वीरगन्जका अस्पतालमा आकस्मिक उपचार सेवा पनि ठप्प, बिरामीहरुको बिजोग

वीरगन्जका अस्पतालमा आकस्मिक उपचार सेवा पनि ठप्प, बिरामीहरुको बिजोग

वीरगन्ज : चिकित्सक कुटिएको विरोधमा वीरगन्जका चिकित्सकहरु हड्तालमा उत्रिएका कारण यहाँका सरकारी र निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहितका सबै उपचार सेवा प्राय ठप्प छ । 

मंगलबारदेखि नेपाल चिकित्सक संघको आह्वनमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएपनि वीरगन्जका अस्पतालहरुमा भने चिकित्सकहरुले गत आइतबारदेखि नै आकस्मिकसहित सबै सेवा बन्द गर्दै हड्तालमा बसेका छन् । जसका कारण यहाँका अस्पतालहरुमा उपचारका लागि पुगेका बिरामीहरु तीन दिनदेखि अलपत्र परेका छन् । यहाँका अस्पतालमा चिकित्सकले आकस्मिक उपचार सेवा समेत बन्द गरेपछि बिरामीहरुको बिजोग भएको छ ।  

मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका लागि पुग्दा डाक्टरहरुको हड्ताल लेखिएको ब्यानर झुण्ड्याइएको देखेपछि वीरगन्ज–२२ मनियारीका बृद्ध वकिल राउतले भने ,पाखुरा दुखेर हैरान छु, इलाज गर्न आएको त डाक्टर साबहरु नै हड्तालमा छन् भन्ने सुने । प्राइभेट अस्पतालमा पनि हड्ताल छ भन्छन् । अब के गर्नु ? घर फर्किन्छु ।

नारायणी अस्पतालकै बहिरंग विभाग (ओपीडी) अगाडि भेटिएका बाराको रजवटीयाका शम्भु कुम्हालको पनि पीडा उस्तै थियो । उनले भने, ‘बृद्धा आमालाई लिएर आएको थिए । तर यहाँ त डाक्टरहरु सबै हड्तालमा पो रहेछन् । प्राइभेट हस्प्टिलमा पनि डाक्टर छैनन् । अब म के गरु ? यी बुढी आमालाई लिएर म कहाँ जाउँ ? अलपत्र परेका छौं ।’ चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भए पनि आफ्नो न्यायका लागि चिकित्सकहरुले उपचार नै ठप्प पारेर आन्दोलनमा उत्रिनु जायज नभएको उनले सुनाए । 

नारायणी अस्पतालमै डाक्टरलाई कुरेर बसेको अवस्थामा भेटिएकी पर्साको बलुवा गाउँकी बृद्धा नयन कुमारी देवीले भनिन्, ‘घरबाटै बिहान टेम्पु चढेर हस्पिटलमा आए । तर यहाँ आउँदा कोही डाक्टर भेटिएनन् । हड्तालमा छन् भन्ने सुने । ढाड र कम्मर दुखेर सहि नसक्नु छ । डाक्टरहरुको हड्ताल कहिले खुल्छ ठेगान पनि छैन । अब इलाज कहाँ गएर गराउँ मैले ? अब दवाई दुकानमा गएर दर्दको दवा (दबाइ) किन्छु त्यहि खान्छु । हस्प्टिल खुलेपछि फेरि आउँछु ।’ 

पत्नीलाई सुत्केरी बेथा लागेपछि लिएर मंगलबार बिहान नारायणी अस्पतालमा पुगेका पर्साको हरपुरका गुल्टन यादव अस्पतालमा डाक्टरहरुको हड्ताल छ भन्ने थाहा पाएपछि एकछिन त अक्कबक्कमा परे । उनले भने, ‘वीरगन्जका सबै हस्पिटलमा डाक्टरको हड्ताल रहेछ भन्ने खबर यहाँ आएपछि मात्रै थाहा पाए । अब श्रीमतिलाई लिएर भारत रक्सौलको डंकन हस्पिटलमा जाँदैछु ।’

नारायणी अस्पतालले पहिले भर्ना भई उपचाररत बिरामीहरुलाई मंगलबार दिउँसोदेखि डिस्चार्ज गरेर घर पठाउन थालेको छ । नारायणी अस्पतालका स्वास्थ्यकर्मी अजय यादवले भने, ‘डाक्टर नै आउँदैनन् । हामीले आफ्नो रिक्समा बिरामीलाई कहिलेसम्म वार्डमा राख्ने ? कहि तलमाथि भयो भने हामीले पनि कुटाइ खानुपर्छ । त्यसैले वार्डका बिरामीलाई डिस्चार्ज गरेर घर पठाइरहेका छौं ।’

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्ने र त्यहाँ कार्यरत चिकित्सक डा. प्रमोद राममाथि सांघातिक आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरेपछिमात्रै आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउन सकिने चिकित्सकहरुको अडान रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. चित्तरन्जन साहले बताए । 

