देवानगन्जका घाइते इन्स्पेक्टर राई पनि हटाइए, नयाँ प्रहरी प्रमुख खटाइयो
विराटनगर : सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि जिम्मेवारीबाट हटाइने प्रहरी अधिकारीको सूचीमा इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राई पनि परेका छन्।
घटनामा घाइते भएका राईलाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत इन्स्पेक्टर प्रकाश पराजुलीलाई खटाइएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पराजुलीले मंगलबारदेखि इलाका प्रहरी कार्यालय देवानगन्जको नेतृत्व सम्हालिसकेका छन्। इन्स्पेक्टर राईलाई भने देवानगन्जबाट हटाएर दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा काज सरुवा गरिएको छ।
आइतबार राति देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई पक्षबीच विवाद चर्किएपछि प्रहरी टोलीको नेतृत्व गर्दै घटनास्थल पुगेका राई सम्झाइबुझाइमा जुटेका थिए। सोही क्रममा उत्तेजित भिडले ढुंगामुढा गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। ढुंगा लागेर घाइते भएका राईको टाउकोमा पाँचवटा टाँका लगाइएको प्रहरीले जनाएको छ। प्रहरीमाथि एक्कासि ढुंगा प्रहार भएपछि राईले आफूसँग रहेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरेका थिए। त्यसलगत्तै सशस्त्र प्रहरीले पनि गोली चलाएको थियो।
सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा गोली लागेर अन्य नौ जना युवा घाइते भएका छन्। सुरक्षाकर्मीसहित घाइते हुनेको संख्या २२ भन्दा बढी रहेको प्रहरीले जनाएको छ। घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड तथा व्यक्ति लक्षित आक्रमणका घटना भइरहेका छन्। सोमबार र मंगलबार जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनिरहेका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन र हिंसात्मक गतिविधि पूर्णरूपमा नियन्त्रणमा आउन सकेका छैनन्।
यस घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेलाई पनि जिम्मेवारीबाट हटाइएको छ। उनीहरूको स्थानमा नयाँ अधिकारीहरू खटाएर जिम्मेवारी दिइसकिएको छ।
घटना हुँदा डीआईजी विनोद घिमिरे र एसपी थेवे बिदामा रहेको भए पनि उनीहरूलाई समेत जिम्मेवारीबाट हटाइएको हो। त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति तथा सुनसरीका सशस्त्र प्रहरी प्रमुख एसपी श्यामकुमार कार्कीलाई समेत घटनाको छानबिनका लागि असार ३० गते सशस्त्र प्रहरी मुख्यालय तानिएको थियो।
प्रतिक्रिया दिनुहोस !