कप्तानगन्ज घटना : नयाँ सिडियो र डीआईजीले कार्यभार सम्हालेलगत्तै दुवै पक्षलाई बोलाए वार्तामा
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सरुवा भएर आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्याल र कोशी प्रदेश प्रहरी प्रमुख शेखर खनालले सोमबार राति नै आ–आफ्नो कार्यभार सम्हालेका छन्।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका अर्याल सोमबार राति करिब १० बजे सुनसरी आइपुगेका हुन्। कार्यभार सम्हालेलगत्तै उनले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै घटनापछि आन्दोलनमा रहेका दुवै पक्षलाई छुट्टाछुट्टै वार्ताका लागि बोलाइएको जानकारी दिए।
प्रजिअ अर्यालले सुनसरीमा शान्ति, सामाजिक सद्भाव र आपसी एकता कायम गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको बताउँदै सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले संवाद र सहमतिमार्फत समस्याको समाधान खोजिने विश्वास व्यक्त गरे।
यसअघि सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेको सरुवा भएपछि कोशी प्रदेश प्रहरी कार्यालयले जिल्लाको सुरक्षा समन्वयका लागि एसपी सुमन तिम्सिना र एसपी नारायणप्रसाद चिमोरियालाई खटाएको छ। उनीहरूले जिल्लाको सुरक्षा व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हालिरहेका छन्।
उता, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले पनि सोमबार राति नै विराटनगरस्थित कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन्। उनले सुनसरीसहित कोशी प्रदेशका १४ वटै जिल्लामा शान्ति–सुरक्षा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै कानुनको प्रभावकारी कार्यान्वयनमा कुनै कमी हुन नदिने बताएका छन्।
कप्तानगन्ज घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रशासन र सुरक्षा निकायले संवाद, समन्वय र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम गर्न सक्रियता बढाएका छन्।
प्रतिक्रिया दिनुहोस !