ग्रीन हाइड्रोजन इन्धन उत्पादन गरिने, अध्ययनको जिम्मा कोरियाली कम्पनीलाई

ग्रीन हाइड्रोजन इन्धन उत्पादन गरिने, अध्ययनको जिम्मा कोरियाली कम्पनीलाई
सांकेतिक तस्बिर।

नेपालमा १० वर्षमा करिब ७१ अर्ब रुपैयाँबराबरको डिजेलको बजार हाइड्रोजन इन्धनले विस्तार हुने अध्ययनले देखाएको छ ।

काठमाडौं : हाइड्रोजनबाट इन्धन निकाल्नका लागि अध्ययन हुने भएको छ । २०६५ सालमा नै नेपालले हाइड्रोजन इन्धनको अध्ययन गरेको थियो । अध्ययनको करिब १७ वर्षपछि ग्रीन हाइड्रोजन इन्धन उत्पादनका लागि नै काम सुरु भएको छ । सरकारले कोरियाली कम्पनीसँग ग्रीन हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ । 

सरकारले करिब २० मेगावाट विद्युत् खर्च गरेर हाइड्रोजन इन्धन उत्पादन गर्ने गरी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर)को तयारी अघि बढाइएको हो । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि–फिलोसबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापना गर्ने समझदारी भएको छ । त्यसका लागि पहिला डीपीआर तयार गर्नुपर्ने छ । 

प्रस्ताव कम्पनीको प्रारम्भिक अध्ययनअनुसार आयोजनाको लागत करिब ६ अर्ब रुपैयाँ अनुमान गरिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । प्रारम्भमा थोरैबाट सुरु गर्ने र सम्भाव्यता अध्ययनपछि सम्भावना भए धेरै हाइड्रोजन इन्धन उत्पादनको योजना रहेको छ । समझदारीपत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि–फिलोसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले बिहीबार हस्ताक्षर गरे । 

समझदारीअनुसार प्रस्तावक कम्पनीले बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि डीपीआर अध्ययन प्रतिवेदन तयार गर्नेछ । उक्त प्रतिवेदन करिब १० महिना भित्रमा बोर्डमा पेस गर्नेछ । 

प्रस्तावक कम्पनीले यही वैशाख १५ मा बोर्डमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि प्रस्ताव पेस गरेको थियो । कम्पनीले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा आयोजना अघि बढाउन प्रस्ताव गरेको हो । उक्त प्रस्तावमाथि बोर्डको ६३औं बोर्ड बैठकले प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । 

बोर्डको निर्णयसँगै प्रस्तावक कम्पनीसँग डीपीआर प्रतिवेदन तयारीका लागि सम्झौता भएको ग्रीन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता एवं सहप्राध्यापक डा. विराज सिंह थापा बताउँछन् । ‘काठमाडौं विश्वविद्यालयले केही समयदेखि हाइड्रोजन इन्धनको नेपालमा सम्भावनाका सम्बन्धमा अध्ययन अनुसन्धानसँगै हाइड्रोजन इन्धन कार पनि ल्याएर प्रदर्शन गरिसकेको छ । हाइड्रोजन नीति २०८० पनि आइसकेको छ । चालु आर्थिक वर्षको बजेटले पनि ५ वर्षसम्म कर छुट दिएको छ । 

सरकारको नीतिगत व्यवस्थासँगै नेपालमा हाइड्रोजन प्लान्टका स्थापनाका लागि विदेशी कम्पनीले चासो देखाएको छ,’ उनले अन्नपूर्णसँग भने । सरकारको पछिल्लो प्रतिबद्धतासँगै नेपालमा हाइड्रोजन इन्धनमा लगानी गर्न विदेशी लगानीकर्ता आकर्षित भएको उनको भनाइ छ ।

ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोगले पेट्रोलियम पदार्थको प्रतिस्थापन हुनुका साथै ऊर्जा सुरक्षामासमेत वृद्धि हुने विश्वास छ ।

चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३९२ मा, ‘ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगको लागी पैठारी हुने मेसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने र उत्पादकलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाइएको छ,’ भनि उल्लेख छ । यसले विदेशीसँगै स्वदेशी लगानीकर्ता पनि आकर्षित हुने उनि बताउँछन् ।

अब प्रस्तावक कम्पनीले १० महिना अध्ययन गरी प्लान्टका लागि आवश्यक जानकारी गरी यसको सम्भाव्यताबारे अध्ययन गर्नेछ । ‘२० मेगावाट हाइड्रोजन इन्धनका लागि सम्भाव्यता अध्ययन हुँदैछ । यो अध्ययनले नै उक्त हाइड्रोजन इन्धनको आन्तरिक प्रयोग या बिक्री के गर्न सकिन्छ भन्ने सम्भावना पनि केलाउने छ र प्लान्ट कहाँ स्थापना गर्ने पनि निक्र्यौल गर्नेछ,’ सहप्राध्यापक थापाले जानकारी दिए । 

