जोसँगको पहिलो भेटमै आधा रोग निको हुन्छ

जोसँगको पहिलो भेटमै आधा रोग निको हुन्छ

६६ वर्षको उमेर। तर, नजिकबाट देखेका र सेवा लिएकाहरूले सोझैं अनुमान गर्छन्, यी डाक्टर बढीमा ४५, ५० वर्ष ननाघेको हुनुपर्छ। उनको वर्णन अनुहार हेरेर मात्र गर्न सकिन्न। बिरामीसँग मीठो बोल्छिन्। धेरै बेर कुरा गर्छिन्। खास भएको के हो घोत्लिएर सोध्छिन्। आफूलाई विश्वस्त नलागेसम्म बिरामीसँग घण्टौं गफिन्छिन्। त्यतिमात्र कहाँ हो र, उनको अगाडि बस्नासाथ आफ्नो पन झल्किन्छ। समस्याको खास पहिचान नहुँन्जेल उपचार प्रक्रिया नै अघि बढाउँदिनन्। यही स्वभावले नै धेरैको रोजाइँमा परेकी छन् डा. अचला वैद्य। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. वैद्य यिनै स्वभाव र गुणले गर्दा लाखौँ महिलाको मन मस्तिष्कमा बसेकी छन्।

भनिन्छ, डाक्टरको व्यवहार र अस्पतालको वातावरणले बिरामीको आधा रोग निको हुन्छ। उनको यो स्वभावले पनि कैयौं महिला र बच्चालाई नयाँ जीवन दिइसकेको छ। जब उनी २५ वर्षकी थिइन्, सरकारी जागिरे जीवनको पाइला अघि बढेको थियो। त्यही बेलादेखि उनको स्वभावलाई धेरैले रुचाएका थिए र मनको छहारीमा राखेका थिए।

उनीसँग सेवा लिएर फर्केकाहरू भन्छन्, ‘हाम्रा लागि डाक्टर अचला भगवान् हुन्, अस्पताल मन्दिर हो।’ हुन पनि हो रोगले थलिएर अस्पताल पुगेकाहरूलाई सवैभन्दा प्यारो लाग्ने आफ्नो शरीर हो। मनभरि निराशाको पोका बोकेर अस्पताल पुग्नेहरूलाई औषधिमूलो गरेर निको पार्ने उनै डाक्टर बिरामीका लागि भगवान्सरी हुन्छन्। जसको अनुभूत जो रोगसँग लडिरहेको छ, त्यसैले मात्र गर्न सक्छ।

मानिसले जुनसुकै कुरामा पनि सम्झौता गर्न सक्लान् तर, रोगसँग कहिल्यै सम्झौता गर्दैनन्। किनकि उसलाई सबैभन्दा प्यारो लाग्ने आफ्नो शरीर हो। नेपाली उखान छ, ‘श्वास रहुन्जेल आसको भर हुन्छ।’ अझै पनि देशका कैयन सहरहरूमा भने जति पैसा तिर्छुभन्दा पनि भरपर्दा डाक्टर र सुरक्षित अस्पताल नपाएर बिरामीले अनाहकमै जीवन गुमाउनुपर्ने बाध्यता छ। भरपर्दो उपचार नपाएरै कतिपय सन्तानले अभिभावक गुमाउनु परेको छ। अभिभावकले सन्तान गुमाएका छन्। सयौं गर्भवती, सुत्केरी र नवजात शिशुको मृत्यु भइरहेको छ। सरकारले दिने सेवासुविधा न भरपर्दो छ। न त गुणस्तरीय नै। नागरिकको सरकारप्रति भरोसा छैन। गुणस्तरीय स्वास्थ्य र शिक्षा नपाएरै धेरै नागरिक प्रताडित छन्।

प्रा.डा. अचला वैद्य उनै पात्र हुन्, जसले बिरामीको अवस्थालाई राम्रोसँग पहिचान गरेर मात्र उपचार थाल्छिन्। बिरामीको मनमा अड्किएर बसेका अनगिन्ती समस्याहरू पहिचान गरेर मात्र उपचार सुरु हुन्छ। यही नै उनको भर हो। आशा हो। अझ भनौं प्रसूति तथा स्त्रीरोगको क्षेत्रमा उनको यो गर्विलो अनुभव हो।

