धूवाँमा नउडाउँ जिन्दगी
स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पति हो। असल स्वास्थ्यबिना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन। स्वास्थ्यको विविध पक्षहरू हुन्छन्। प्रतिकारात्मक, प्रर्वधनात्माक वा उपचारात्मक सबै पक्षहरूको महत्व असल स्वास्थ्य प्राप्तिको निम्ति उत्तिकै रहेको हुन्छ। पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तिनै पक्षहरूलाई समेट्नुपर्दछ। हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषको रूपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ।
धूम्रपान भन्नाले धूम्रपान वा धुवाँ सेवन भन्ने साधारण अर्थमा बुझिन्छ। धुवाँ सेवन भनेको चुरोट, तमाखु, सुर्ती, गाँजा वा कक्कड वा कुनै पनि सुर्तीजन्य पदार्थमा आगो लगाएर त्यसबाट निस्केको धुवाँ सेवन गर्नु हो। जब मानव सभ्यतामा आगोको आविष्कार भयो, त्यति बेलादेखि नै धुवाँको सुरुवात भएको मान्न सकिन्छ। बिस्तारै सुर्तीजन्य पदार्थमा आगो लगाएर सेवन गर्ने प्रचलनको पनि ऐतिहासिक कालदेखि नै सुरुवात भएको मान्न सकिन्छ।
नयाँ संसार (अमेरिकी महादेश) मा सबैभन्दा पहिले धूम्रपान प्रचलित रहेको पाइन्छ। युरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धूम्रपानको सुरुवात गरेका हुन्, जुन करिब १६ औं शताव्दीतिर पर्दछ। अमेरिकी रेड इन्डियनहरूले धूम्रपान गर्ने नाली (पाइप)लाई ‘टोवागो’ भन्दछन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे। विभिन्न उत्सव, समारोहमा शान्तिवार्ता हुँदा यस्तो धूम्रपान गरिन्थ्यो। कालान्तरमा यही बिरुवाको नाम निकोटिन रहन गयो। बिरुवाको पातको सेवनलाई लोकप्रिय बनाउने फ्रेन्च नागरिक ज्याँ निकोटको नामबाट निकोटियाना बन्न गएको हो। सुर्तीको बिरुवा सुरुमा युरोपमा औषधीको रूपमा भिœयाइएको थियो। त्यतिबेला पनि युरोपमा सुर्तीलाई राम्रो मानिएको थिएन। टर्कीमा धूम्रपान गर्नेहरूको लागि मृत्युदण्डसमेत दिने चलन थियो। रसियाका बादशाहले धूम्रपान गर्नेको नाक चिर्ने, कोर्रा लगाएर साइबेरियामा निर्वासित गर्ने तजबिज गरेका थिए। चुरोटको धुवाँमा शरीरलाई असर गर्ने चार हजार रसायनिक तत्वहरू रहेका हुन्छन्। त्यसमध्ये मुख्य तत्वहरू कार्बनमोनोअक्साइड, निकोटिन, टार आदि प्रमुख हुन्।
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सुर्तीजन्य पदार्थको प्रयोगले हुन्छ। हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु विश्वमा सुर्तीजन्य पदार्थको कारणले हुन्छ। विश्वमा धूम्रपान अम्मलीहरूको ठूलो भाग दक्षिण पूर्वी एसियामा अवस्थित छ। विशेषतः नेपाल, भारत, पाकिस्तानमा धूम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन्। नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको संख्या बढी मात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको संख्या अधिक मात्रामा छ। सुर्तीजन्य पदार्थको कारणबाट लाग्ने रोगका रोगीहरूको संख्या नेपालमा अधिक मात्रामा रहेको छ। चुरोट, बिँडी, तमाखु, गाँजा सेवनका कारण दम, फोक्सोको रोग, अपच, फोक्सोको क्यान्सरजस्ता रोगहरू तथा सुर्ती सेवनका कारण गालाको क्यान्सर, मुखको क्यान्सर, दाँत तथा गिजारोग आदि रोगहरू लाग्ने गरेका छन्।
त्यसभन्दा बाहेक सुर्तीजन्य पदार्थको सेवनबाट महिला तथा पुरुषमा बाँझोपनसमेत अधिकमात्रामा लागेको पाइन्छ। त्यस्तै, देशमा अधिक मात्रामा रहेको क्षयरोग, मृगौलाको रोग, श्वासप्रश्वाससम्बन्धी रोग आदि धूम्रपानको उपज हो भन्नुमा कसैको दुईमत नहोला। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वमा रहेको १.२ अर्ब सुर्तीका अम्मलीहरूमध्ये पाँचौं भाग अम्मलीहरू रहेको भारतमा मात्र सुर्ती सेवनका कारण बर्सेनि ६ लाख नाबालिक केटाकेटीहरूसमेत सुर्तीका अम्मली भइसकेका छन् भने सुर्ती सेवनले गर्दा विश्वमा बर्सेनि ३५ लाख मानिसहरू मर्दछन्। त्यस्तै, काठमाडौं महानगरपालिकाले २०८० मंसिर २८ देखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ, कच्चा सुर्ती, खैनी, गुठ्का, सुर्तीहरू प्रतिबन्ध लगाएको पाइन्छ तर सोको पूर्ण रूपमा कार्यान्वयन र अनुगमन भएको पाइँदैन।
समुदायमा धूम्रपान गर्नेहरूमध्ये निरक्षर र बेरोजगार युवाको संख्या अधिक रहेको छ। जबसम्म अन्धकाररूपी निरक्षरता र बेरोजगारी लाई हटाउन सकिँदैन तबसम्म धूम्रपान मात्र नभई समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ। राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनुभन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्व छ भनी बुझ्नु नितान्त जरुरी छ। समुदायका गुरुहरू जो अभिभावकसँग विद्यार्थीको असल भविष्यको कुरा गर्दा चुरोट तानिरहेका हुन्छन् र विद्यार्थीलाई कक्षामा धूम्रपान गर्नुहुँदैन भनिरहेका हुन्छन्। शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ। त्यसैले शिक्षकले धूम्रपानविरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्दछ। धूम्रपान सुरुवात गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो, जुन अहिलेका बालबालिकाहरूको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ। उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको युवाको संख्या पक्कै नियन्त्रण गर्न सकिन्छ।
धूम्रपान गर्ने व्यक्तिहरू केही न केही रूपमा असामान्य स्वभाव भएका हुन्छन्। त्यसले समाजमा विभिन्न विकृतिहरू देखाइरहेको हुन्छ। धूम्रपानको असरलाई कम गर्न यसको विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू संचालन गर्नुपर्दछ, खाना खाएपछि धूम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेल जस्ता बस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ। किशोरवयको समयमा धूम्रपानको सुरुवात गर्ने भएकाले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नुपर्छ।
साथै, कुलतमा नफस्नका लागि धूम्रपान सेवन गर्नेहरूसँग नहिँड्ने यदि कुनै साथी धूम्रपान गर्ने भएमा छाड्न लगाउनुपर्छ। विशेषतः आमाबाबु वा परिवारका ठूला व्यक्तिहरूको धूम्रपानबाट बालबालिकाले सिक्ने हुनाले घरपरिवारमा ठूलाबडाले धूम्रपान गर्नुहुँदैन, पीर, चिन्ता हटाउन धूम्रपानले सहयोग गर्दछ भन्ने भ्रम हटाउनुपर्छ। धूम्रपानबाट मुख गन्हाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सरजस्ता रोगहरू लाग्ने भएकोले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमहरूबाट धूम्रपानविरोधी प्रचारप्रसार गर्नुपर्छ। हुक्का, ई–चुरोट, गाँजा जस्ता पदार्थहरूको असरबारे जनचेतना फैलाउने, धूम्रपानसम्बन्धी भड्किला विज्ञापनहरू छाप्न र प्रसारण गर्न बन्द गराउनुपर्छ। धूम्रपानबाट परिवार, समुदाय र राष्ट्रका होनाहार युवावर्गमा समेत परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे प्रचारप्रसार गर्नुपर्छ। यसमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ।
प्रतिक्रिया दिनुहोस !