डाक्टरहरुको हड्ताल संवादमार्फत समाधान गर्न पर्साका राजनीतिक दलहरूको अपिल
वीरगन्ज : पर्सामा सक्रिय प्रमुख राजनीतिक दलहरूले वीरगन्जको नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिट घटनापछि उत्पन्न विवाद संवाद र सहमतिमार्फत समाधान गर्न अपिल गरेका छन्।
मंगलबार वीरगन्जस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले तीन दिनदेखि वीरगन्जका अस्पतालहरूमा डाक्टरहरुको हड्तालका कारण बिरामीको उपचार सेवा नै प्रभावित भएको प्रति चिन्ता व्यक्त गर्दै संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, नारायणी अस्पताल प्रशासन र स्थानीय प्रशासनसँग आग्रह गरेको छ।
नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथि गरिएको निर्घात कुटपिटको घटनाप्रति पनि सर्वदलीय बैठकले चिन्ता व्यक्त गरेको छ। सर्वदलीय बैठकले नारायणी अस्पतालमा उत्पन्न विवादलाई थप जटिल बन्न नदिन वार्ता, संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने निष्कर्ष निकाल्दै ६ बुँदे अपिल पनि सार्वजनिक गरेको छ।
बैठकले नारायणी अस्पतालमा गत शनिबार उपचारका क्रममा मृत्यु भएका वीरगन्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
त्यस्तै, बैठकले नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने मागपनि गरेको छ।
यसका साथै गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड र कुटपिटको घटनाको बारे सत्यतथ्य पत्ता लगाउन विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेको छ।
यस्तै सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा आन्दोलनरत चिकित्सक र स्थानीय प्रशासनबीच भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीबाट लोकतान्त्रिक मूल्यमान्यता र पदीय मर्यादाअनुकूल व्यवहार नभएको विषयप्रति पनि राजनीतिक दलहरुको ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा संवादलाई मर्यादित र जिम्मेवार ढंगले अघि बढाउन आग्रहपनि सर्वदलीय बैठकले गरेको छ।
साथै, आम नागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै देशभर प्रभावित स्वास्थ्य संस्थाका सम्पूर्ण सेवा यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताए।
उक्त बैठकमा क्षेत्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तुलसा पौडेल अधिकारी, नेकपा एमालेका डा. विश्वम्भर शर्मा, नेकपाका जयप्रकाश थारु, जसपा नेपालका रामनरेश प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुमेश्वरनाथ उपाध्याय, जनमत पार्टीका मनोज साह सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !