नक्कली भुटानी शरणार्थी प्रकरण : सर्वोच्चले सोध्यो बेचन झालाई थुनामा राख्नुको कारण
काठमाडौं : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा राख्नुको कारण सोधेको छ। झाले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सु्नुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले उनलाई थुनामा राख्नुको कारण सोधेको हो। झा हाल कारागार कार्यालय जगन्नाथदेवलमा छन्।
आफूलाई थुनामा पठाउने जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशविरुद्ध झा बिहीबार सर्वोच्च पुगेका थिए।
उनले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय ,उच्च अदालत पाटन ,काठमाडौं जिल्ला अदालत ,उच्च सरकारी वकीलको कार्यालय ,जिल्ला सरकारी वकीलको कार्यालय ,प्रहरी प्रधान कार्यालयह, केन्द्रीय अनुसन्धान व्यूरो र कारागार कार्यालय जगन्नाथदेवललाई प्रतिवादी बनाउँदै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।
जिल्ला अदालत काठमाडौंले गत भदौ २ पुर्पक्षका लागि थुनामा पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि उनी सर्वोच्च पुगेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त झा गत असार १४ गते पक्राउ परेका थिए। उनलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध ठगी,लिखित कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसूरमा मुद्दा दायर भएको छ।