उनले भने, ‘पहिले डाक्टरलाई मरणासन्न हुुनेगरी कुट्नेहरुलाई प्रहरीले पक्राउ गरोस्, अनिमात्रै इमरजेन्सी सेवा खोल्छौ भन्ने डाक्टरहरुको अडान छ। त्यसपछि मात्रै अन्य मागहरुका बारेमा सरकारसगँ वार्तामा बस्ने डाक्टर साबहरुले भनिरहनु भएको छ ।’ नारायणी अस्पतालको जस्तै वीरगन्जका निजी अस्पतालहरुमा पनि सोमबारै देखि आकस्मिकसहितका उपचार सेवा प्रभावित छ । आकस्मिक विभागमा समेत चिकित्सक नहुदाँ अस्पतालले नयाँ बिरामी भर्ना लिन मानेका छैनन् । अस्पतालका विभिन्न वाडमा पहिलेदेखि भर्ना भएका बिरामीहरुको उपचारपनि चिकित्सक नआएका कारण स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र अनमीको भरमा भइरहेको छ ।

यता वीरगन्ज हेल्थ केयर हस्पिटलकी प्रशासन प्रमुख भूमिका अधिकारीले पनि सोमबारदेखि आकस्मिक र ओपीडी सेवा बन्द रहेको बताइन् । पहिलेदेखि भर्ना भएका बरिामीहरुको मात्रै उपचार गरिरहेको उनले बताइन् । उनले भनिन्, ‘इमरजेन्सी विभागमा पनि डाक्टरहरु हुनुहुन्न । ओपीडी पनि बन्द छ । त्यसका कारण हामीले नयाँ बिरामी भर्ना गरेका छैनौं । तर पहिलेदेखि वार्डमा भर्ना भएका बिरामीहरुको उपचारमा कुनै कमी हुन दिएका छैनौं ।’ तर यस्तो पाराले कतिदिन सम्म अस्पताल चल्ने चिन्ता अधिकारीको छ । राज्यले आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन तत्कालै गरेर बिरामीको उपचारमा संवेदनशील बन्नु पर्ने उनले बताइन् । 

नारायणी अस्पतालका सबै चिकित्सकले दिए सामुहिक राजिनामा
गत शनिबारदेखि उपचार सेवा ठप्प पारे हड्तालमा उत्रिएका वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले मंगलबार सामुहिक राजीनामा दिएपछि समस्या थप बल्झिएको छ । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंह अनुसार, अस्पतालका ७१ जना चिकित्सकले मंगलबार निमित्त प्रमुख मेसु साहलाई सामुहिक रुपमा राजिनामा पत्र बुझाएका हुन् ।

nullसोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाइएको भएको वार्तामै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरुसंग दुव्र्यवहार गरेपछि थप आक्रोशित बनेका चिकित्सकहरुले सामुहिक राजिनामा दिएको निमित्त प्रमुख मेसु साहले बताए । 

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारत वीरगन्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित परिवारजन र गाउँलेले अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत तथा डा. प्रमोद राममाथि भएको निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते डा. रामको वीरगन्जमा तीन दिनसम्म उपचार गरिदाँपनि अवस्थामा सुधार नआएपछि थप उपचारका लागि सोमबार राति काठमाडौंको टमा सेन्टरमा पठाइएको छ । 

nullत्यहि घटनाको विरोधमा नारायणी अस्पतालसहित वीरगन्जका सबै अस्पतालका चिकित्सकहरु गत आइतबारदेखि नै आकस्मिकसहित सबै उपचार सेवा ठप्प पार्दै  हड्तालमा छन् । सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) ले पनि राजिनामा दिपर्ने अडान राखेका थिए । चिकित्सकहरुको उक्त अडान सुनेपछि प्रजिअ दाहालले आक्रोश पोखेपछि वार्तामा सहभागी चिकित्सकहरु वार्ता छाडेर निस्किन थाल्दा प्रहरी उपरीक्षक पाठकले उनिहरुलाई धक्कामुक्की गर्दै प्रजिअको कार्यकक्षभित्र लगेका थिए । त्यसक्रममा चिकित्सक र प्रहरीबीच फेरि धकेलाधकेल पनि भएको थियो । त्यसपछि चिकित्सकहरु वार्ता छाडेर जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए । 

nullयता शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज–२५ का पटेलका आफन्त र गाउँलेले उपचारमा लापरवाही गरिएको आरोप लगाउँदै आएका छन् । उनीहरुले उपचारमा लापरवाही गर्ने अस्पताल प्रशासन र चिकित्सकलाई कारबाहीको माग गर्दै आएका छन् । मंगलबार पनि वडाध्यक्ष आशुतोष चर्तुवेदसहित मृतकका आफन्त र गाउँलले वीरगन्जको सुख्खा बन्दरगाह चोकको सडकमै धर्ना दिएर प्रदर्शन पनि गरेका छन् । 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.