निर्वाह भत्ताको माग गर्दै आवासीय चिकित्सक आन्दोलनमा, बिरामी मर्कामा
काठमाडौंं /वीरगन्ज/नुवाकोट : सरकारले तोकेको निर्वाह भत्ता उपलब्ध गराउन माग गर्दै आवासीय चिकित्सकहरूले गरेको आन्दोलनका कारण मुलुकभरको आकस्मिक तथा सघन उपचारबाहेकका अन्य सेवाहरू ठप्प भएका छन्।
सरकारले आवासीय चिकित्सक (एमडी/एमएस/एमडीएस)हरूका लागि ४८ हजार ७ सय ३७ रुपैैयाँ निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय यथाशीघ्र उपलब्ध गराउन माग गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रेका छन्। आवासीय चिकित्सकहरूको आन्दोलनका कारण सरकारी स्वास्थ्य संस्था एवं मेडिकल कलेजका बहिरंग सेवा (ओपीडी) सेवा अवरुद्ध भएको छ। चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा निर्णय भएको र कार्यान्वयनका लागि परिपत्र गरे पनि निजी मेडिकल कलेज सञ्चालकहरूले तोकिएको निर्वाह भत्ता उपलब्ध गराएका छैनन्।
आवासीय चिकित्सकहरूको आन्दोेलनलाई नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ। संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले एक महिनादेखि आवासीय चिकित्सकहरूले गरेको आन्दोलनमा ठोस प्रगति नभएकोले आन्दोलन जारी राख्नु परेको बताए।
आन्दोलनरत चिकित्सकहरूले आपत्कालीन तथा आकस्मिक सेवाहरू यथावत् राखी आन्दोलनमा उत्रेका छन्। संघका अध्यक्ष डा. कार्कीले आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै सोको जिम्मेवारी स्वयं सरकारले लिनु पर्ने बताए।
त्रिशूलीमा पनि सेवा बन्द
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकहरू आन्दोलित भएका छन्। आकस्मिकबाहेकका सबै सेवा बन्द भएको छ। विदुर नगरपालिका–९ कोलोनी बाघटारमा रहेको त्रिशूली अस्पतालमा कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघले उठाएको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलित भएका हुन्। उनीहरूले आकिस्मक बाहेकका सवै सेवा बन्द गरेका हुन्।
त्रिशूली अस्पतालमा दैनिक पाँच सय जना सेवाग्राहीहरू उपचारका लागि आउने गरेका थिए। त्रिशूली अस्पतालमा कार्यरत १४ जना चिकित्सकसहित ३१ जना स्वास्थ्य कर्मचारीहरूले संघले उठाएको आवासीय चिकित्सकहरूले निर्वाह भत्ता पाउनु पर्नेलगायतका माग राख्दै बहिरंगतर्फको उपचार सेवा बन्द गरेका हुन्। उनीहरूले संघको मागप्रति ऐक्यबद्धता रहेको जनाउँदै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
उपचार नपाएर बिरामी अलपत्र
सरकारी र निजी अस्पतालका डाक्टरहरू हडतालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामीहरूको बिजोग भएको छ।
शुक्रबार बिहान ११.३० बजेतिर वीरगन्जको एकमात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पुग्दा बिरामीहरू डाक्टर खोज्दै भौतारिँदै थिए। कतिपयले डाक्टरहरू नभेटिएकोमा पीडासहितको आक्रोश पोख्दै थिए।
नातिलाई पखाला लागेपछि उपचारका लागि नारायणी अस्पतालमा पुगेका वीरगन्ज–२६ अठराहका नेमीलाल साहले डाक्टर नै नभेटिएपछि पीडा पोख्दै भने, ‘निजी क्लिनिक पनि बन्द छन्। अब कहाँ लाने ? मेरो दिमागले काम नै गरिराखेको छैन।’ उपचार सेवा नै बहिष्कार गरेर डाक्टरहरू हडतालमा उत्रिनु जायज नभएको उनले बताए।
डाक्टर नभेटिएपछि निराश हुँदैफर्कन लागेको अवस्थामा अस्पताल परिसरमै भेटिएका पर्साको पोखरिया नगरपालिका–६ का सुमितकुमार गुप्ताको पीडा पनि उस्तै थियो। डाक्टर नभेटिएपछि रुन्चे अनुहार लगाउँदै उनले भने, ‘श्रीमतीलाई हिजो (बिहीबार) लिएर आएको थिएँ। डाक्टरले रगत, पिसाब र एक्सरेको जाँच लेखिदिएपछि हिजै सबै जाँच गराएँ। आज रिपोर्ट लिएर आएँ, तर कोही डाक्टर नै भेटिँदैनन्। अब म कहाँ जाने ? कसलाई देखाउने यो रिपोर्ट ?’
अकस्मात खुट्टाको भागमा प्यारालाइसिसको समस्या देखिएपछि शुक्रबार नारायणी अस्पतालमा पुगेका पर्साको सन्ठी गाउँका दलित युवा वीरेन्द्र राम भने बहिरंग सेवा भवन अगाडि डाक्टरलाई कुरेर बसेको अवस्थामा भेटिए। उनले भने, ‘अस्पतालमा आउँदा डाक्टरहरू हडतालमा छन् भन्ने थाहा भयो। तैपनि कोही डाक्टर भेटिहाल्छन् कि भनेर कुरेर बसेको छु।’ आफू गरिब भएकाले निजी अस्पताल वा क्लिनिकमा जान असमर्थ रहेको दुःखेसो पनि रामले सुनाए।
वीरगन्जको नारायणी अस्पतालमा उपचार राम्रो हुन्छ भनेर सुनेका भारतको बिहार राज्यको घोडासहनका प्रमोद चौधरीले पेटको रोगको उपचारका लागि आफू बिहारबाट आएको बताए। तर डाक्टर नभेटिएपछि आक्रोश पोख्दै उनले भने, ‘हडताल गर्ने नै हो भने मिडिया र सोसल मिडियाबाट पहिल्यै जानकारी गराएरमात्रै डाक्टरहरूले आफ्नो आन्दोलन सुरु गर्नुपथ्र्यो। अचानक कुनै जानकारी नदिई डाक्टरहरू यसरी हडतालमा उत्र्रिदा हामीजस्ता टाढाका मान्छेले धेरै दुःख पायौं। डाक्टरहरूको यो पारा ठीक भएन।’
नारायणी अस्पतालमा पर्सा, बारासहितका चार जिल्ला र छिमेकी भारतको बिहारबाट गरी दैनिक औसतमा आठदेखि एक हजार बिरामीले बहिरंग (ओपीडी) सेवा मात्रै लिँदै आएका छन्। तर शुक्रबारदेखि डाक्टरहरू हडतालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका सयौं बिरामीहरू डाक्टर नै नभेटिएपछि अलपत्र अवस्थामा भेटिए।
नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले भने अरू सबै सेवा ठप्प गरिए पनि आकस्मिक सेवा भने सुचारु नै राखिएको बताए। उनले भने, ‘ओपीडीलगायतका सेवा बन्द गरिए पनि इमर्जेन्सी सेवा दिइरहेका छौं। साह्रै समस्यामा परेका बिरामीहरूलाई हामीले इमर्जेन्सी वार्डमा बोलाएर उपचार गरिरहेका छौं।’
चिकित्सकहरू रहरले नभई बाध्यताले आन्दोलनमा उत्रिनु परेको सिंहले बताए। उनले भने, ‘बिरामीलाई उपचारबाट वञ्चित गराएर दुःख दिनु हाम्रो नियत हुँदै होइन। डाक्टर नभेटिएर बिरामीहरू फर्केको देख्दा हामीलाई पनि पीडा महसुस भइरहेको छ। तर के गर्नु ? यो देशको प्रधानमन्त्री, मन्त्रीहरू नै अनुदार भएपछि डाक्टरहरू आफ्नो हकअधिकारका लागि हडतालमा उत्रिन बाध्य भएका हुन्।’
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै झन्डै एक महिनादेखि आवासीय चिकित्सकहरू सडक आन्दोलनमा छन्। २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार रुपैयाँ (सरकारी आठौं तह सरह) सेवासुविधा दिनुपर्ने निर्णय गरेको थियो। तर निजी मेडिकल कलेजका सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन्।
प्रतिक्रिया दिनुहोस !