धाम ढल्यो नेपाली साहित्यको
इलाम : ‘बसाइँ’ अर्थात् भुइँमान्छेको कथाव्यथा। यो उपन्यास पढ्ने जो कोहीले नर्बिसने नाम हो– लीलबहादुर क्षेत्री। क्षेत्रीले जिन्दगीभर भुइँमान्छेकै कथाव्यथा लेखे। नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरे। बिहीबारबाट सदाका लागि अनन्त यात्रामा निस्के। ‘नेपाली साहित्यको धाम ढलेको खबरले खिन्न छु,’ इलामका कवि विमल वैद्यले भने।
वैद्यले तीन महिनाअघि मात्रै साहित्यकार क्षेत्रीलाई उनकै निवास भारतको आसाममा पुगेर भलाकुसारी गरेका थिए। क्षेत्रको निधनप्रति स्तब्ध छन्। उनलाई भेटेर फर्कंदा धाम पुगेर फर्केको महसुस भएको थियो,’ वैद्यले भने, ‘हामीसँग भेट हुँदा नेपालले आफूलाई सम्झेकोमा भन्दै उहाँले खुसी व्यक्त गर्नु भएको थियो।’
भारतमा रहेका नेपाली भुइँमान्छेहरूको कथाव्यथा समेटेर बसाइँजस्तो उपन्यास जन्माएका क्षेत्रीले बाचुञ्जेल ‘भुइँमान्छेका’ आवाज बोलेको वैद्यको टिप्पणी छ। उनले भने, ‘साहित्यकार क्षेत्री नेपाली साहित्यको यस्तो स्तम्भ हो, जसलाई बिर्संदा नेपाली साहित्यको एउटा पाटोलाई नै बिर्सिइन्छ।’
नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका प्रख्यात लेखक लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा बिहीबार राति आसामको गुवाहाटीमा निधन भएको हो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले क्षेत्रीको योगदानले अबको पुस्तालाई प्रेरणा प्रदान गरिरहने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जलि दिँदै तामाङले लेखेका छन्, ‘बसाइँजस्ता कालातीत कृतिहरूमार्फत नेपाली भाषा र संस्कृतिलाई समृद्ध पार्ने साहित्यिक ‘आइकन’ पद्मश्री स्वर्गीय लीलबहादुर क्षेत्रीज्यूको निधनले गहिरो दुःख लागेको छ। साहित्य र समाजमा उहाँको योगदान अतुलनीय छ र उहाँको विरासतले पुस्तालाई प्रेरणा दिइरहनेछ।’
भारतमा नेपाली भाषी भारतीयले साहित्यकार क्षेत्रीलाई ग्रामीण संघर्ष र सामाजिक अन्यायको शक्तिशाली चित्रण गर्ने स्रष्टाका रूपमा चिन्छन्। मार्च १, १९३३ मा जन्मिएका लीलबहादुर क्षेत्रीले आफ्नो उपन्यास बसाइँ (१९५७) बाट प्रसिद्धि प्राप्त गर्न सुरु गरेका हुन्। बसाइँमा क्षेत्रीले सामन्ती उच्च वर्गबाट शोषण भोगिरहेका गरिब गाउँलेको दशालाई उजागर गरेका छन्। बसाइँ उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ।
भारतीय सञ्चारमाध्यमका अनुसार लीलबहादुर क्षेत्रीलाई सन् १९८७ मा उनको उपन्यास ब्रह्मपुत्रको छेउछाउ (१९८६) को लागि साहित्य एकाडेमी पुरस्कार प्रदान गरिएको थियो। सन् २०१६ मा, उनलाई नेपाली साहित्य र भाषामा उत्कृष्ट योगदान पु¥याएकोमा प्रतिष्ठित जगदम्बा श्री पुरस्कारले सम्मानित गरिएको थियो। सन् २०२० मा उनले भारतको प्रतिष्ठित चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्राप्त गरेका थिए।
नेपाली भाषा–साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा पु¥याएको योगदानका निम्ति उनलाई यस सम्मानले सम्मानित गरिएको हो। राष्ट्रपति भवनमा सम्पन्न एक भव्य कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै गण्यमान्य व्यक्तिहरूको उपस्थितिमा राष्ट्रपति रामनाथ कोविन्दका बाहुलीबाट क्षेत्रीले यो सम्मान थापे। यस प्रतिष्ठित सम्मानले सम्मानित हुने क्षेत्री पूर्वोत्तर भारतका प्रथम गोर्खा सन्तान हुन्।
भारतको सिक्किम टुडे लेख्छ, ‘लीलबहादुर क्षेत्रीका कृतिहरूले सामाजिक संघर्ष र मानवीय लचिलोपनको सारलाई समेट्दै नेपाली साहित्यमा स्थायी प्रभाव छोडेका छन्। उनको निधनले नेपाली साहित्यिक इतिहासमा एक युगको अन्त्य भएको संकेत गर्दछ।’
क्षेत्रीको जन्म सन् १९३३, १ मार्चमा गुवाहाटी टकौबारीमा भएको थियो। पहिलो प्रकाशित कविता ‘शिवस्तुति’बाट उनले नेपाली साहित्यमा प्रवेश गरेका थिए।
आसाममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका लीलबहादुर क्षेत्रीको पढाइ बंगला, नेपाली र अंग्रेजी माध्यममा भएको थियो। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे। माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भयो।
‘बसाइँ’ उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो भने यो नेपाली आख्यान साहित्यको सर्वाधिक पढिएको, चर्चित र प्रकाशित उपन्यास हो। उनको दोस्रो उपन्यास ‘अतृप्त’ (१९६७) पूर्वोत्तर भारतको पहिलो मनोवैज्ञानिक उपन्यास हो।
उनको ‘अतृप्ति’, ‘ब्रह्मपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यास प्रकाशित छन्। कथासंग्रहमा ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ प्रकाशित छन्।
उनको ‘दोबाटो’, ‘माग’ तथा ‘सुरुको सुरु’ नाट्य कृतिसमेत प्रकाशित छन्। ‘आसाममा नेपाली भाषाको साहो–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत्त’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत गैरआख्यान कृतिहरूसमेत प्रकाशित छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधनको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !