हैजा नियन्त्रणमा हातेमालो
सरसफाइको अभावमा विभिन्न महामारीको प्रकोपको सामना गर्नुपर्ने हुन्छ । त्यसमध्ये हैजा पनि एक हो । यो रोग पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्र नै शरीर कमजोर हुन थाल्दछ । विशेषगरी दूषित खाना वा पानीको प्रयोग गरेपछि यो लक्षण देखिन्छ ।
अचानक पानीजस्तो तारन्तार दिसा हुने, पेटमा असजिलो, खान मन नलाग्ने, चौलानीपानीजस्तो दिसा भइरहने हुन्छ । बान्ता तारन्तार हुने, पिडौंलाको मासु बाउँडिने, धेरै तिर्खा लागि छट्पट्याई हुने, पिसाबमा कमी आउने, सानो बच्चाको तालुमा खाल्टो पर्ने, आँखाभित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्ने, छालाको चमक हराउने आदि भई शक्ति क्षीण हुन्छ । नेपालमा बेलाबेलामा देखापर्ने विभिन्न प्राकृतिक विपद्ले खानेपानीको मुहान प्रदूषण हुने र सहरी क्षेत्रमा ढलको उचित निकास तथा फोहोरमैलाको उचित व्यवस्थापन नभएको कारण हैजाजस्तो महामारी देखा पर्ने गर्दछ । यसै सन्दर्भमा, वीरगन्जमा एक दशकपछि पुनः हैजाको संक्रमण फैलिएको पाइन्छ । यस रोग पानीजन्य भएकोले निराकरण गर्नको लागि समुदायमा आवश्यक प्रयोग गर्ने शुद्ध पानी साथै मलमूत्र र फोहोरमैलाको उचित व्यवस्थापन गर्न सके हैजाबाट बच्न सकिन्छ । तसर्थ, समुदायमा रोगको पहिचान हुने बित्तिकै समयमा नै निधान वा पहिचान हुन आवश्यक छ ।
हैजा रोगको नियन्त्रणको लागि, फोहोरमैलाको आवश्यक व्यवस्थापन, शौचालयको प्रयोग, नियमित साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास गर्नुपर्छ । स्वच्छ र सफा खाना तथा फलफूल र तरकारीको सेवन, राम्रोसँग सफा पानीले सफा गरेको सलाद, पिउने पानीलाई सकेसम्म उमालेर मात्र पिउने बानी व्यवहारमा परिवर्तन गर्न सकेमा हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । यो रोगको लक्षण देखा परेमा तुरुन्त जीवनजल पानीको सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु आवश्यक हुन्छ । हैजा नेपाली समुदायमा सयौं वर्ष अगाडिदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपको रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नु पर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार (घरदैलोको सरकार), प्रदेश सरकार तथा संघीय सरकारको ध्यान जान जरुरी देखिन्छ । फोहोरमैलाको आवश्यक व्यवस्थापन तथा शुद्ध पिउने पानीको व्यवस्था सम्पूर्ण नागरिकलाई पुर्याउन सकेमा र चर्पीमा मात्र दिसापिसाब गर्ने बानीको विकास, खाना खानु अगाडि, चर्पीको प्रयोग गरेपछि र फोहोर चिज छोएपछि साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास गर्न सकेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । यो रोग फैलनुको मुख्य कारण माथि भनेजस्तै फोहोरमैलाको उचित व्यवस्थापन नभई सोको प्रभाव खानेपानी तथा वातावरणमा परेकोले फोहोरमैला व्यवस्थापन गरी स्वच्छ वातावरण राख्न अति आवश्यक छ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्त्वहरू विभिन्न छन् । उचित सफा र स्वच्छ खानेपानीको व्यवस्थापन नभएको, समुदायका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो । आफ्नो जिम्मेवारी नसम्झी अस्तव्यस्त तरिकाबाट फोहोरमैला उत्पादन गर्ने, स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमी हुने, फोहोरमैला व्यवस्थापनको लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या छ । फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकतामा परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव छ । आवश्यक भौतिक पूर्वाधारहरू जस्तै सेनिटरी ल्यान्डफिल साइटको अभाव, प्रयोगशाला, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएको छैन । फोहोरममैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यांक र अध्ययनको अभाव देखिएको छ । फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, समयमै वैकल्पिक डम्पिङ साइट व्यवस्थापन गर्न नसक्नु, अझै कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण छैन । यसका कारण बेलाबखत हैजाजस्ता विभिन्न माहामारीको सामना गर्नु परेको छ ।
हैजाको उचित नियन्त्रणको लागि, पानीको शुद्धता र फोहोरमैला व्यवस्थापन अपरिहार्य हुन्छ । सोको लागि स्रोतमै फोहोरमैला उत्पादन कम तथा व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरबासीको अहम् भूमिकाबारे जानकारी गराउनु आवश्यक छ । साथै विद्यालय तथा विद्यार्थीको माध्यमबाट सोबारे अभिमुखीकरण गर्ने, पालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्छ । सार्वजानिक, निजी र नागरिकबीच सहकार्यात्मक ढंगबाट अगाडि बढ्नुपर्ने, सन् २०३० को दिगो विकासको लक्ष्य र सन् २०४३ को समुन्नत नेपालको लक्ष्यमा पुग्न व्यवस्थित र गुणस्तरीय सहर तथा गाउँको पूर्वाधार हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने जरुरी छ । प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनु पर्छ । फोहोरमैला व्यवस्थापनको तथ्यांकलाई वैज्ञानिक ढंगले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको विकास गर्न आवश्यक छ ।
फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्नुपर्छ । नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउनु आवश्यक छ । फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनु पर्दछ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ । फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्त्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गरी कार्यान्वयन गर्न आवश्यक छ ।
खानेपानीको मूल वा मुहानदेखि उपभोक्ताको मुखसम्म प्रदूषणरहित ढंगले वितरण हुनु पर्दछ । खानेपानी वितरकको भौतिक र प्राविधिक पक्षको जिम्मेवारी खानेपानी वितरक संस्थाको हो । यसको प्रमाणीकरण स्वास्थ्यसँग सम्बन्धित निकायको भएकोले सो प्रभावकारी हुन आवश्यक छ । खानेपानी मानव जीवनको प्राणको रूपमा भएकोले स्वस्थ र गुणस्तरीय रूपमा वितरण गर्ने कार्यमा तीनै तहका सरकार वितरक र उपभोक्ता सचेत हुन आवश्यक छ । यसो भएमा मात्र फोहोमैलाको उचित व्यवस्थापन भई हैजाजस्तो महामारीलाई नियन्त्रण गरी सबै मानिसको स्वास्थ्य गुणस्तर बनाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !