तालमेल गरेर चुनाव लड्दा माओवादीलाई क्षति पुग्यो : उपाध्यक्ष भुसाल
अर्घाखाँची : नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले कांग्रेस र एमालेसँग पालैपालो तालमेल गरेर चुनाव लड्दा पार्टीलाई क्षति पुगेको बताएकी छन्। तालमेलले पार्टी क्षयीकरणको बाटोमा लागेकाले आगामी चुनाव एक्लै लड्ने उनले बताइन्।
सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तामा रहँदा लोकप्रिय कामहरू गरेको र प्रतिपक्षमा समेत सशक्त भूमिका निभाइरहेको बताइन्। संख्या ३२ सिटको मात्र भए पनि नेपालको राजनीतिमा यसले ठूलो भूमिका खेलिरहेको उनको भनाइ छ। सत्तामा रहँदा होस् वा प्रतिपक्षमा माओवादीको भूमिका प्रभावकारी रहेको उनले बताइन्। ‘०६४ सालको जस्तो बलियो त हामी छैनौं,' उनले भनिन्, ‘संख्या थोरै भए पनि हाम्रो भूमिका धेरै छ।’
संविधान संशोधनको प्रसंग कोट्याउँदै उनले आन्दोलनबाट प्राप्त उपलब्धि वर्तमान सरकारले संविधान संशोधनमार्फत खोस्न लागेको बताइन्। साना दलहरूलाई थ्रेस होल्ड लगाएर दुई दलीय शासन चलाउन खोजेको उनले आरोप लगाइन्। समानुपातिक प्रणाली हटाउने प्रपञ्च गरेको भन्दै भुसालले अधिकार खोस्ने काम स्वीकार्य नहुने बताइन्।
प्रतिक्रिया दिनुहोस !