१ करोड ८५ लाखको चेक बाउन्स, उल्टै ठगीको आरोप खेप्दै जीवन
काठमाडौं : हातमा बैंकिङ कारोबारका कागजातको मोटो फाइलसहित झापाका जीवन बाँस्कोटा सोमबार दिउँसो अन्नपूर्ण पोस्ट्को कार्यालय छिरे। न्यायका लागि भौंतारिएका एक असहायजस्तै देखिन्थे। काठमाडौंस्थित एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बाँस्कोटा आफूले पाउनुपर्ने रकम फिर्ता माग्दा उल्टै ठगी र ब्ल्याकमेलिङको आरोप खेप्नु परेको बिलौना गरिरहेका थिए।
भक्तपुर घर भई हाल अमेरिका बस्दै आएकी कुस्मा बुढाथोकीसँगको आर्थिक लेनदेनमा जोडिएका बाँस्कोटासँग आफ्नो खाताबाट बुढाथोकीको खातामा रकम ट्रान्सफर भएका प्रमाणित बैंक स्टेटमेन्टहरू सुरक्षित छन्। कुस्माको विश्वासमा पर्दा आफूले करोडौं रुपैयाँ गुमाएको बाँस्कोटाको दाबी छ।
‘म सबैतिरबाट लुटिएँ। विश्वास गरेर पैसा दिएँ, अहिले उल्टै सामाजिक सञ्जाल र विभिन्न प्लेटफर्ममा मेरो चरित्र हत्या भइरहेको छ,’ उनले पीडा पोखे, ‘मलाई नै ब्ल्याकमेलर र ठगको आरोप लगाइँदै छ।’ व्यापार–व्यवसायबाट राम्रै कमाएका बाँस्कोटाले कुस्माका लागि भन्दै आफ्नो सम्पत्ति र साख सबै दाउमा लगाएका थिए। कुस्माले जीवनको नाममा सानीमा बैंकको १ करोड ८५ लाख रुपैयाँको चेक (मार्च २१, २०२६ मा साटिने गरी) काटेर दिएकी थिइन्। तर अहिले सोही चेकलाई लिएर विवाद चुलिएको छ।
कुस्माले बाँस्कोटामाथि किर्ते र ठगीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गर्ने प्रयास गरेकी छन्। उल्लेख्य के छ भने, तिनै कुस्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङविरुद्ध पनि प्रहरीमा उजुरी लैजाने प्रयास गरेकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुवै पक्षका कागजात हेरेर हाललाई कसैको पनि जाहेरी दर्ता गरिएको छैन। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एउटै चेक र रकमको विषयमा फरक–फरक व्यक्ति दाबीसहित आएकाले सत्यतथ्य बुझ्न बैंकहरूसँग पत्राचार गरिएको जानकारी दिए। ‘हामीकहाँ चेक बाउन्सको प्रक्रिया पूरा गरेर कोही पनि आउनु भएको छैन। एउटै चेक र रकमलाई लिएर फरक–फरक व्यक्ति आएकाले यसबारे बुझ्ने काम भइरहेको छ,’ प्रवक्ता भट्टराईले भने।
बाँस्कोटाका अनुसार कुस्माले जर्मनीबाट फर्केपछि सेयर मार्केटमा लगानी गर्ने र आफ्नो घरजग्गाको ऋण तिर्ने बहानामा ठूलो रकम मागेकी थिइन्। कुस्माको ऋण तिर्न, घरपरिवारको उपचार, सवारीसाधन, फर्निचर, गरगहना खरिद गर्न र अमेरिका जाने खर्चका लागि बाँस्कोटाले पटक–पटक गरी पैसा पठाएका थिए। त्यसका लागि बाँस्कोटाले आफू बसिरहेको घरसमेत बिक्री गरेर तथा ऋण–धन गरेर झन्डै २ करोड ९२ लाख रुपैयाँ कुस्मालाई दिएको बताएका छन्।
‘कुस्माले अमेरिका जाने रहर गरिन्, त्यसका लागि पनि मैले लाखौं रुपैयाँ दिएँ। तर, अमेरिका पुगेर ग्रिनकार्ड पाएपछि उनले मलाई सबैतिर ब्लक गरिन्,’ बाँस्कोटाले भने, ‘मैले पटक–पटक कुस्मा र उनको परिवारसँग आफ्नो पैसा फिर्ता मागेँ। तर, उल्टै ‘हाम्रो घरमा प्रहरी र वकिल छन्, तँ ब्ल्याकमेल गर्ने फटाहा होस्’ भनेर धम्क्याइयो।’
आफ्नो रकम फिर्ता नभएपछि बाँस्कोटाले २०८० साल फागुनतिर कुस्माले काटेर दिएको १ करोड ८५ लाख रुपैयाँको चेक बाउन्सका लागि बैंकमा पेस गरेका थिए। चेक बाउन्स भएपछि उनीहरूले उल्टै आफूले चेक चोरेको भन्दै प्रहरीमा उजुरी हाल्ने प्रयास गरेको बाँस्कोटाको भनाइ छ। कानुनी प्रक्रियाअनुसार चेक बाउन्स गराएको ४५ दिनपछि मात्रै मुद्दा दर्ता हुने भएकाले समयसीमा पर्खिरहेको बाँस्कोटा बताउँछन्। १ करोड ८५ लाखको बाउन्स चेक र अन्य प्रमाण बोकेर हिँडिरहेका बाँस्कोटा भन्छन्, ‘मसँग पैसा दिएको सबै प्रमाण सुरक्षित छ। अढाई करोडभन्दा बढी लगेर अन्तमा मलाई सडकमा पुर्याउने काम भयो।’
प्रतिक्रिया दिनुहोस !