कर्णालीमा अन्नबाली घट्दै, तरकारी र फलफूल खेतीमा आकर्षण
सुर्खेत : कर्णालीमा अन्नबालीको खेती घटेको छ। पछिल्लो समय यहाँका किसानले अन्नबालीको खेती छाड्दै गएका छन्। यसको परिणाम कर्णालीमा अन्नबालीको खेती हुने क्षेत्रफल नै घटेको हो। खेती नै कम हुन थालेपछि अन्नबालीको उत्पादनसमेत घटेको छ।
तथ्यांकअनुसार कर्णालीमा अन्नबालीको खेती हुँदै आएको क्षेत्रफल खुम्चिदै गएको छ। अर्थात् किसानले अन्नबालीको साटो अन्य खेती गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले गरेको अध्ययनले कर्णालीमा अन्नबालीको खेती घटेको देखाएको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार कर्णालीमा अन्नबालीहरू धान, मकै, गहुँ, कोदो, जौ र फापरको खेती घटेको छ। खेती नै घटेपछि उत्पादनमा पनि कमी आएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल शून्य दशमलव ११ प्रतिशतले घटेको छ।
बितेको आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकअनुसार कृषि बालीले ढाकेको क्षेत्रफल घटेर ३ लाख ७३ हजार ४१६ हेक्टर कायम भएको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.४१ प्रतिशतले कमी आएको छ। सोही अवधिमा गरिएको अध्ययनले कर्णालीमा धानको खेती हुने क्षेत्रफल ५.११ प्रतिशत र मकैको खेती हुने क्षेत्रफल ४.१६ प्रतिशतले घटेको देखाएको हो। त्यसैगरी, गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल पनि खुम्चिएको छ। तथ्यांकअनुसार गहुँ उत्पादन हुँदै आएको ४.८६ प्रतिशत, कोदो ११.५२ प्रतिशत, जौ १.३९ प्रतिशत र फापर खेती हुँदै आएको क्षेत्रफल १२.२० प्रतिशतले घटेको छ।
पछिल्लो समय किसानहरू तरकारी तथा फलफूल खेतीमा आकर्षित भएको राष्ट्र बैंकले जनाएको छ। यही कारण पनि किसानले अन्नबालीको खेती घटाउँदै लगेका छन्। जसअनुसार यहाँ अन्नबालीको उत्पादनमा पनि ह्रास आएको छ। अध्ययन भएको अवधिमा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालिको उत्पादनमा ४.८३ प्रतिशतले ह्रास आएको छ। मकैको उत्पादन ४.२४ प्रतिशतले वृद्धि भएको देखाए पनि अन्य अन्नबालीको उत्पादन भने घटेको अध्ययनले देखाएको छ।
कर्णालीमा अन्नको खेती खुम्चिएसँगै धान उत्पादन १०.२५ प्रतिशत, गहुँ १७.३१ प्रतिशत, कोदो १६.७३ प्रतिशत, जौ १८.९८ प्रतिशत र फापरको उत्पादनमा २५.६९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
अन्नबालीको खेती घट्दा यहाँ तरकारी र फलफूलको खेती भने विस्तार भएको छ। तथ्यांकअनुसार कर्णालीमा तरकारी खेती हुने क्षेत्रफल ४६.३२ प्रतिशतले वृद्धि भएको छ। कर्णालीमा तरकारी र बागवानी क्षेत्रमा सल्यानले सबैभन्दा धेरै २९.१३ प्रतिशत हिस्सा ओगटेको छ।
यस्तै, मुगुले सबैभन्दा कम १.२६ प्रतिशत हिस्सा ओगटेको छ। यस्तै कर्णालीमा फलफूल खेतीले ढाकेको क्षेत्रफल ८.१७ प्रतिशतले वृद्धि भएको छ। कर्णाली प्रदेशको कुल फलफूल खेतीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी जुम्लाले ५८.३९ प्रतिशत क्षेत्रफल ओगटेको छ भने सबैभन्दा कम रुकुमपश्चिमले ०.७१ प्रतिशत भू–भाग ओगटेको तथ्यांकले देखाएको छ। कर्णालीमा अन्नको उत्पादन घटेपनि तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको पाइएको छ।
नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेशभर तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको उल्लेख छ। तरकारी उत्पादन २२.७४ प्रतिशत र फलफूलको उत्पादन ४४.७३ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रादेशिक कार्यालयले जनाएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म कर्णालीमा तरकारी तथा बागवानीको उत्पादन २२.७४ प्रतिशतले वृद्धि भई २ लाख ३१ हजार चार सय २८ मेट्रिकटन पुगेको छ।
यस्तै, तरकारी उत्पादनमा २५.९७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो समय सरकारले तरकारी तथा फलफूल खेतीमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन थालेको छ। यहीकारण पनि किसानले अन्नबालीको साटो तरकारी तथा फलफूलको खेती बढाउँदै लगेका छन्। यहीकारण पनि कर्णालीका किसानले अन्नबालीको खेती छाड्दै गएका छन्।
प्रतिक्रिया दिनुहोस !