पहिरोपछि पालिकाको राहत घोषणा, पीडित परिवारलाई तीन लाख

पहिरोपछि पालिकाको राहत घोषणा, पीडित परिवारलाई तीन लाख
सुन्नुहोस्

दोलखा : गौरीशंकर गाउँपालिकाले बाढीपहिरो पीडितलाई राहत प्याकेज घोषणा गरेको छ। गत साउन ६ गते परेको अविरल वर्षासँगै गएको पहिरो र खारे खोलामा आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित परिवारका लागि राहत प्याकेज घोषणा गरेको हो।

गाउँपालिकाले पहिरो तथा कटानबाट प्रभावित परिवारलाई जस्तापाता लगायतका निर्माण सामग्रीसहित करिब ३ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

वडा नं.८ को खारे क्षेत्रमा खारे खोलाले बस्ती नजिकै तीव्र कटान गर्दै घरहरूको जग नै तान्न थालेपछि स्थानीय त्रसित बनेका छन्। खोलाको कटानका कारण कतिपय घरहरू भासिने अवस्थामा पुगेका छन् भने थप वर्षा भए बस्तीमा ठूलो क्षति हुन सक्ने जोखिम बढेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए। 

वडा नं. ८ र वडा नं. ९ मा गरी १५ घर जोखिममा परेका छन्। पाँचवटा घरमा भने बस्नै नमिल्ने अवस्था सिर्जना भएको छ। जोखिम बढेपछि ती घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

वडा नं. ९ को टासिनामा पहिरोपीडित परिवार हाल छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। वडा नं. ८ का प्रभावित परिवारका लागि भने गाउँपालिकाले अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था मिलाएको छ। 

तत्काल सुरक्षित आवासको व्यवस्था गरिए पनि स्थायी पुनर्स्थापनाका लागि थप स्रोत आवश्यक रहेको अध्यक्ष कार्कीले बताए। उनका अनुसार प्रभावित परिवारलाई जस्तापाता,  आवश्यक निर्माण सामग्री तथा अन्य राहत सामग्रीसहित करिब तीन लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइनेछ। राहत वितरण प्रक्रिया गाउँपालिकाले अघि बढाइसकेको उनले जानकारी दिए।

यसअघि साउन ६ गते रातिको बाढीले खारे खोलामा आएको उग्र भेलले वडा नं. ८ को लोङटा बस्तीमा घरमुनिको जमिन कटान गर्न थालेपछि स्थानीयले रातारात घरबाट सामान निकालेर सुरक्षित स्थानमा सार्नुपरेको थियो। खोलाको कटानले लोङटासँगै गुरुम्फी बजार र सुम्ना बस्तीसमेत जोखिममा परेका छन्। बाढीले त्यस क्षेत्रमा पुग्ने सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ भने विद्युतका पोल बगाउँदा विद्युत् सेवा समेत अवरुद्ध भएको थियो।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गुल्म हेडक्वार्टर, दोलखाले आफ्नो डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरमा रहेका गैरखाद्य राहत सामग्री गाउँपालिकाको रोहवरमा प्रभावित परिवारलाई वितरण गरेको अध्यक्ष कार्कीले बताए। ती सामग्रीले तत्कालका लागि विस्थापित परिवारलाई केही राहत पुगेको उनले उल्लेख गरे।

गाउँपालिकाले वर्षायाम अझै बाँकी रहेकाले जोखिममा रहेका बस्तीको नियमित अनुगमन गरिरहेको जनाएको छ। स्थानीयले भने राहतसँगै खारे खोलाको दीर्घकालीन नियन्त्रण, तटबन्ध निर्माण तथा जोखिममा रहेका बस्तीको सुरक्षित पुनर्स्थापनाका लागि संघ र प्रदेश सरकारले पनि शीघ्र पहल गर्नुपर्ने माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.