स्वकीय र सल्लाहकारहरूले मन्त्रालय भरिए, कर्मचारीहरूमाथि हस्तक्षेप भयो : कुलमान घिसिङ
काठमाडौं : उज्यालो नेपाल पार्टीले सरकार सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ। काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टीले सरकारले समग्र अर्थतन्त्रमा देखिएको निराशाबाट आशा र विश्वास जगाउने तर्फ ध्यान दिनुपर्नेमा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको जनाएको हो।
सरकारका जनहितकारी नीति र सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने र जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण वा राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढङ्गले सशक्त विरोध गरिने निर्णय गरिएको सो पार्टीले जनाएको छ।
केन्द्रीय समिति बैठकले पछिल्लो समय राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति चिन्ता गर्दै संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पारेको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित निर्णय शैली प्रभावशाली बन्दै गएको जनअनुभूति बढिरहेको भन्दै यस्ता प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने जोखिम उत्पन्न भएको बताए।
उनले बाहिरबाट नियुक्त स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई हस्तक्षेप गर्दा स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश भएको बताए। बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि 'हरित क्रान्ति, समृद्ध नेपाल’ को राष्ट्रिय मार्ग केन्द्रीय कमिटीबाट पारित गरिएको घिसिङले बताए।
प्रतिक्रिया दिनुहोस !