तै, कोरला सडक अन्तर्गत कागबेनीदेखि कोरलासम्म ९७ किलोमिटर ग्राभेल भइसकेको आयोजना प्रमुख झाले बताए।
कालोपत्रे नयाँ योजनाअन्तर्गत कागबेनीदेखि छुसाङसम्मको दूरीमा अस्फाल्ट कालोपत्रे सडकको नयाँ ठेक्का प्रक्रिया जेठ महिना भित्र सम्पन्न हुने बताए।