उपत्यकामा मौलाउँदै हुन्डी कारोबार

उपत्यकामा मौलाउँदै हुन्डी कारोबार

काठमाडौं : जेठ ६ गते प्रहरीले काभ्रेको साँगाबाट स्रोत नखुलेको २५ लाख रकम बरामद गर्‍यो। जेब्रा झोलामा पैसा हालेर साँगाबाट काठमाडौं आउँदै गरेको २ जनाबाट प्रहरीले उक्त रकम फेला पारेको हो। सिन्धुपाल्चोकका राजन धमला र सप्तरीका सञ्जयकुमार साह पक्राउ परेका थिए। बा.३ ख २४१६ नम्बरको बसमा सवार उनीहरू बनेपाबाट चढेको खुलेको छ।

०००

जेठ ५ गते पेप्सीकोलाबाट ‘हुन्डी कारोबारी’ सिन्धुपाल्चोक बाह्रबिसे –४ पलाती घर भएका सञ्जय बस्नेत पक्राउ परे। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–२४ जुद्धसालिकबाट नगद २० लाख २९ हजार ६ सय २० रुपैयाँँ, मोबाइल १ थान र विभिन्न बैंकको चेक ३० थानसहित फेला पारेको थियो। 

०००

गत वैशाख २९ गते, काठमाडौंको न्युरोडबाट हुन्डीको रकमसहित २ जना पक्राउ परे। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजयकुमार राई र रामेछाप मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन्। 
काठमाडौं महानगरपालिका–२२ न्युरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुन्डीमार्फत वित्तीय कारोबार हुने गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई हुन्डी कारोबारका लागि बोकेको ४२ लाख १० हजार रुपैयाँँसहित फेला पारी पक्राउ गरेको हो। 

०००

यी त भए केही उदाहरण। उपत्यकामा हुन्डी कारोबार बढिरहेको छ। दिनहुँजसो हुन्डीको लाखौँ रुपैयाँसहित विभिन्न व्यक्तिहरू पक्राउ पर्ने घटना बढिरहेको छ। झोलामा बोकिरहेको अवस्थामा लाखौं रुपैयाँँ भेटिन थालेको छ। नगद रकम फेला परेको अवस्थामा स्रोत खुलाउन सकिएन भने प्रहरीले पक्राउ गर्न सक्छ। 

नेपाल प्रहरीका प्रवक्ता रमेश थापाका अनुसार पछिल्लो समय समाजमा आर्थिक अपराध मौलाउँदै गएको छ। अवैध कारोबार गर्नु, कालो धनलाई व्यापारमा लगानी गर्ने तथा विदेशमा गएका व्यक्तिहरूले हुन्डीमार्फत रकम पठाउँदा यहाँ स्रोत खुल्दैन। राष्ट्र बैंकको निर्देशनअनुसार नै प्रहरीले अवैध रकम बरामद गर्ने गरेको प्रवक्ता थापाले जानकारी दिए। प्रहरीले बरामद गरेको रकम राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने गर्छ। 
प्रवक्ता थापा भन्छन्, कुनै पनि लेनदेन होस् या आर्थिक कारोबार बैंकमार्फत नै गर्न जरुरी छ। स्रोत नै खुलाउन नसकेको रकम अवैध रकम ठानिन्छ। कतिपय व्यापारीहरूले गलत मनसायका राखेर सरकारलाई बुझाउने कर छल्नका लागि पनि अवैध रकमको कारोबार गरेका हुन्छन्। 

  • अवैध कारोबार गर्नु, कालो धनलाई व्यापारमा लगानी गर्ने तथा विदेशमा गएका व्यक्तिहरूले हुन्डीमार्फत रकम पठाउँदा यहाँ स्रोत खुल्दैन।
  • स्रोत खुलाउन नसकेको जुनसुकै रकम अवैध कारोबारमा जोडिएको छ कि भन्ने आशंका उब्जने गर्छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार गएको ७ महिनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्रै स्रोत नखुलेको २७ करोड आठ लाख बढी रकम बरामद गरेको थियो। ८१ कात्तिकदेखि ८२ को वैशाखसम्म २७ करोड, आठ लाख, ७ हजार स्रोत नखुलेको रकम फेला पारेको थियो। देशभरिको यो तथ्यांक निकै ठूलो छ। स्रोत खुलाउन नसकेको अर्बौं रुपैयाँ सरकारी खातामा जम्मा हुने गरेको छ। 
उपत्यका अपराध कार्यालयका प्रवक्ता आचार्य भन्छन– वैध कारोबारहरू अचेल प्रायः बैंक तथा वित्तीय संस्थामार्फत नै हुन्छ। स्रोत खुलाउन नसकेको जुनसुकै रकम अवैध कारोबारमा जोडिएको छ कि भन्ने आशंका उब्जने गर्छ। 

गैरकानुनी ढंगबाट आर्जन गरेको रकम हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ। बैंकबाट ठूलो ट्रान्जेक्सन गर्दा पछि राष्ट्र बैंकको निगरानीमा पर्न सकिने डरले पनि मानिसहरू अवैध कारोबार गरिरहेका हुन्छन्। 

प्रहरी स्रोतका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नागरिकमाथि कडाइ गरेपछि त्यहाँ भएका नेपाली नागरिक पनि त्रासमा छन्। 
अमेरिकामा जुनसुकै वेला पक्राउ पर्न सकिने डरका कारण अवैध बसिरहेका व्यक्तिहरू त्यहाँको सम्पत्ति हुन्डीमार्फत नेपाल पठाउने गरेका छन्। यही कारण पनि पछिल्लो समय हुन्डी कारोबारीहरू सल्बलाएको हुन सक्ने प्रहरी अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.