३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुट्यो

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुट्यो
सुन्नुहोस्

गोरखा : ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित ७० अर्ब रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाका लागि ५२ अर्ब ५० करोड(७५ प्रतिशत) लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्था बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन्। एनआईएमबीले १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ। नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार अर्ब, माछापुच्छ्रे बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ सदस्यका रूपमा ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। 

सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ। प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ। वर्षायामका लागि ४.८० रुपैयाँ, सामान्य सुक्खायामका लागि ८.४० रुपैयाँ र मुख्य सुक्खायामका लागि १०.५५ रुपैयाँ प्रतियुनिटमा खरिद बिक्री गर्नेगरी सम्झौता गरिएको हो।

२५ प्रतिशत लगानी अर्थात १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवर्द्धन कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ। टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ। ३४१ मेगावाटको यो परियोजना प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा तयार हुनेछ। परियोजनाबाट वर्षा याममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ। 

लगानी सम्झौता समारोहमा प्रवर्द्धन कम्पनी टाइम्स इनर्जीले आउँदो भदौबाट बाँध तथा पावरहाउसको जग्गा तयार गर्ने काम सुरु हुने र चैत महिनाबाट निर्माण कार्य सुरु गर्ने जानकारी दिएको छ। आयोजना सम्पन्न भएपछि २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु हुने लक्ष्य लिइएको छ। उत्पादित विद्युत् ४५ किलोमिटर पर रहेको नुवाकोटको रातामाटे सबस्टेशनमा लगेर जोडिनेछ। सो सवस्टेशन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माण कार्य भइरहेको छ। 

गोरखा जिल्लाको चुमनुब्री ३ सल्लेरीमा बाँध बाँधी ६.९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका-३ तातोपानीमा पावरहाउस निर्माण गर्ने कम्पनीले जनाएको छ। सो कम्पनीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको र २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको अनुभव छ।

सो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो। ३४१ मेगावाटको बूढीगण्डकी आयोजना सुरु भएपछि यो नै सबैभन्दा ठूलो आयोजना बन्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.