मुगुमा सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार
मुगु : सर्जरी गरेर बच्चा निकाल्न पर्ने भएपछि मुगुमा सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
बुधबार रातिबाट सुत्केरी व्यथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका-१३ लुमा गाँउकी २५ वर्षीया ठुमा खड्कालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
जिल्ला अस्पतालमा आईसियुको व्यवस्था नभएका कारण सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत प्रदेश अस्पतालमा लगिएको हो।
जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो। जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको चेक जाँच गर्दा बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र बच्चाले दिसा खाइसकेको हुन सक्ने भएकाले सर्जरी गरेर बच्चा निकाल्न पर्ने भएपछि रिफर गरिएको प्रमुख डाक्टर नगरकोटीले बताए।
हिमपात भइरहेकै अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पतालमा पुर्याउन सकिएकोमा उनका श्रीमान ३० वर्षीय राजबहादुर खड्काले खुसी व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !