फलफूल खाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस्
सबैभन्दा राम्रो त बेमौसमी वा समयअगावैका फलफूल नखानु नै बेस हुन्छ।
मनै लोभ्याउने पहेँला केरा, मेवा, अम्बा, आँप, भुइँकटहर एकैनासले छिटो पकाउन कार्बइड रसायन प्रयोग गरिँदै छ आजकल। फलको राजा भनेर चिनिने आँप बजारमा प्रशस्तै देखिन्छ। नियन्त्रित तापक्रममा राख्न र हानिकारक नभएको रसायन इथेफोन प्रयोग खर्चिलो छ। त्यसैले कतिपय व्यवसायीले चाँडै धनी हुन सस्ता, हानिकारक रसायन क्याल्सियम कार्बाइडद्वारा फलफूल पकाउँछन्।
अहिले बजारमा आँपको सिजन छ। विभिन्न प्रकार, रंग र स्वादमा आँप उपलब्ध छ। आँप प्राकृतिक रूपमा पाकेका हुन् की रसायनबाट? यो थाहा पाउनुपर्छ। आँपलाई छिटो पकाउन र गुलियो बनाउन छर्किने क्याल्सियम कार्बाइडबाट उत्पन्न हुने एसिटिलिन ग्यासले सास फेर्ने हावामा अक्सिजनको मात्रा घटाउँछ। अत्यधिक मात्राले शरीरका कोषहरूमा अक्सिजनको कमी भई अचानक चक्कर लाग्ने हुन्छ। टाउको दुख्ने, थकान हुने, निद्रा नलाग्ने, छाला तथा आँखा रातो, जलन, चिलाउने, खोकी, मानसिक तनाव, सास फेर्न गाह्रो, स्मरणशक्तिमा कमी ल्याउँछ। र ग्यासमा भएको आर्सेनिक र फस्फोरसजस्ता खतरनाक तत्त्वले क्यान्सरको जोखिम बढाउँछ। पल्मोनरी एडेमा, कार्डिएक हरेस्ट, कोलोन र प्रोस्टेट क्यान्सरको जोखिम बढाउँछ।
इथरेल र कार्बाइड मन्द विष हो। र मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउँछ। यसरी पकाइएको फलफूल खाँदा ग्यास्ट्रिक बढ्ने, पेट दुख्ने, पखाला लाग्ने, शरीर आलस्य हुने, रिगंटा लागेर मानिस ढल्ने हुन्छ। यदि तत्काल असर नपरे पनि लामो समयपछि फोक्सो, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ। अत्यधिक प्रयोगले मधुमेह, उच्च रक्तचाप, पक्षघात, मुटुरोग, पत्थरी र क्यान्सरले आक्रान्त पार्दछ।
त्यस्तै राम्रो र ताजा फलफूल बनाउन नोभान, मेटासिक्स र छिटो पकाउन इथिलिन, इथाफोननामक रसायन मिसाइन्छ। फलफूलमा मिसाइने रसायनले चिलाउने, चहराउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगंटा, झाडापखाला, फण्ड प्याइजनिङ, ब्लड क्यान्सर, अपांगता, सुस्तमनस्थिति, प्रजनन क्षमतामा कमी, गलगाँड, मिर्गौलामा समस्या निम्त्याउँछन्। सरकारले १४ वटा रसायनलाई आयात गर्न नपाउने भनी तोकेको छ। तर खुलेयाम रसायन बिक्रीवितरण भइरहेका छन्।
जर्नल अफ इमरजेन्सी मेडिसिनमा प्रकाशित अध्ययनमा कार्बाइड हाली पकाइएका फलफूलमा आर्सेनिक र फस्फोरस पाइन्छ। एसिटाइलिनले स्नायु प्रणलीमा प्रभाव पार्दे टाउको दुखाइ, कुनै काममा मन नलाग्ने, बेचैनी, स्मरण क्षमतामा कमी, बढी निद्रा, अप्ठेरो अनुभवजस्ता असर पनि हुने देखाएको छ। यसरी जबर्जस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै पौष्टिक तत्त्व पनि कम हुन्छ। नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, बान्ता हुने, पखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्याहरू र कहिलेकाहीँ फुड प्वाइजनिङसमेत हुन सक्छ। फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्युन फ्रुक्टोज तथा कम पोÈण खाँदा क्यान्सरसम्म हुन सक्ने जोखिम हुन्छ।
आँपलाई पानीले भरिएको बाल्टिनमा राख्दा आँप तैरिन थाल्यो भने रसायनले पाकेको फल मानिन्छ। आँपलाई हातमा लिँदा आँप हल्का हरियो पात वा दाग र बाहिरी छालामा हल्का चाउरीपना देखिन्छ भने रूखमा पाक्नुअघि टिपेर रसायनले पकाएको हो। बाहिरबाट चम्किलो, पहेँलो र भित्रबाट कडा तथा रंग समान हुन्छ। प्राकृतिकमा मीठो र ताजा हुन्छ भने रसायन हालेकोमा तिखो गन्ध वा गन्ध नहुन सक्छ। स्वाद नरम वा अनौठो हुन्छ। रसायन हालेर पकाएको लागे तुरुन्तै नखाई केही घण्टा वा दिन पानीमा भिजाएर राख्ने र सुती कपडाले सफा गरेर खानपर्छ।
बेमौसममा पाइने फलफूल, सबैतिर एकनासले पाकेको, आकर्Èक, कालोकालो थोप्ला देखिएमा, स्वाद खल्लो भएमा कार्वाइडले समयपूर्व नै पकाएको ठान्नु पर्दछ। फलफूलमा एकै नासको आकर्षक रंग देखियो, टल्कियो, कुनै भाग गलेको, कुनै भाग साह्रो भएको, बाहिर पहेँलो तर भित्र काँचो भए, स्वाद बिग्रेको, घरमा राखेको २—३ दिनपछि फलफूलको बोक्रामा कालो रंग धब्बा देखिए रसायनद्वारा पकाइएको फल ठहर्दछ। फलफूल खानुअघि सफा पानीले राम्ररी धुनु पर्दछ। धारामा केही मिनेट भिजाउनुपर्दछ, यसो गर्दा बोक्राको रसायन सफा पानीले पखालिन्छ।
कम्तीमा ८ घण्टा पानीमा भिजाएर मात्र रसायन हराउन सक्छ। आँप र स्याउलगायतका फलफूललाई चाना पारेर खानुपर्दछ। सबैभन्दा राम्रो त बेमौसमी वा समय अगावैका तरकारी, साग, फलफूल नखानु नै बेस हुन्छ। तुलनात्मक रूपमा स्याउ र सुन्तलाबाहेक अन्य फलफूल खाँदा ध्यान दिनै पर्दछ।
प्रतिक्रिया दिनुहोस !