विश्वविद्यालयले २०७७ साल साउनदेखि ग्रीन हाइड्रोजन ल्याब स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ । विशेषतः जलवायु परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्यूनीकरण गर्ने तथा जीवाश्म इन्धन खपतको कटौती गर्ने उद्देश्यले यो ल्याबको स्थापना गरिएको हो । युरिया मल कारखानाको सञ्चालन, फलाम खनिजको प्रशोधन तथा सिमेन्ट उद्योेगहरूमा कोइलाको विस्थापनका लागि समेत ग्रीन हाइड्रोजनको प्रयोग गर्ने गरी विश्वविद्यालयले अनुसन्धान गरिरहेको छ । 

२०६५ सालमा हाइड्रोजनको अध्ययन, उत्पादनमा बल्ल चासो
हाइड्रोजनलाई विगत केही समयदेखि नवीनतम ऊर्जाको भविष्यका रूपमा लिइएको छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जनाएको शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता पूरा गर्न ग्रीन हाइड्रोजन ऊर्जाको उत्पादन र प्रयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।

नेपालले २०६५ मा नै यससम्बन्धी अध्ययन गरेको थियो । त्रिभुवन विश्वविद्यालय र वेस्टर्न मिचिगन विश्वविद्यालयले संयुक्त रूपमा नेपालमा हाइड्रोजन ऊर्जाको सम्भावनासम्बन्धी अध्ययन गरेका थिए । जलविद्युत् प्रयोग गरी हाइड्रोजन तथा यसको सहउत्पादन गर्न र सोको उपयोग गरी पेट्रोलियम पदार्थको आयातमा न्यूनीकरण गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

२०७७ साल मा एसियाली विकास बैंकले नेपालमा जलविद्युत्को प्रयोगबाट हाइड्रोजन उत्पादनको सम्भावनाका बारेमा अर्को अध्ययन गरेको थियो । २०७७ मै काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन प्रयोगशाला स्थापना गरी नेपालको सन्दर्भमा हरित हाइड्रोजनको आवश्यकता र सम्भावनाबारे अनुसन्धान सुरु गरेको थियो । 

जल तथा ऊर्जा आयोगको सचिवालयले २०७८ मा नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना र प्रयोगको प्रारम्भिक अध्ययन गरेको थियो । २०७९ सालमा ग्रीन हाइड्रोजनको प्रयोग गरी रासायनिक मल उत्पादनको सम्भावनाका बारेमा अध्ययन भएको थियो । २०८० सालमा हाइड्रोजन नीति आयो । जलविद्युत्बाट हाइड्रोजन र यसका सहउत्पादनको सम्भावना प्रचुर रहेको नीतिले औंल्याएको छ । ‘प्रचुर मात्रामा उपलब्ध जलविद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन उत्पादन र यसको प्रयोगबाट रासायनिक मल उत्पादन तथा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्ने देखिएको छ। भारत, चीन र अमेरिकालगायत धेरै मुलुकले हाइड्रोजनको उत्पादन र यसको उपयोगका मार्गचित्र तयार गरी लागू गरिसकेकाले ग्रीन हाइड्रोजन नीति लागू गरिसकेको अवस्था छ’, नीतिमा भनिएको छ । 

ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोगले पेट्रोलियम पदार्थको प्रतिस्थापन हुनुका साथै ऊर्जा सुरक्षामासमेत वृद्धि हुने विश्वास छ । २०४५ सम्म शून्य कार्बन उत्सर्जन सम्बन्धमा मुलुकले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न तथा विश्वव्यापी वातावरण संरक्षणमा योगदान पुर्‍याउन समेत ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग गर्न आवश्यक छ । 

हाइड्रोजन कसरी बन्छ ? 
हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । पानीबाट बिजुली निस्कन्छ । बिजुलीको सहयोगमा पानीलाई टुक्याएर हाइड्रोजन र अक्सिजनलाई अलग–अलग गर्न सकिन्छ । टुक्रिएपछि दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन तयार हुन्छ ।

नौ किलोग्राम पानीबाट एक किलोग्राम हाइड्रोजन निकाल्न सकिन्छ । एक किलोग्राम हाइड्रोजन निकाल्न करिब ५० युनिट किलोवाट आवर लगभग पाँच सय रुपैयाँको बिजुली लाग्छ । हाइड्रोजन बनाउनका लागि पानी र बिजुली चाहियो, जुन नेपालसँग प्रशस्त छ ।

हिमालबाट बग्ने पानी र खेर जाने बिजुलीबाट नै हाइड्रोजन निकाल्न सकिन्छ । पहिला पानीलाई शुद्धीकरण गर्नुपर्छ । पानीबाट खनिज हटाउनुपर्छ । शुद्ध पानी बनाउनु पर्‍यो। खनिज नहटाए मेसिनमा खिया लाग्छ । अहिलेको प्रविधिले केही घण्टादेखि वर्षदिनसम्म हाइड्रोजनलाई भण्डारण गर्न सकिन्छ ।

हाइड्रोजनलाई आवश्यकताअनुसार तरल, मेटल हाइड्राइड बनाएर ठोस र ग्यास बनाएर भण्डारण वा निर्यात गर्न सकिन्छ । नेपालमा आउने डिजेललाई दुई प्रतिशतका दरले हाइड्रोजनले विस्थापित गर्न सकिन्छ । यसो हुने हो भने नेपालमा १० वर्षमा करिब ७१ अर्ब रुपैयाँबराबरको डिजेलको बजार हाइड्रोजन इन्धनले विस्तार हुने अध्ययनले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.