३२ वर्षे सरकारी सेवाबाट स्वेच्छिक अवकाश

वैद्य सरकारी सेवाबाट अवकाश चिकित्सक हुन्। ३२ वर्ष लामो सरकारी सेवाबाट स्वेच्छिक रूपमा अवकाश लिएर उनी अहिले काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा प्रसूति तथा स्त्री रोग विभाग प्रमुखको रूपमा कार्यरत छिन्। जहाँ उनको १० वर्ष सेवा अवधि चलिरहेको छ। सरकारी जागिरे जीवनबाट अवकाश लिएपछि वैद्य घरमै आराम गरेर बसेकी थिइन्। अब घरमै बस्छु। आराम गर्छु। फुर्सदको समयमा पढाउँछु भन्ने उनको मनमा थियो। तर, स्त्री तथा प्रसूति रोगको क्षेत्रमा अनुभवले खारिएर सबैको मनमा बसेकी डाक्टरलाई बिरामीहरूले त्यत्तिकै घरमा बस्न दिएनन्। उनको दिनानुदिन खोजी हुन थाल्यो। व्यक्तिगत निर्णयले मात्र नहुँदो रहेछ। सामाजिक मान्छेले व्यक्तिगत निर्णय गरेरमात्र पुग्दैन। किनकि उसको सार्वजनिक जीवनलाई समाजका हरेक नागरिकले नियालिरहेका हुन्छन्। निगरानी गरिरहेका हुन्छन्। सेवाग्राहीका रूपमा हजारौं महिला, युवायुवती, किशोरी र आमाहरू डाक्टर अचला कहाँ हुनुहुन्छ भन्दै सोधखोज गर्नेहरूको अस्पतालमा भिड लाग्थ्यो।

६६ वर्षको उमेरमा पनि दैनिक १० घण्टा बढी बिरामीलाई

अचलाका श्रीमान् प्रभुराज वैद्य नेपालकै औंलाले गनिनेमध्येकै एक प्रतिष्ठित औषधि व्यवसायी हुन्। उनका श्रीमान्का मिल्ने साथी हुन् नर्भिक इन्टरनेसनल हस्पिटलका सञ्चालक वसन्त चौधरी। एकदिन वसन्तले प्रभुराजलाई भनेछन्, ‘डा. अचला भाउजूलाई हाम्रो हस्पिटलमा ल्याउनुप¥यो ?’ मिल्ने साथीको आग्रहलाई प्रभुराजले नकार्न सकेनन्। आफूलाई खोजिरहेका बिरामी र हस्पिटलको आग्रहपछि अचला दिनमा दुई÷तीन घण्टाका लागि समय मिलाएर नर्भिकमा सेवा दिन पुगिन्।

सरकारी सेवामा कार्यरत हुँदा अस्तव्यस्त देशको स्वास्थ्य नीति र सरकारी सेवाले दिक्क बनेकी उनको निजी क्षेत्रमा प्रवेश सुरु भयो। तर, निजी क्षेत्रका अस्पतालहरूमा गएर काम गर्ने त्यति लोभ थिएन उनमा। भन्छिन्, ‘मलाई पैसा नकमाई नहुने बाध्यता पनि थिएन। श्रीमान्को व्यवसाय छ। आर्थिक हिसाबले खान पुग्ने नै थियो। तर मेरो चाहना र रुचिले मात्र नहुँदो रहेछ।’ आफ्नो रुचिभन्दा पनि बिरामीहरूको सेवालाई प्रमुख कर्म ठानेर उनी ६६ वर्षको उमेरमा पनि २०७२ सालदेखि आजसम्म निरन्तर बिरामीको उपचारमा तल्लीन छिन्।

नर्भिकमा सुरुसुरुमा दैनिक दुई÷तीन घण्टा काम गर्दा बिरामीको चाँप दिनप्रतिदिन बढ्दै जान थाल्यो। यस हस्पिटलमा काम गर्न थालेको खबर थाहा पाएपछि देशभरका बिरामीहरू खोज्दै उनीकहाँ आइपुगे। बिरामीको भीड थेगी नसक्नु हुन लाग्यो। उनलाई दुई÷तीन घण्टा होइन दिनभर बस्दा पनि समय अपुग भयो। त्यसपछि केही महिनामै उनले समय मिलाएर बिहान १० बजेदेखि साँझ ८ बजेसम्म नर्भिक अस्पताललाई समय दिन थालिन्।

‘डाक्टरहरू ठाउँठाउँमा चहार्दै हिँड्नु राम्रो होइन’

उनको आफ्नै खाले स्वभाव छ। बोलीमा आफ्नोपन छ। अनि आफ्नै मान्यता पनि छ। एउटा हस्पिटलमा पदीय जिम्मेवारीमा रहेर काम गर्दा पूरै समय त्यही हस्पिटलमै बिताउनुपर्छ भन्छिन् उनी। किनभने जता पनि दौडिएर बिरामीको उपचार प्रभावकारी ढंगले गर्न सकिँदैन र भ्याइँदैन भन्ने लाग्छ उनलाई। ‘काठमाडौंमा फुडमान्डुले खाजा बोकेजस्तै गरी डाक्टरहरू ठाउँठाउँका अस्पताल, क्लिनिक र मेडिकलहरू चाहार्दै हिँड्नु राम्रो होइन’, उनले भनिन्। किनभने दस ठाउँमा काम गर्ने डाक्टरहरूले बिरामीहरूको गतिलोसँग उपचार गर्नै सक्दैनन् भन्ने उनलाई लाग्छ। ‘उनीहरू हिँड्दा हिँड्दै आफैं थकित हुन्छन्। बिरामीहरूसँग राम्रोसँग कुरा गर्न सक्दैनन्। समयले पनि साथ दिँदैन। अनि कसरी उनीहरूले राम्रोसँग बिरामीलाई चेकजाँच गर्छन् ? ’, उनको प्रश्न छ। उनको यही मान्यता नै सबैभन्दा धेरै बिरामीहरूले मन पराएको क्षण हो। पल हो। जहाँ काम गर्ने हो त्यस हस्पिटलले डाक्टरलाई उचित पारि श्रमिक दिनुपर्छ भन्ने उनको मान्यता हो। ‘डाक्टरहरूको सुरक्षाको ग्यारेन्टी अस्पतालले गरिदिनुपर्छ। र, दिनभर थुप्रै मेडिकल र हस्पिटलमा चाहार्ने बाध्यतालाई डाक्टरहरूले अन्त्य गर्नुपर्छ’, उनले प्रस्ट्याइन्।

अब्बल टिम अचलाको बल

उनीसँग नर्भिकमा अब्बल टिम छ। जिम्मेवारीका हिसाबले उनी प्रसूति तथा स्त्रीरोग विभागको प्रमुख हुन्। तर, कुनै पनि समस्याको समाधानका लागि वैद्यसँग आँटिलो टिमले नै सबै कुरा सम्भव बनाएको हो। समस्याको समाधान टिममै गर्छन्। सामूहिक निर्णयबाट उपचार पद्धति थाल्छन्। टिमका डाक्टरहरू सबै स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। प्रा.डा.अमृता गिरी तुलाधर उनीसँगको सहयात्राको प्रमुख पात्र हुन्। गिरी गोल्ड मेडलिस्ट डाक्टरसमेत हुन्। अचलाले पढाएकी विद्यार्थीसमेत हुन् डा.गिरी। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सविना अर्याल, डा.केनुशादेवी तिवारीलगायत डाक्टरहरू अचलाका अरु सहयात्री चिकित्सक हुन्। सबै महिला डाक्टरहरूको विशेषज्ञ टिमका कारण ग्रामीण भेगबाट आएका बिरामी महिला उनीहरूसँग निर्धक्कसँग समस्या राख्छन्। अस्पतालको दरिलो व्यवस्थापन र सफासुग्घर वातावरणले अझ बिरामीलाई लोभाएको छ। अस्पतालभित्र छिर्ने जो कसैलाई पनि म अस्पतालको शय्यामा छु जस्तो लाग्दैन। घरकै विस्तारामा बसेजस्तै, सुतेजस्तै अनुभूत गराउँछ।

उपचारको सिलसिलामा अकस्मात जटिल समस्या आउँदैन भन्न सकिँदैन। त्यसको निराकरणका लागि अचलाको टिमले समूहगत छलफल र निर्णय लिन्छ। कसैको एक्लो निर्णयले मात्र उपचार अघि बढ्दैन। स्त्री तथा प्रसूतिसँगै जोडिएर आएका अरू रोगसँग सम्बन्धित डाक्टरहरूलाई पनि सामूहिक छलफलमा जुटाएर वैद्यले समस्याको निकास खोज्ने गर्छिन्। ‘बिरामीलाई सबै डाक्टरहरूको बीचमा राखेर खास समस्याको बारेमा छलफल गर्छौं र सामूहिक निष्कर्ष निकालेपछि मात्र उपचार थाल्छौं’, वैद्य भन्छिन्, ‘एक्लो एक्लो निर्णयले बिरामीलाई थप समस्या निम्तिन सक्छ। फरकफरक औषधि हुन सक्छ। त्यसैले सामूहिक सल्लाहले मात्र बिरामीको उपचार गर्छौं।’ बिरामीसँग जतिसक्दो धेरै कुरा गर्ने र समस्यालाई नजिकबाट बुझ्ने बानीले नै अचलाको टिमप्रति सेवाग्राही विश्वस्त बनेका हुन्। उनको टिमलाई भर मानेका हुन्।

त्यो सरकारी, यो निजी

सरकारी जागिरे जीवनमा भोगेका अनेकौं तीतामीठा अनुभव छन् उनीसँग। मेडिकल अफिसर (डाक्टर) हुँदादेखि नै उनमा दृढ विश्वास थियो। आत्मबलको त कुरै नगरौं। भारतको सुविधा सम्पन्न अस्पतालमा पढेको भएर पनि होला पहिलोपटक शल्यक्रिया गरेर पेटको बच्चा निकाल्दासमेत उनमा रत्तिभर डर भन्ने थिएन। भन्छिन्, ‘भर्खरै मेडिकल अफिसर भएर आएकी थिएँ। विवाह पनि भएको थिएन। २५ वर्षको उमेरमा पहिलोपटक शल्यक्रिया गर्दा कैंची समातेकी हुँ। ढुक्कसँग बच्चा निकाले। सुरुकै दिनदेखि आत्मबल बढेको थियो।’ २५ वर्षे तन्नेरीमा उब्जिएको त्यो आत्मबल आज ६६ वर्ष हुँदा पनि डगमगाएको छैन। अझ निखारिएको छ। अनुभवले खारिएको छ। अझ भनौं झांगिएको छ।

वैद्यको सरकारी जागिरे जीवन २५ वर्षकै तन्नेरी उमेरमा सुरु भयो। सुरुमा जागिर खाँदा ७ सय रुपैयाँ तलब थियो। मासिक रूपमा कुनैबेला १५ सय रुपैयाँसम्म कमाइ हुँदा खुसीले छाती चौडा हुन्थ्यो। ‘के के न पाएजस्तो गरी मन फुरुङ हुन्थ्यो’, उनी विगत सम्झँदै भन्छिन्, ‘त्यसबेला थोरै पैसाको पनि महŒव थियो।’ सरकारी जागिर खाएको एक वर्षपछि उनको काठमाडौंमा विवाह भयो। त्यसपछि २०४२ सालमा शिक्षण अस्पताल महाराजगन्जमा सरुवा भयो। जागिरको दौरानमा धेरै जिल्ला पुग्ने सौभाग्य मिल्यो उनलाई। शिक्षण अस्पतालपछि स्वास्थ्य विभागमा सरुवा भयो। मेडिकल अधिकृतमा सीमित हुने कुरै भएन। माथिल्लो तहको पढाइ पूरा गर्नुपर्ने थियो। उनले मेडिकल अधिकृत ‘डिप्लोमा इन् गाइने अब्समा प्रवेश परीक्षामा नाम निकालेर छात्रवृत्तिमा पढेकी थिइन्। त्यसपछि एमबीबीएसमा पनि छात्रवृत्तिमै नाम निकालिन्। भारतको लखनउस्थित किन्जर्स मेडिकल कलेजमा उनले डिप्लोमा र एमबीबीएस पढेकी हुन्।

