स्तनपान गराउँदा सुन्दरता घट्दैन
स्तनपानलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छः प्रारम्भिक र पूर्ण स्तनपान । शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरुवात गर्नु नै प्रारम्भिक स्तनपान हो । यसले गर्दा शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुको साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउँछ ।
बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेंलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता हुने भएकोले बच्चाको स्वास्थ्य गुणस्तरीय हुन्छ । दोस्रो पूर्ण स्तनपानः शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो । शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्वसमेत आमाको दूधमा नै प्राप्त हुने भएकोले कुनै किसिमको रोगले आक्रमण नगरी शिशुको स्वास्थ्य स्वस्थकर हुन मद्दत पुग्छ ।
शिशुलाई स्तनपान गराउँदा सुन्दरता घट्छ वा स्तनपानभन्दा प्याकेटको दूध नै राम्रो भन्ने कुतर्क अझै पनि छ।
स्तनपानले शिशुको शारीरिक र मानसिक विकासका लागि मद्दत पुग्छ । प्रारम्भिक तथा पूर्ण स्तनपान गराउँदा बच्चाको बौद्धिक क्षमता तृष्ण हुने गर्दछ । संक्रमित रोगबाट बची आमा तथा बच्चाको स्वास्थ्य सबल हुन्छ । दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउनसमेत स्तनपानको भूमिका महत्त्वपूण रहन्छ । बच्चा ६ महिना पुग्दासाथ आमाको दूधका साथसाथै पोषिलो तथा आवश्यकताअनुसार थप पोषणतत्त्व खुवाउन पर्दछ । र, कम्तीमा दुई वर्षसम्म थप आहारसाथ स्तनपानलाई निरन्तरता दिनु लाभदायक हुन्छ ।
यसै सन्दर्भमा विश्व स्तनपान सप्ताह अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष मनाइन्छ । सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउन सुरु भएकोमा विभिन्न तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १ सय २० भन्दा बढी देशले आयोजना गरी मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ आदि संस्थाले विश्व स्तनपान सप्ताहलाई अभियानकै रूपमा विश्वभरि मनाउने गर्छन् । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई महत्त्व दिने लक्ष्यसाथ हप्ताव्यापी उत्सवको रूपमा बाबुआमाको बचि जागरुकता पैदा गरी संसारभरका शिशुको गुणस्तर स्वास्थ कायम गर्नु यसको मुख्य उद्देश्य भएको पाइन्छ । सन् २०२५ को स्तनपान सप्ताहको नाराले कार्यस्थल, स्वास्थ्य सेवा केन्द्र र समुदायहरूमा दीर्घकालीन सहयोग प्रणालीहरू निर्माण गरेर स्तनपानलाई उच्च प्राथमिकतामा राख्ने र आमा र बच्चा दुवैको राम्रो स्वास्थ्यको लागि विशेष र निरन्तर स्तनपान अभ्यास गर्न आमाहरूले निरन्तर मार्गदर्शन, सुरक्षा र प्रोत्साहन प्राप्त गर्ने वातावरण सिर्जना गर्ने कुरालाई जोड दिएको छ ।
नेपालको सन्दर्भमा स्तनपानसम्बन्धी कानुनी व्यवस्थाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसुति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपात प्रवद्र्धन र सहजकिरणको लागि ९८ दिन तलबी बिदा र आवश्यकता परेमा डाक्टरको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था पनि गरेको छ । यो सकारात्मक पक्ष हो । यसै सन्दर्भमा सबै प्रकारको सरकारी, गैरसरकारी र निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था पनि गरेको पाइन्छ । हरेक कार्यालय, विद्यालय, बसपार्क, हवाईअड्डा आदिमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने र स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा लिइन्छ ।
नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पूर्ण स्तनपान दर घटेको तथ्यांक सार्वजानिक गरेको पाइन्छ । सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने हाल घटेर ५६ प्रतिशत पुगेको उक्त तथ्यांकले देखाएको छ । सोही तथ्यांकले स्तनपानका साथै प्रजनन दर आधाले घटेको पाइन्छ । सर्वेक्षणले नेपालमा प्रजनन दर आधाले घटेर २/१ मा झरेको देखाएको छ । सन् १९९६ मा प्रतिमहिला ४/६ बच्चा जन्माउँथे । नेपालमा औसतमा दुई सन्तान हुने गरेका छन् । मुख्यतः बच्चालाई स्तनपान गराउँदा सुन्दरता घट्छ वा स्तनपानभन्दा प्याकेटका दूध नै राम्रो भन्ने कुतर्क अझै पनि समाजमा कमी छैनन् । यसका अलावा कामकाजी आमाहरू र स्तनपानमैत्री संरचना नहुनु पनि स्तनपान दरको कारक तत्त्व हो ।
अतः सुरक्षित स्तनपान सबै शिशुको नैसर्गिक अधिकार हो । योबाट नै शिशुको गुणस्तर स्वास्थ्य हुन्छ । सोको लागि संघीय सरकार, प्रदेश सरकारले स्थानीय सरकारलाई स्तनपानको सबलीकरणको लागि आवश्यक मद्दत गर्नु पर्दछ । सोको लागि स्थानीय तहअन्तर्गत महिला स्वयंसेविका, स्वास्थ्यसंस्था, शैक्षिक संस्था, आमा समूह, राष्ट्रिय गैरसरकारी संस्था तथा विभिन्न क्लबहरू आदिको क्षमता विकास गरी शिशुलाई स्तनपान गराउँदा शिशु तथा आमाको स्वास्थ्य हुने फाइदाबारे सचेतना अभिवृद्धि गराउन क्रियाशील बनाउनु पर्दछ । तवमात्र हप्ताव्यापी विश्व स्तनपान सप्ताहले सार्थकता पाउनेछ ।
प्रतिक्रिया दिनुहोस !