रुससँग सम्झौता गर्नुअघि युक्रेनको अवस्था हेर्न आउन ट्रम्पलाई जेलेन्स्कीको अनुरोध
रुस-युक्रेन युद्ध आफ्नो नभएको ट्रम्पको भनाइ
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन्। जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका छन्।
उनी भन्छन्, 'कृपया कुनै पनि निर्णय, कुनै पनि छलफल अघि यहाँ आउनुहोस् र युक्रेनका मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस्।'
जेलेन्स्कीले सीबीएस न्यूजको '६० मिनेट' कार्यक्रममा यी कुराहरू भनेका हुन्।
उक्त अन्तर्वार्ता आइतबार युक्रेनी शहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो। सुमीमा रुसी आक्रमणमा परी २ बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ। यसबाहेक ११७ जना घाइते पनि भएका छन्।
डोनाल्ड ट्रम्पले भने : रुस-युक्रेन युद्ध मेरो होइन, तर म यसलाई रोक्न खोजिरहेको छु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्धको लागि पूर्व राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।
ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, 'रूस र युक्रेन बीचको युद्ध मेरो होइन, यो बाइडेनको हो। मेरो कार्यकालमा यो युद्ध रोक्न कुनै समस्या भएन।'
उनले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको तर यो युद्ध अन्त्य गर्न र मृत्यु रोक्न काम गरिरहेको बताएका छन्।
ट्रम्पले लेखे, 'राष्ट्रपति जेलेन्स्की र विश्वासघाती बाइडेनले यो युद्ध सुरु गर्न धेरै नराम्रो भूमिका खेले, यसलाई सुरु हुनबाट रोक्न धेरै तरिकाहरू थिए।'
अब युद्ध सुरु भइसकेको बताउँदै उनले भने, 'अब हामीले यो युद्ध रोक्नु पर्छ र यसलाई छिटो रोक्नु पर्छ।'
प्रतिक्रिया दिनुहोस !