गाइनेकोलोजोजिस्ट भएपछि ऐश्वर्य नारायणी प्रसूति गृहमा पहिलो पोस्टिङ भयो। २०४४÷४५ सालसम्म उनले त्यहाँ प्रमुख भएर काम गरिन्। वीरगन्ज माइतीघर भएकाले पनि उनले त्यहाँ करिब दुई वर्ष सेवा गरिन्। सबैको अपार माया पाइन्। साथ र हौसला मिल्यो। २०४६ सालसम्म त्यहाँ सेवा गरिन्। समय अनुकूल परिवर्तन हुनै प¥यो। विशेषज्ञ (एमडी) गर्ने सोच आयो। नेपालमा सुविधा नभएपछि उनले बेलायतको परीक्षा दिएकी थिइन्। यत्तिकैमा शिक्षण अस्पतालले पनि सूचना निकाल्यो एमडी गर्नेहरूका लागि भनेर। नेपालमै एमडी गर्ने अवसर पाएपछि उनले त्यहीँबाट आफ्नो योग्यतालाई माथिल्लो तहमा पु¥याइन्। आफ्नै नेपाली भूमिमा जागिरे जीवनकै दौरानमा विशेषज्ञ डाक्टर बन्ने सौभाग्य मिल्यो उनलाई। त्यसबेला उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिने छात्रवृत्ति पनि पाएकी थिइन्।

काम गर्ने सिलसिलामा भक्तपुर क्यान्सर अस्पतालमा पनि पाँच वर्ष सेवा गर्ने अवसर पाइन्। २०५५ सालतिर भक्तपुर क्यान्सर अस्पतालमा काम गर्दा महिलालाई लाग्ने क्यान्सर रोगको बारेमा उनलाई धेरै कुरा जान्ने र बुझ्ने अनूभव मिल्यो।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उनले लामो समय सेवा गरिन्। २०६२/०६३ को जनआन्दोलन थियो। सरकारी सेवामा काम गर्न धेरै चुनौतीको सामना गर्नुपर्दथ्यो। उनले प्रसूतिमा तीन वर्षलाई एमडी कार्यक्रमतर्फ संयोजक भएर काम गरिन्। संयोजक बढीमा तीन वर्षलाई हुन्थ्यो। तीन वर्षका लागि दिएको संयोजकको पदलाई उनले नौ वर्षसम्म सम्हालिन्।

‘तीन वर्षका लागि नियुक्त भएको कोर्डिनेटरको पदमा ९÷९ वर्षसम्म काम गर्दा खासै मूल्यांकन भएन’, अचला भन्छिन्, ‘स्वाभाविक रूपमा एउटै पदमा लामो समय काम गरेपछि माथिल्लो पदमा जाने जसको पनि इच्छा चाहना हुन्छ। तर, सरकारले कुनै मूल्यांकन नै गरेन।’ उनी डिन हुनका लागि योग्य थिइन्। अनुभव, योग्यता र क्षमताले रोक्दैन्थ्यो। तर, देशको दूषित राजनीति खिचातानीले उनलाई माथिल्लो जिम्मेवारी सम्हाल्न दिएन।

त्यसपछि उनको मनमा खिन्नता छायो। नेतालाई भनसुन गर्ने उनमा कत्ति पनि बानी थिएन। सरकारले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता थियो उनमा। डिन नियुक्त गर्नेबेला अमिक शेरचन स्वास्थ्यमन्त्री थिए। तत्कालीन स्वास्थ्यसचिव डा.प्रवीण मि श्रको गाउँलेलाई डिन नियुक्त गरे। यहाँ मन्त्री, सचिव र नेताहरूको भनसुन चल्यो। पावर चल्यो। व्यक्तिका योग्यता, क्षमता र अनुभवलाई दूषित राजनीतिले फोहोरको ‘डस्बिन’मा फाल्यो। त्यसबेला अचला ११औं तहमा कार्यरत थिइन्।

उनको पोखरामा सरुवा भयो। तर, पोखरा गइनन्। एक वर्ष बिदा बसिन्। बिदा सकियो। फेरि अर्को एक वर्षलाई बिदा थप गरिन्। सरकारी क्षेत्रमा हुने विकृति र विसंगतिले दिक्क बनेकी उनले सेवा अवधि हुँदाहुँदै पनि ३२ वर्षे सेवापछि राजीनामा दिइन्। उमेर हदले काम गर्न मिल्थ्यो तर माथिल्लो सरकारी क्षेत्रमा पदकै लागि हुने दूषित राजनीतिले उनमा काम गर्ने जाँगर हरायो।

‘सरकारी क्षेत्रमा धेरै हेलचेक्र्याई छ। सरकारले खास मान्छे चिन्दैन। माथिल्लो पदमा पुग्न आफ्नो मान्छे हुनुपर्दो रहेछ’, विगतको स्मरण गर्दै उनी भन्छिन्, ‘मैले त्यसबेला भोगेको समस्या अहिले पनि जस्ताको त्यस्तै छ। सरकारी क्षेत्र नसुध्रिँदा चिन्ता लाग्छ।’ विभिन्न आरोह अवरोहको सरकारी जागिरे जीवनका यस्तै दौरानपछि उनले २०७२ सालमा स्वेच्छिक रूपमा राजीनामा दिइन्।

नेपालको स्वास्थ्य क्षेत्रमा बिताएको ३२ वर्षे अनुभव र करिब १० वर्षको निजी क्षेत्रको अनुभवले खारिएकी अचलासँग जीवन भोगाइका अनेकन क्षणहरू छन्। सरकारी र निजी क्षेत्रलाई नजिकबाट नियालेकी उनी अझै पनि मुलुकको सरकारी स्वास्थ्य क्षेत्र नसुध्रिएको देख्दा गहिरो चिन्ता व्यक्त गर्छिन्। ‘सरकारी काम गर्दा सरुवा, बढुवा, नियुक्ति, घरपाई सबै मिलाउन नेतादेखि मन्त्रीहरूलाई नमस्कार गर्नुपर्दथ्यो। यो प्रचलन अझै पनि जीवितै छ’, उनले भनिन्, ‘क्षमता भएको र इमान्दारीपूर्वक काम गर्नेहरूको देशमा मूल्यांकन छैन। यो निकै दुःखद् कुरा हो।’ स्वास्थ्य क्षेत्रमा भइरहने दूषित राजनीतिले गर्दा नागरिकको स्वास्थ्यमा सरकारले खेलबाड गरिरहेको समेत उनको बुझाइ छ। सरकारले वरिष्ठ व्यक्ति हुँदाहुँदै कनिष्ठ व्यक्तिलाई माथिल्लो पदमा पु¥याएका कैंयन अनुभव र तीतो भोगाइ छन् उनीसँग।

केही सम्झनलायक घटनाहरू 

उनी भर्खरै नर्भिकमा आएकी थिइन्। निजी क्षेत्रको नर्भिक र सरकारीको प्रसूति वारिपारि छन्। प्रसूतिगृहमा धादिङकी २५ वर्षकी एक तामाङ थरकी युवती डेढ महिनादेखि उपचाररत थिइन्। उनको पेटमा पाँच महिनाको बच्चा थियो। पाठेघरमा बच्चाका साल बेरिएको थियो। अस्पतालले ठीक हुन्छ, हुन्छ भन्दै झुलाएको थियो। महिनौं दिनसम्म अस्पतालमा राख्दा निको नभएपछि आमा, बच्चा दुवैको अवस्था जोखिमपूर्ण बन्दै गएको थियो। बिरामीका आफन्त आत्तिन थाले। केही उपाय लाग्छ कि भनेर नर्भिकमा आएर बुझे। त्यहाँ डा. अचलाको नाम सुनेपछि उनीहरूमा एक खालको हौसला जाग्यो। एक जना बिरामीका आफन्त डाक्टर थिए। उनैले अचलासँग आएर भने, ‘डाक्टर साब हाम्री छोरीलाई बचाइदिनुप¥यो। यदि उपचार गर्दागर्दै तपाईंको हातबाट मृत्यु भयो भने पनि हामी केही भन्दैनौं।’

प्रसूतिगृहले आमा र बच्चालाई जीवनमरणको दोसाँधमा छाडेको बिरामीलाई अचलाको प्रयासले आमाको ज्यान त जोगियो। तर, बच्चालाई जोगाउन सकिएन। आमाको पाठेघर झिकेर फाल्नुपर्ने भयो। दुई दिन भेन्टिलेटरमा राखेर उनलाई घर पठाइयो। ‘३२ वर्षको मेरो अनुभवमा सबैभन्दा धेरै त्रास मलाई यही केसमा लागेको थियो’, अचला भन्छिन्, ‘भोलिको अप्रेसन छ। रातभरि निद्रा लागेको थिएन। के हुने होला, कसो हुने होला भन्ने त्रास मनमा भइरहेको थियो। आमाको ज्यान जोगाउन पाएकोमा धेरै खुसी लाग्यो। अहिले आमाको अवस्था राम्रो छ। बेलाबेला फोन हुन्छ। भारतमा रहेछन्। फेसबुकमा कुरा भइरहन्छ।’ नयाँ जिन्दगी पाएकी युवतीकी आमाले अस्पतालमा आएर खुट्टा ठोगिदिँदा अहिले पनि मन भावविह्वल हुने गरेको उनले सुनाइन्।

भक्तपुरको सिद्धि मेमोरियल हस्पिटलले पनि बिरामीको उपचार गर्दा अल्मलाइदिएपछि एक महिलाको जीवन बचाइदिएको उनले अनुभव सुनाइन्। पाठेघर फुटेको र बच्चाको मृत्यु भइसकेको अवस्थामा नर्भिकमा लिएर आएको उनले बताइन्। आकस्मिक शल्यक्रिया गरेर आमाको ज्यान जोगाउन सफल भएको उनले बताइन्।

डाक्टर ‘टेक्निकल’ मात्र हुनु हुँदैन

बिरामीको चेकजाँच गर्ने काम प्राविधिक ज्ञानको क्षेत्र भए पनि डाक्टरहरू त्यसैमा मात्र सीमित हुन नहुने अचलाको धारणा छ। बिरामीसँग गर्ने कुराकानी प्राविधिक मात्र हुँदा त्यसले सही नतिजा दिन नसक्ने उनी सुनाउँछिन्। ‘आफू मृत्युको मुखमा पुग्दा पनि बिरामीलाई बचाउनु डाक्टरको कर्तव्य हो’, उनी भन्छिन्, ‘डाक्टरले बिरामीप्रति क्षमता देखाउनुपर्छ। पैसा र सस्तो लोकप्रियतामा मात्र भुल्नु हुँदैन।’ अहिलेका नयाँ पुस्ताका डाक्टरहरूमा बिरामीप्रतिको लगाव त्यति नदेखिएको उनको अनुभव छ। नयाँ पुस्तामा धैर्य, मूल्यांकन गर्ने क्षमता र प्रतिफल छिटो प्राप्त हुनुपर्छ भन्ने सोच देखिएको उनी सुनाउँछिन्। टाउको दुख्यो भन्दैमा सिटामोल दिने होइन, किन टाउँको दुख्यो भन्ने कारण खोज्नतर्फ लाग्नुपर्ने उनको धारणा छ।

महिलाले ३५ वर्ष नाघेपछि पाठेघरको मुखको जाँच नियमित गर्नुपर्ने उनको सुझाव छ। उनी रजोनिवृत्ति अर्थात् मेनोपस सोसाइटीकी अध्यक्ष पनि हुन्। महिलामा महिनावारी कति उमेरमा सुक्छ ? सुक्ने बेला के हुन्छ ? सुकेपछि पुनः सुरु भयो भने के गर्ने ? जस्ता विषयमा उनकै अगुवाइमा जनचेतना दिने गरिएको छ। महिलामा महिनावारी सुक्दा बेचैन हुने, निद्रा नलाग्ने हुन्छ। तर, नेपाली समाजमा ती महिलालाई मानसिक समस्या भयो भन्दै मानसिक रोग विशेषज्ञ डाक्टरकहाँ पु¥याउने गरिएको पनि उनले सुनाइन्। नेपालका धेरै महिलामा बच्चा नबस्ने समस्या भयो भने सिधै आईभीएफ प्रविधिको प्रयोग गरिहाल्ने संस्कार बसेको उनको अनुभव छ। किन बच्चा बसेन ? समस्या के हो ? भन्ने कुरामा गम्भीर भएर श्रीमान्, श्रीमती नलाग्ने गरेको र समाजले पनि त्यसलाई प्रश्रय दिने गरेको उनको अनुभव छ। पाठेघरको दुवैतिर डिम्ब हुन्छ। त्यहाँबाट निस्कने हर्मन असन्तुलित हुन्छ। धेरै रौं आउने, मोटोपन,  महिनावारी गडबढी हुनेजस्ता महिलामा बच्चा बस्ने समस्या हुन सक्छ। यी समस्याको सुरुमै उपचार गरेरमात्र बच्चा जन्माउने प्रक्रिया थाल्नुपर्ने उनी सुझाव दिन्छिन्।

यही विषयलाई सचेतना दिने उद्देश्यले उनको नेतृत्वमा पिसिओस सोसाइटी नेपाल गठन गरिएको छ। सोसाइटीमा हरेक क्षेत्रका विशेषज्ञ डाक्टरहरू सदस्य छन्। बैंक तथा वित्तीय संस्था, विद्यालय र समुदायस्तरमा पुगेर यसबारे सचेतना फैलाउने गरिएको छ। प्रदेश तहमा पनि सोसाइटीलाई विस्तार गरेर सचेतना फैलाउने तयारी उनको छ।

उनी नेपाल स्त्री रोग विज्ञान समाज (गोसन) को पनि संस्थापक अध्यक्ष हुन्। उनकै पहलमा नर्भिकमा पेनलेस डेलिभरी सेवा सुरु भएको छ। आमा, बच्चामा समस्या भएन र शल्यक्रिया गर्नु परेन भने पेनलेस डेलिभरी गराउने गरिएको छ। त्यसका लागि पाठेघरको मुख कम्तीमा पनि चार घर खुल्नुपर्छ। अस्पतालमा आउने बिरामीहरूका लागि बिरामी कुरुवा घरको व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन समितिलाई भनेको उनले सुनाइन्।

नेपाल मेडिकल काउन्सिलले प्रकाशन गर्ने जर्नल अफ नेपाल मेडिकल एसोसियसनको उनले २०६० सालमा प्रधान सम्पादकको जिम्मेवारी निभाइन्। ४३ वर्षको इतिहासमा त्यस जर्नलले विश्वमा चर्चा पाएको हो। नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उनलाई २०७७ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी थिइन्। हाल जर्नल नेपाल मेडिकल एसोसियसनमा उनी सल्लाहकार हुन्। २०४७ सालमा उनले प्रसूति तथा स्त्रीरोगको एसिया र ओसिनिया महासंघले प्रदान गर्ने उत्कृष्ट युवा स्त्रीरोग विशेषज्ञ पुरस्कार पाएकी थिइन्। उनका दुई छोरी प्रियंका र अन्सु पनि डाक्टर हुन्। जेठी अस्ट्रेलिया र कान्छी लन्डनमा अध्ययनरत छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.