आन्दोलनमा संरचना जलाउने र लुटपाट गर्नेमाथि प्रहरीको निगरानी

आन्दोलनमा संरचना जलाउने र लुटपाट गर्नेमाथि प्रहरीको निगरानी
सुन्नुहोस्

काठमाडौं : यही सोमबार र मंगलबार चलेको जेन–जी आन्दोलनका क्रममा संरचना जलाउने र लुटपाट गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले एक विज्ञप्ति जारी गर्दै यस्तो कार्यमा संलग्नको फोटो, भिडियो र फुटेज भए प्रहरीलाई पठाउन आग्रह गरेको छ । 

सीआईवीको सूचनामा भनिएको छ, ‘प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, सार्वजनिक सम्पत्ति, सरकारी संरचनालगायतमा आगलागी गर्ने, त्यहाँ रहेका ऐतिहासिक दस्तावेज, बहुमूल्य कागज, जिन्सी लुटिएको छ, यस्ता महत्वपूर्ण सामग्री बिक्री वितरण गरिएको अथवा जानाजान यस्ता सम्पत्ति किनबेच गरिएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको छ ।’ यस्तो कार्य गर्ने जोसुकै कानुनी कारबाहीमा पर्न सक्ने सीआईबीले बताएको छ । 

यस्ता सामग्री भेटिएमा, किनबेच भएको थाहा पाएमा, सञ्चय गरेको थाहा पाएमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ । घटनाको फोटो, भिडियो र सम्पूर्ण फुटेजहरू पठाएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । 

जेन–जी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भए । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले परिस्थिति अझै अनुकूल नभएको भन्दै नयाँ सरकारको गठनलगत्तै त्यस्ता विषयमा प्रवेश गरिने जानकारी दिए । उनी भन्छन्, ‘प्रदर्शनका क्रममा सयौं प्रहरी कार्यालय जलेका छन् । प्रहरी कार्यालयमा बसेर काम गर्ने वातावरण अझै बनेको छैन ।’ यसका बावजुद पनि प्रहरीलाई प्राप्त भएको फोटो र भिडियोका आधारमा गलत गर्नेहरूलाई कानुनी कारबाही गरिने उनले बताए । गत चैत १५ गतेको आन्दोलनका क्रममा लुटपाट गर्नेहरू पनि पक्राउ परेका थिए । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता काजीकुमार आचार्य भन्छन्, ‘जेन–जी आन्दोलनको हरेक दृश्य र फोटो हामीले संकलन गरिरहेका छौं । यस कार्यमा नेपाली सेना र सशस्त्र प्रहरीले समेत सहयोग गरिरहेको छ ।’ 

जेन–जी आन्दोलनका क्रममा भाटभटेनी आगजनी गर्ने र लुटपाट गरिरहेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । यस्तै केपी शर्मा ओलीको घरबाट जिन्सी तथा नगद बोकेर हिँडेको, शेरबहादुर देउवाको घरबाट लाखौं रूपैयाँ फेला परेको र लिएर हिँडेको देखिन्छ । आन्दोलनका क्रममा निजी सम्पत्ति मात्रै हैन, सरकारी कार्यालयका समेत धेरै बहुमूल्य सामानहरू चोरिएका छन् । 

आन्दोलनका क्रममा मृत्यु भएका ४१ जनाको पहिचान गरिएको छ । जसमा तीन जना प्रहरी कर्मचारीसमेत परेका छन् । महाराजगञ्जमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका छन् । उनीहरूको पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.